ad ad

छापा खबर


युवतीलाई एसिड प्रहार गर्नेलाई ८ वर्ष जेल, १ लाख जरिवाना र सवा कराेड औषधि खर्च असुल

युवतीलाई एसिड प्रहार गर्नेलाई ८ वर्ष जेल, १ लाख जरिवाना र सवा कराेड औषधि खर्च असुल

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार १:१८,

युवतीलाई एसिड प्रहार गर्ने भारतीय नागरिकलाई जिल्ला अदालत मकवानपुरले ८ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेको छ।

अभियुक्तबाट उपचार खर्च १ करोड १४ लाख ८५ हजार रुपैयाँ भराउन पनि अदालतले आदेश दिएको छ। अभियुक्तलाई सघाउने एक जनालाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले भारत महाराजगञ्ज, अमरपूर्वन-६ का राज भन्ने दिलीपराज केशरीलाई उक्त फैसला सुनाएको हो। यो खबर आजको कान्तिपुरमा प्रताप विष्टले लेखेका छन्।

केशरीले हेटौडा उपमहानगर-२ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका थिए।

केशरीलाई साविकको मुलुकी ऐन ज्यानसम्वन्धी महलको १५ नम्बर मुलुकी अपराधंसंहिता २०७४ दफा १८३ ९२० अनुसार ८ वर्ष कैद र एक लाख रुपैया जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको स्रेस्तेदार केशवराज कौशिकले बताए।

केशरी विदेशी नागरिक भएकाले उक्त रकम पीडितलाई उपलब्ध गराउन सरकारले पहल गर्ने र निजबाट भराउन नसकेमा सरकारले पीडितलाई मनासिब माफिक अर्थात् उचित उपचार खर्च उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ।

उक्त इजलाशले युवती कंसाकारमाथि एसिड प्रहार गरी मुख्य अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवाना गर्ने फैसला गरेको छ।

हेटौंडा बजारको मुख्य चोकमा आफ्नै भाँडा पसलमा बसिरहेका बेला कंसाकारलाई एसिड आक्रमण गरेर भाग्ने क्रममा मुख्य अभियुक्त केशरीलाई मण्डलले मोटरसाइकलमा राखेर भगाएका थिए। प्रेम प्रस्ताव अस्वीकार गरेपछि २०७० साल वैशाख ९ मा कंसाकारको अनुहारमा एसिड प्रहार गरेर गरेका थिए।

एसिड प्रहार गर्ने केशरी हेटौंडामा व्यापार गर्थे। उनलाई ६ वर्षपछि बाराको जितपुर–सिमरा उपमहानगर–२३ भलोहीस्थितबाट गत कार्तिक १४ पक्राउ गरिएको थियो। त्यसको एक साता पछि सहयोगी मण्डललाई हेटौडाबाटै पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .