छापा खबर


प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने अन्तिम तयारी

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने अन्तिम तयारी

नेपालखबर
फागुन ७, २०७६ बुधबार ०:३७,

प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ।

एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो । मुटुका भल्भ तथा नसाहरूको अवस्था हेर्न एन्जिओग्राफी गरिन्छ।

उपचारमा संलग्न डा.अरुण सायमीले भने, ‘मिर्गौला प्रत्यारोपण गर्नुअघि सबै स्वास्थ्य अवस्था हेरिन्छ । त्यसैले उहाँ अस्पताल आउनुभएको हो । एन्जिओग्राफी गरेर मुटुका नसाहरूको अवस्था हेरियो । सबै सामान्य रहेछ । प्रधानमन्त्रीको मुटु साँच्चै बलियो रहेछ।’

चिकित्सकहरूले एन्जिओग्राफी रिपोर्टबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिसकेका छन् । ‘तपाईंको मुटु त निकै बलियो रहेछ भनेर हामीले उहाँलाई सुनायौँ,’ डा. सायमीले भने ।

चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपणका क्रममा संक्रमण, हृदयाघात र मस्तिष्कघात हुने जोखिम हुन्छ । यस्ता जोखिम निम्तिन नदिन प्रत्यारोपणअघि एन्जिओग्राफी गरेर मुटुको अवस्था हेरिन्छ।

एन्जिओग्राफी गर्नु प्रत्यारोपणको अन्तिम तयारी भएको मिर्गौलारोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेले बताए।

‘सबै स्वास्थ्य जाँच गरेर अन्तिममा एन्जिओग्राफी गरिन्छ । एन्जिओग्राफी गरे मुटुको अवस्था हेरेपछि मात्रै प्रत्यारोपणमा प्रवेश गरिन्छ,’ डा.काफ्लेले भने, ‘संक्रमण, हृदयाघात र मस्तिष्कघातको जोखिम हुने भएकाले मुटु नहेरी प्रत्यारोपणको निर्णय लिन सकिँदैन । एन्जिओग्राफीको नतिजा राम्रो आए मिर्गौला प्रत्यारोपण गर्न ठीक भएको बुझिन्छ।’

प्रधानमन्त्री ओलीको १२ वर्षअघि ०६४ मा भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर, मिर्गौलाले राम्रोसँग काम गर्न नसकेपछि गत भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको थियो।

शरीरले अर्काको मिर्गौला भन्ने पहिचान गरेपछि एन्टिबडिज बनाउन थाल्छ र शरीरबाट एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्ने गरिन्छ ।

प्लाज्मा फेरेसिसले काम नगरेपछि डायलाइसिस या प्रत्यारोपण गरिन्छ । प्रधानमन्त्रीको मिर्गौलाको गत कात्तिकदेखि नियमित डायलाइसिस हुँदै आएको छ।

तर, डायलाइसिसभन्दा दोस्रोपटक प्रत्यारोपण गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेकाले चिकित्सकहरू त्यसकै तयारीमा जुट्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad