मन्त्रिपरिषद्ले आइतबार साँझ लीलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ।
१५ दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुका कारणबारे बजारमा विभिन्न किसिमका हल्ला व्याप्त छन्।
भित्री कारण र खास कारण अर्कै रहेको परराष्ट्रमा गाइँगुइँ छ।
आज फागुन २१ गतेको जनआस्था साप्ताहिक लेख्छ- बइजिङस्थित अहिलेको नेपाली दूतावास चार दशकअगाडि बनेको हो। पुरानो भवन भएकाले मक्किएर भत्किन लागेको छ।
परराष्ट्रका एकजना उच्च अधिकारीले जनआस्थालाई बताएअनुसार भवनमा पानी पसेर दुःख दिने गर्छ। पौड्याल गएपछि नयाँ भवन बनाउने योजना अगाडि सारे।
सोहीअनुसार केही महिनाअघि नेपाल सरकारले इन्जिनियर पठायो। चिनियाँ सरकारको रोहबरमा इस्टिमेट भयो।
१ अर्ब ४० करोड नेपाली रुपैयाँको लागत तयार भयो र त्यसलाई मन्त्रालयले स्वीकृत पनि गर्याे। कोरोना भाइरसको संक्रमण नभएको भए यतिबेला नयाँ भवन निर्माण थालिसक्थ्यो।
चीनमा दुई महिनादेखि कोरोना भाइरस संक्रमण भएर सबै काम ठप्प छन्। लीलामणिलाई फिर्ता बोलाउनुको एउटा कारण त्यही पैसाको खेल हुनुपर्छ।
यति ठूलो बजेट हुँदा कम्तीमा पनि १० प्रतिशत कमिसन आउँछ। त्यो भनेको १४ करोड रुपैयाँ हो। भ्रष्टाचार नै गर्ने भनेको कम्तीमा ३० करोडजति हिनामिना हुन सक्छ।
तर शाकाहारी र अव्यावहारिक तथा रुखा लीलामणि बेइजिङस्थित रहँदासम्म एक पैसा पनि झर्ने कसैले ठानेनन्। जम्मा ८ महिना मात्र कार्यावधि बाँकी रहे पनि उनकै कार्यकालमा नयाँ भवन बनाउने परियोजना सुरु हुने निश्चितजस्तै भयो।
र, खराब व्यापारीहरूले चलखेल गर्न, चुक्ली लगाउन थाले। यसमा मुख्य भूमिका बालुवाटारका एकजना भित्रिया र केही व्यापारीले खेलेको स्रोतले बताएको छ।
प्रदीप ज्ञवालीले सुरुमा आफ्नै जिल्लावासीलाई हठात् हटाउन मानेका थिएनन्। तर चर्काे दबाब आएपछि उनी पनि बाध्य बनेको स्रोतको दाबी छ।
प्रतिक्रिया