ad ad

छापा खबर


दीपेन्द्र के खनालको ‘आमा’ र धुर्मुस अभिनित ‘सेन्टी भाइरस’ को भिडन्त आजदेखि

दीपेन्द्र के खनालको ‘आमा’ र धुर्मुस अभिनित ‘सेन्टी भाइरस’ को भिडन्त आजदेखि

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ३:३०,

लामो समयदेखि प्रतीक्षित दुई नेपाली फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ शुक्रबारदेखि रिलिज भएका छन्।

फिल्मका लागि मल्टिप्लेक्समा अग्रिम बुकिङ खुला गरिएको छ । दुवै फिल्मले सुरुआतमा आकर्षक सो पाएका छन्।

‘आमा’लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले २४ सो दिएको छ भने ‘सेन्टी भाइरस’ लाई ५० सो छुट्ट्याइएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकले प्रकाशित गरेको समाचारअनुसार ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको आमाको ट्रेलरले राम्रो हाइप निर्माण गरेको छ । फिल्ममा अभिनेत्रीद्वय मिथिला शर्मा र सुरक्षा पन्त प्रमुख भूमिकामा छन्।

यसमा उनीहरूले आमाछोरीको भूमिका निर्वाह गरेका छन् । फिल्म प्रदर्शनको अघिल्लो दिन निर्माण टिमले विशेष प्याकेज घोषणा गरेको छ । काठमाडौंका केही सिनेमा घरमा आफ्नी आमासँग जाँदा निःशुल्क फिल्म हेर्न पाउने व्यवस्था गरिएको छ।

काठमाडौंको जय नेपाल हलमा पौने १२ बजे, क्युज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको सोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाइने निर्देशक खनालले बताए।

‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ यो घोषणा गरिएको उनले बताए । हलमा यी सोहरू परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनको भनाइ छ।

आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने फिल्ममा मिथिला र सुरक्षाका साथमा सरिता गिरी, देशभक्त खनाललगायतका कलाकारको अभिनय छ । यो फिल्मको अधिकांश दृश्य पानी परेको समयमा खिचिएको छ।

यस्तै ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ को लिरिकल गीत ‘ए नि लै’ चर्चामा छ । गीतमा सुशान्त गौतमको गायन छ। गीतमा उनी आफैंले संगीत भरेका छन् । गीतको शब्द हर्क साउदले सिर्जेका हुन् । गीतले फिल्मका पात्रको पीडा भन्छ।

श्रीमान् श्रीमती दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा ‘सेन्टी भाइरस’ आधारित छ । यो फिल्मको ट्रेलर र ‘फनफनी’ बोलको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्मको मुख्य भूमिकामा छन् । पहिलो पटक ठूलो पर्दामा उनीहरूले स्क्रिन सेयर गरेका हुन्।

फिल्ममा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, सन्दीप क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ।

कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्ममा शंकर थापा स्माइल, राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ। दुई करोडको लागतमा निर्माण भएको फिल्मका सहनिर्माता फुर्पा लामा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .