छापा खबर


उपत्यकामा अपराधी समात्ने आधार बन्दै सिसी क्यामेरा

उपत्यकामा अपराधी समात्ने आधार बन्दै सिसी क्यामेरा

नेपालखबर
फागुन ३, २०७६ शनिबार २:२१,

आपराधिक क्रियाकलापमा संलग्नलाई समात्न सिसी क्यामेरा महत्वपूर्ण साधन बन्न थालेको छ।

प्रहरीका अनुसार सानाठूला अपराधमा संलग्नहरू सिसी क्यामेराकै सहायताले पक्राउ पर्दै आएका खबर आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन्।

सीसी क्यामेरामा कैद भएका फुटेजको सहयोगमा फरार अभियुक्तलाई प्रहरीले समातेर कारबाहीको दायरामा ल्याएका उदाहरण धेरै छन्। कतिपय शंकास्पद घटनाको पुष्टि गर्न पनि सीसी क्यामेराकै प्रयोग हुने गरेको छ।

यसको एउटा ज्वलन्त उदाहरण हो- माघ २४ गते शुक्रबार बिहान भएको कलंकीको अन्डरपासको दुर्घटना। त्यहाँ बा ४ ख ८५७९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश २-०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै ज्यान गएको थियो।

ठक्करपछि टिपर भोको थियो। तर प्रहरीले सोही दिन दिउँसोपख सिसीटीभी फुटेजका आधारमा टिपर र चालकलाई नियन्त्रणमा लियो।

साउनयता ट्राफिक नियम मिच्ने, दुर्घटना निम्त्याउने, भाग्ने, अपराधमा संलग्न सात हजार तीन सय ७६ जनालाई सिसी क्यामेराकै आधारमा प्रहरीले पक्राउ गरेको छ।

मंसिर ७ गते मर्निङ वाकमा निस्किएका चिकित्सक प्रभु जोशीलाई बानेश्वरस्थित जेब्राक्रसबाट सडक पार गर्ने क्रममा दुर्घटनामा परे। सिभिल हस्पिटलमा आबद्ध उनलाई ठक्कर दिएर गाडी भागेको थियो।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले घटनाको तीन दिनपछि सिसीटिभी फुटेजका आधारमा रामेछापबाट बा३ख ६१४ नम्बरको बससहित चालकलाई नियन्त्रणमा लियो।

त्यस्तै पुस ८ गते बिहान पौने ६ बजे गुर्जुधारा चोकमा ट्रकले प्रदेश ३–०२–००९ प ७६२९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चालक चन्द्रागिरिका अर्जुनबहादुर केसीको घटनास्थलमै ज्यान गयो।

सिसीटिभी फुटेजका आधारमा ठक्कर दिएर भागेको ना८ख ३४२४ नम्बरको ट्रक दुई दिनपछि ललितपुरको चापागाउँबाट समातियो। गत सोमबार सानेपामा भएको हत्यापछिको आत्महत्या प्रकरणमा पनि प्रहरी सिसी क्यामेरोको फुटेजका आधारमा अनुसन्धान अघि बढाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले सीसी क्यामेरो अपराध र दुर्घटनाको तथ्य पत्ता लगाउन अचुक प्रमाण बनेको बताए।

उनका अनुसार काठमाडौंका सबैजसो मुख्य चोक सिसी क्यामेरा जडित छन्। ती क्यामेराले ट्राफिक नियम मिच्नेलाई मात्र होइन, अन्य आपराधिक कार्यमा संलग्नलाई समात्न पनि सघाउ पु¥याएका छन्।

उपत्यकामा अहिले एक हजार ६ सय ८४ स्थानमा सिसी क्यामेरा जडान गरिएका छन्। अपराध र दुर्घटनाको प्रमाण हेर्न ती सिसी क्यामेरा प्रयोग हुन्छन्।

सिसी क्यामेरालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) र ट्राफिक प्रहरी महाशाखाबाट ‘मोनिटर’ गरिन्छ।

उपत्यकाभरिका सिसी क्यामेरा प्रहरी कार्यालयबाट हेर्न मिल्छ तर त्यसका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति भने लिनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad