ad ad

छापा खबर


साइबर अपराधमा पुरुषभन्दा महिला बढी संलग्न, यस्तो छ प्रहरीको तथ्यांक

साइबर अपराधमा पुरुषभन्दा महिला बढी संलग्न, यस्तो छ प्रहरीको तथ्यांक

नेपालखबर
फागुन १३, २०७६ मंगलबार २:५१,

साइबर अपराधसँग जोडिएका अपराधजन्य विषयमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि बढ्दै गएको र पुरुषभन्दा महिला संलग्नता बढी रहेको पाइएको हो।

नेपाल प्रहरीको साइबर ब्युरोमा चालू आर्थिक वर्षको सात महिना (गत साउनदेखि माघ अन्तिमसम्म)मा साइबर अपराधसँग सम्बन्धित दर्ता भएका १ हजार ९६ उजुरीमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको हो।

सो अवधिमा १८ वर्षमुनिका ४४ र १८ वर्षमाथिका १ हजार ५२ जना साइबर अपराधसँग सम्बन्धित कसुरमा संलग्न रहेको पाइएको छ, आजको राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन्।

उनीहरूमध्ये ६ सय ३० जना महिला, ४ सय ३६ पुरुष तथा अन्य ३० जना संलग्न रहेको तथ्यांकले देखाएको छ, जसमध्ये सो अवधिमा फेसबुक म्यासेन्जरमार्फत १ हजार ५७ साइबर अपराधसँग सम्बन्धित कसुर भएका छन्।

यस्तै, भाइबरमार्फत ५, इमोमार्फत २, युट्युबमार्फत ४ र ट्वीटरसँग सम्बन्धित ३, इन्सटाग्रामसँग सम्बन्धित ७ र अन्य माध्यममार्फत १८ कसुर भएको ब्युरोको तथ्यांकले देखाएको छ।

साइबर ब्युरोका उपनिर्देशक एसपी अजय केसीले सामाजिक सञ्जाल प्रयोग गर्दै जाँदा रिस तथा आवेशमा व्यक्ति अपराधजन्य गतिविधिमा संलग्न हुने क्रम बढेको बताए।

‘कतिपय घटनामा चिनजानका व्यक्तिसमेत संलग्न छन्, कतिपयमा नचिनेका व्यक्तिले पनि सामाजिक सञ्जाल प्रयोग गरेर अपराधजन्य गतिविधि गरिरहेको पाइएको छ,’ एसपी केसीले भने।

उनले गलत विवरण (प्रोफाइल) राखेर सामाजिक सञ्जाल खोल्ने र त्यसको प्रयोगबाट अपराधजन्य गतिविधि बढ्दो क्रममा रहेको बताए।

ब्युरोबाट प्राप्त तथ्यांकअनुसार सामाजिक सञ्जालको प्रयोगबाट चिनजान गर्ने, नजिकिने र यसपछि अश्लील क्रियाकलापमा संलग्न हुने, त्यस्ता तस्बिर एकअर्कालाई पठाउने, त्यसबाटै आर्थिक बार्गेनिङ सुरु गर्ने, त्यस्ता अश्लील तस्बिर परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिनेलगायत क्रियाकलाप हुँदै आएका छन्।

यसैगरी, सामाजिक सञ्जालबाटै अन्जान व्यक्तिलाई रिक्वेस्ट पठाउने, विभिन्न प्रलोभन देखाउने र नगद कारोबारमा संलग्न हुन आग्रह गर्ने तथा कारोबार गरिसकेपछि दोहोरो संवाद बन्द हुने अवस्थासमेत बढ्दै गएको छ।

यस्ता क्रियाकलापमा पुरुषभन्दा बढी महिला संलग्न रहेको ब्युरोको तथ्यांकमा उल्लेख छ। महिला संलग्नतामार्फत पुरुषलाई सहजै आकर्षित गर्न सकिने भएकाले केही पुरुषले महिलालाई माध्यम बनाएर यस्ता गतिविधि गर्दै आएको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .