नेपाल दूरसञ्चार प्राधिकरणले ७८ करोड लागत भएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापना गर्न विवादित मलेसियन कम्पनीसँग सम्झौता गरेको छ।
प्राधिकरण र मलेसियाली कम्पनी न्युमेरा जेभीबीच बिहीबार सम्झौता गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए।
मलेसियाली कम्पनी न्युमेरा आफ्नै देशमा यस्तै खालको प्रणालीको तथ्यांक सुरक्षा गर्न नसकेको भन्दै विवादित छ। प्राधिकरणले एमडीएमएस खरिद प्रक्रिया सुरु गर्दा मलेसियाको यो कम्पनी आफ्नै सरकारी निकायले निलम्बन गरेको भन्दै मुद्दा प्रक्रियामा थियो।
मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनले १९ मार्च २०१९ मा सार्वजनिक गरेको सन् २०१७ को वार्षिक प्रतिवेदनमा तथ्यांक सुरक्षा गर्न नसकेको आरोपमा न्युमेरालाई निलम्बन गरी भुक्तानी रोक्का गरिएको उल्लेख छ। यो खबर आजको कान्तिपुरमा विजय तिमल्सिनाले लेखेका छन्।
न्युमेराले मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालत जानुअघि उसले मलेसियाको दूरसञ्चार क्षेत्रको नियमन गर्ने यो निकायविरुद्ध आर्बिट्रेसनमा निवेदन दिएको थियो।
कमिसनको वार्षिक प्रतिवेदनअनुसार न्युमेरालाई २६ जनवरी २०१८ मा पत्र पठाउँदै कमिसनले पब्लिक सेलुलर ब्लकिङ सेवाबाट निलम्बन गरेको जानकारी गराएको थियो। न्युमेराले व्यवस्थापन गरेको मलेसियामा पब्लिक सेलुर ब्लकिङ सिस्टमको तथ्यांक चोरी भएपछि कमिसनले उसको भुक्तानी रोक्दै कामबाट निलम्बन गरेको हो।

प्रतिक्रिया