ad ad

छापा खबर


छोरी जन्मिए आमालाई १० हजार नगद र एक किलो ध्यु, छोरीलाई एक लाख पुरस्कार

छोरी जन्मिए आमालाई १० हजार नगद र एक किलो ध्यु, छोरीलाई एक लाख पुरस्कार

नेपालखबर
फागुन २१, २०७६ बुधबार २:५१,

रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन्।

मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ।

आजको गोरखापत्र दैनिकमा भैरहवाबाट लक्ष्मण पौडेलले यो समाचार लेखेका छन्।

अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कारस्वरूप एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले बताए।

सामाजिक कुरीतिका रूपमा रहेको बालविवाह, दाइजो प्रथाका कारण छोरीले बीचमै पढाइ छोड्ने अवस्था रहेकाले गाउँपालिकाले यस्तो निर्णय गरेको उनको भनाई छ।

‘छोरी बचाऔँ, छोरी पढाऔँ’ योजनासहित एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गरिएको अध्यक्ष बानियाँले जानकारी दिए।

छोरी जन्माउने आमालाई १० हजार रुपियाँ नगद र एक किलोग्राम घिउ पौष्टिक आहारसमेत गाउँपालिकाबाट दिने व्यवस्था मिलाइएको छ।

मधेसी र मुस्लिम समुदायका किशोरी अझै पनि शिक्षाको पहुँचबाट वञ्चित रहेकाले ती समुदायमा स्थानीय सरकारले प्रोत्साहन गर्न आवश्यक ठानेर यस्तो रणनीति अपनाएको अध्यक्ष बानियाँले बताए।

‘किशोरीहरूलाई शिक्षाबाट वञ्चित गरिएकै कारण महिला हिंसा, बालविवाह तथा बेचबिखनका घटना बढिरहेका छन्,’ उनले भने, ‘चेतनाको अभावमा हिंसा सहन महिलाहरू बाध्य मात्रै होइन, बेरोजगार हुँदा बेचिन पनि बाध्य छन् । किशोरीलाई शिक्षाको पहुँचमा ल्याउन सके मात्रै महिला हिंसा र समुदायमा भएका विकृति अन्त्य गर्न सकिन्छ।’

गाउँपालिकाको पुरस्कार घोषणाको निर्णयप्रति शिक्षाक्षेत्रमा लागेकाहरूले समेत प्रशंसा गरेका छन्। मनराजीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजदेव मौर्यले गाउँपालिकाले स्नातक उत्तीर्ण छोरीका लागि पुरस्कार घोषणा गरेर सराहनीय काम गरेको बताए।

यसैगरी गैँडहवा गाउँपालिकाले पनि बालिका बीमामार्फत भ्रूणहत्या रोक्न र शिक्षालाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए।

‘बाल संरक्षण कोषमार्फत एक बालिकाका लागि गाउँपालिकाले २० हजार रुपियाँ तथा अभिभावकले पाँच हजार रुपियाँ शुल्क बुझाउनुपर्ने गरी योजना अघि बढेको छ,’ उनले भने।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले छोरी शिक्षालाई प्रोत्साहन गर्न र बालविवाह रोक्न सुकन्या कार्यक्रम अघि बढाएको छ।

‘छोरी जन्मेलगत्तै नगरपालिकाले २० हजार रुपियाँ मुद्दति खातामा जम्मा गरिदिन्छ, त्यसमा परिवारले पाँच हजार रुपियाँ थपिदिनुपर्छ, २० वर्ष नपुगेसम्म रकम निकाल्न पाइँदैन,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले भने, ‘२० वर्ष नपुगी बालिकाको विवाह भयो भने सो रकम नगरपालिकाले नै फिर्ता ल्याउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .