छापा खबर


लिबियाबाट बाँचेर स्वदेश फर्किए आठ नेपाली

लिबियाबाट बाँचेर स्वदेश फर्किए आठ नेपाली

नेपालखबर
असार २१, २०७६ शनिबार ०:४३,

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा द्वन्द्वग्रस्त मुलुक लिबियाबाट शुक्रबार आइपुगेका आठ नेपालीले महिनौं लामो कष्टकर बसाइपछि बल्लतल्ल बाँचेर नेपाल फर्किएको बताएका छन्।

गत मंगलबार त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा विद्रोही समूहले गरेको हवाई आक्रमण्मा उनीहरूसँगै लिबिया पुगेका लमजुङ बेंसीसहरका सन्तोष श्रेष्ठको मृत्यु भएको थियो।

त्रिपोलीबाट अवैध रूपमा डुंगा चढेर इटाली छिर्न खोजेका आठ जनालाई भने सामुद्रिक सुरक्षा गार्डले फर्काएपछि झन्डै एक महिना क्याम्पमा बसेर उनीहरू नेपाल फर्किएका हुन्। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटाले विस्तृत रूपमा लेखेका छन्।

यसरी फर्कनेमध्ये एक थिए– लमजुङ बेंसीसहरका दिनेश बस्नेत। शुक्रबार बिहान ७ बजे विमानस्थल बाहिर भेटिएका दिनेशसहितले आफ्ना दुःखपूर्ण लिबिया यात्राको वृत्तान्त सुनाए।

६ वर्ष नेपाली सेनाको जागिर गरेर छाडेका दिनेश वैदेशिक रोजगारीमा जाने ध्याउन्नमा थिए। एक वर्षअघि मात्रै उनले पोल्यान्ड जान भारतको नयाँदिल्लीस्थित पोल्यान्ड दूतावासमा तीन पटकसम्म अन्तर्वार्ता दिएका थिए।
एजेन्टको भरमा पोल्यान्ड जाने आशामा गरेको लामो दौडधुप र झन्डै साढे तीन लाख खर्च भएपछि उनले त्यो प्रक्रिया नै त्यागे। विदेश जाने प्रक्रिया नमिलेपछि दिनेशले किस्ताबन्दीमा ट्रक किनेर चलाए ।

तर भनेजस्तो कमाइ गर्न र समयमै किस्ता तिर्न नसकेपछि उनले ट्रक गुमाए । उनले सुनाए, ‘गर्न खोज्दाखोज्दै सकिएन । उल्टै ऋण लाग्यो । त्यसपछि विदेश जान तम्सिएँ ।’ यही बेला उनले नाताले भिनाजु पर्ने एक जनाबाट थाहा पाए, लिबिया जान सके गतिलो कमाइ हुन्छ । तिनै आफन्तले भनेपछि उनले दुबई बस्ने सिजन क्षेत्रीसँग फेसबुकमा सम्पर्क गरे।

सिजनले दुबई आउन सके लिबिया छिराइदिने र मासिक डेढ लाखसम्म कमाइ हुने भनेपछि दिनेश र सोही गाउँका सन्तोष श्रेष्ठ र राजकुमार गुरुङ दुबई पुगे । उनीहरूले लिबिया हिँडेका अर्का एक नेपालीलाई पनि दुबईमै भेटेका थिए । दिनेश जस्तै एजेन्टको पासोमा परेर अर्को पाँच जनाको समूह पनि दुबई पुगेको थियो । लिबियाबाट फर्केका आठै जना एजेन्टको सेटिङमा सजिलै भिजिट भिसामा दुबई पुगेको देखिन्छ । कान्तिपुरसँगको कुराकानीमा उनीहरूले विमानस्थल अध्यागमन कर्मचारीलाई एजेन्टले सेटिङ मिलाएको र बिना रोकावट आफूहरू दुबई पुगेको बताए।

फरकफरक समयमा लिबिया पुगेका नौ जना दुबईमा लामो समय बसेर मात्रै लिबिया पुगेको देखिन्छ। एजेन्टले भोलिभोलि भन्दाभन्दै दिनेशको समूह एक महिना दुबई बस्यो। बल्लतल्ल सेटिङमा लिबिया छिरे पनि दिनेशले भने जस्तो काम पाएनन्।

उनले त्रिपोलीको एक अस्पतालको क्यान्टिनमा वेटरको काम पाए। दैनिक १२ घण्टा र सातै दिन काम गर्दा पनि मासिक कमाइ ३० हजार रुपैयाँ पनि कटेन। उनले सुनाए, ‘साढे दुई महिना काम गरेपछि हामी यसरी हुँदैन भन्ने निष्कर्षमा पुग्यौं ।’ दिनेशका अनुसार त्रिपोलीमा सक्रिय द्वन्द्वरत समूहहरूले हिंसा चर्काउन थालेपछि त्यहाँ बस्नै नसक्ने अवस्था भइसकेको थियो। ‘हामी काम गर्ने अस्पतालमै दैनिक विस्फोटले हातखुट्टा चुँडिएका र क्षतविक्षत मान्छे उपचार गर्न ल्याइन्थ्यो।

त्यो देखेर पनि हामी डरायौं,’ उनले भने। एक दिन अस्पताल नजिकै भएको विस्फोटपछि उनीहरू बस्ने कोठाको झ्यालको सिसा फुट्यो। त्यसपछि आफूहरू पासपोर्टबिनै कम्पनी छाडी भागेको दिनेशले बताए।

त्रिपोली सहरमा द्वन्द्व चर्किन थालेपछि लिबिया पुगेका अरू नेपालीजस्तै ९ नेपाली बंगाली एजेन्टको सहारामा इटाली छिर्न खोजेको देखिन्छ । काम छाडेर कम्पनीबाट भागेपछि दिनेशसहितका साथीले एक जना बंगाली एजेन्टलाई भेटे । उनले ३ हजार डलर तिरे अवैध रूपमा समुद्रको बाटो हुँदै इटाली छिराइदिने बताए तर पछि बार्गेनिङ गरेपछि २ हजार ५ सय डलरमा कुरा मिलेको उनको भनाइ छ।

एक रात १२ बजेतिर दिनेशसहित सन्तोष श्रेष्ठ, राजकुमार गुरुङ, पूर्णप्रसाद अधिकारी र नेत्र भण्डारी मेडेटेरियन समुद्रको किनारमा पुगे। रबरमाथि फलेक ओछ्याएर बनाइएको डुंगामा पहिल्यै अफ्रिकी र बंगाली थिए । ३४ जनाभन्दा धेरै चढ्न नमिल्ने भएपछि सन्तोष अर्को खेपमा इटाली जाने सल्लाह भयो। लगातार २२ घण्टा डुंगा चढेपछि उनीहरू इटाली नजिकै पुग्न आँटेका थिए। त्यही बेला डुंगाको दिशासूचक यन्त्र बिग्रियो अनि डुंगालाई अगाडि बढाउन प्रयोग गरिएको मोटरको इन्धन पनि सकियो। पूर्णका अनुसार घण्टौंसम्म डुंगा समुद्रको लहरमा तैरियो। बिस्तारै डुंगाको रबर च्यातिन थाल्यो र पानी भरिन थाल्यो । अरू यात्रुले झैं उनीहरूले पनि अञ्जुलीले पानी उभाउँदै फालिरहे । ‘अब यहीँ मरिने भयो भन्ने भयो । मैले आमा र परिवारका सदस्यलाई सम्झिइरहें,’ पूर्णले भने।

धन्न त्यही बेला अवैध रूपमा समुद्रको बाटो युरोप छिर्नेहरूलाई रोक्न हेलिकप्टरमा खटिएका सुरक्षाकर्मीले उनीहरूलाई देखेपछि उद्धार गरेर लिबिया नै फर्काइदिए । दिनेशका अनुसार उनीहरू झन्डै ३६ दिन त्रिपोलीकै एक आप्रवासी क्यापमा बसे । त्यतिबेला स्थानीय माफिया समूहकाले उनीहरूलाई दिनहुँ थर्काउँथे । उनले भने, ‘५ हजार डलर नदिएसम्म निस्कन दिन्नँ भन्दै थर्काउँथे।’ यसरी मानसिक यातना सहेर दिन गुजारिरहेका बेला उनीहरू लुकेर मिडिया एवं अन्तर्राष्ट्रिय आप्रवासी समूहको सम्पर्कमा पुगे।

आफूहरू क्याम्पबाट उद्धार भएपछि मात्रै दिनेश र अरू साथीहरूले गाउँबाट सँगै लिबियाका लागि हिँडेका सन्तोष क्याम्पभित्रै भएको हवाई आक्रमणमा मारिएको खबर थाहा पाए । सँगै बसेका साथीको मृत्युको खबरले आफू मर्माहत भएको पूर्णले बताए । ‘भगवान्को सदिच्छाले बाँचेर आइयो, भन्नुस्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad