छापा खबर


बाथरुमले लिन सक्छ ज्यान, यी हुन् बच्ने उपाय

बाथरुमले लिन सक्छ ज्यान, यी हुन् बच्ने उपाय

नेपालखबर
फागुन ३, २०७६ शनिबार १:२२,

बानेश्वरकी एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सिदिनन्। त्यही समय ठूलो पाठ सिकाएको छ उनलाई।

अधिकारी भन्छन्, ‘जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ। तातो पानी खोलेँ। सानो बाथरुम भएकाले त्यसमा धेरै बाफ जम्मा भएर म त नुहाउँदा नुहाउँदै निसास्सिएँ, त्यसपछि केही पत्तो भएन।’

धन्न उनकी बहिनी पनि नुहाउन हतार भएकाले बाथरुममा आइपुगिन् र बाहिरबाट ढोका खोलेर एलिनालाई निकाल्ने काम भयो। समयमै बाहिर आएकाले ज्यान पनि बच्यो, नत्र जे पनि हुन सक्थ्यो।

राजधानीका धेरैजसो घरमा बाथरुम सानो हुने र भेन्टिलेसनसमेत नहुने भएकाले यस्तो समस्या आउने गरेको छ। अधिकारीले थपिन्, ‘त्यो घटनापछि बाथरुमको झ्यालमा पर्दा हालेर भेन्टिलेसन हालेको छु।’

बाथरुममा लडेपछि गणित पढाउने शिक्षक रामनाथ चापागाईंलाई प्यारालाइसिस भयो। ६ महिनापछि अलिअलि हिँडडुल गर्न सक्ने भएपछि उनले विद्यार्थीलाई घरमै बोलाएर पढाउन थालेका छन्। उनी भन्छन्, ‘हामीले सामान्य सुरक्षामा ध्यान नदिँदा ठूलो घटना निम्त्याउन सक्छ। त्यसैले बाथरुम, ट्वाइलेट सधैँ सफा र सुरक्षित राख्न जरुरी छ।’

चिकित्सक डा मनिष श्रेष्ठ बाथरुममा अक्सिजनको अभावमा निसास्सिएर मृत्यु भएको हुनसक्ने बताउँछन्। चिसो पानीमा नुहाउँदा उच्च रक्तचापका बिरामीलाई हृदयाघात हुनसक्छ तर तातो पानीमा त्यस्तो समस्या नहुनुपर्ने हो। उनले भने, ‘ढोका पूर्ण रूपमा बन्द हुने खालको भएकाले पनि अक्सिजनको अभावमा निसास्सिएर मृत्यु हुनसक्छ।’

चिसोको समयमा झ्यालढोका बन्द गरेर हिटरलगायत विभिन्न सामग्री प्रयोग गरेर सुत्दा मानिसको ज्यान जाने गरेको डा. श्रेष्ठ बताउँछन्। कोठामा जम्मा भएको ग्यास बाहिर जान नपाउँदा मानिसको ज्यान जाने गरेको उनले बताए।

झ्याल खोलेर मात्र हिटरलगायत विद्युतीय सामान प्रयोग गर्न उनको सुझाव छ। सुरुमा टाउको दुख्ने र केही समयपछि निसास्सिएर मानिसको मृत्यु हुने भन्दै उनले थपे, ‘बाथरुम अँध्यारो हुनु, साबुन र सेम्पुको चिप्लो रहनु, बाथरुममा पानी चिसो हुनुु, खस्रो सोल भएको चप्पल प्रयोग नगर्नु, राति ब्यूँझिएर अर्धहोशमै बाथरुम जानु जस्ता कारणले दुर्घटना बढिरहेको छ।’

‘बाथरुममा लड्दा अपाङ्गता भई मृत्युसमेत हुनसक्छ’, हाडजोर्नी विशेषज्ञ डा प्रकाश द्वारे बताउँछन्।

उनले बाथरुममा लड्दा जुन अङ्गमा ठोकिन्छ, त्यही अङ्ग र सँगै रहेको हड्डीमा असर पर्ने हुँदा आँखा गुम्ने, दाँत भाँचिने, करङ भाँचिने, मेरुदण्ड भाँचिने, हातखुट्टा भाँचिने, शरीरका भित्री अङ्गमा रगत जम्ने, भित्री अङ्गमा चोट पुग्ने, गर्भवतीको गर्भ पतन हुनेलगायत धेरै अकल्पनीय स्वास्थ्य समस्या बेहोर्नुपर्ने जानकारी दिए।

त्यसैले बाथरुम सफा राखी कारणवश लडेमा कम क्षति हुने प्रकारले बनाउनुपर्छ। खस्रो सोल भएको चप्पल प्रयोग गर्नु राम्रो हुने जानकारी दिँदै डा. द्वारेले बाथरुममा प्रकाशको पर्याप्त व्यवस्था गर्नुपर्छ भने।

भिजेका कपडा नराख्ने, मिल्ने ठाउँमा खस्रो कार्पेट राख्ने, बाथरुममा खस्रो टायल लगाउने, सकभर ट्वाइलेट र बाथरुम अलग अलग बनाउने सुझाव पनि उनले जानकारी दिए। चस्मा प्रयोग गर्ने व्यक्तिले बाथरुम जाँदा पनि चस्मा प्रयोग गर्नुपर्छ। राति उठेर केही मिनेट बसेपछि अर्थात् पूर्ण होसमा आएपछि मात्र बाथरुममा जानु राम्रो हुन्छ।

डा. द्वारेले निद्रा लाग्ने औषधिसेवी, मादक पदार्थसेवी र उच्च रक्तचाप भएका तथा वृद्धवृद्धाले विशेष ख्याल गर्नुपर्ने जानकारी दिए।

बाथरुम सफा हुनुपर्छ
बाथरुम तथा ट्वाइलेट व्यक्तिले नियमित समय बिताउने स्थान हुन् । घरको बैठक कोठाभन्दा बढी कतिपयले बाथरुम या ट्वाइलेटमा बिताउने गरेका छन्। हरेक पटक नुहाइसकेपछि बाथरुमको भित्ता तथा ढोकामा लुगाले पुछ्नुपर्छ । यसले गर्दा त्यहाँ लागेको बाफ तथा पानी जान्छ र सफा भइरहन्छ। यस्तै बाथटब पनि त्यसैगरी सफा गर्नुपर्छ।

कम्तीमा हप्ताको एक पटक फ्लोर क्लिनर तथा ट्वाइलेट क्लिनर प्रयोग गरेर बाथरुम, ट्वाइलेटको भुइँ तथा बेसिनहरू ब्रस लगाएर सफा गर्नुपर्छ। बाथरुममा प्रयोग हुने टाबेल, म्याट हप्ता–हप्तामा सफा गर्नुपर्छ। बाथरुम तथा ट्वाइलेटको कुनाकाप्चा पनि हप्ता दिनमा सफा गर्नुपर्छ । बाथरुम तथा ट्वाइलेटमा प्रयोग भएका पर्दाहरू महिनाको एक पटक धुनुपर्छ। यसो गर्दा बाथरुम–ट्वाइलेट सफा रहन्छ।

बाथरुममा लडेर मृत्यु
शिक्षासेवी डा. बाबुराम पोखरेलको बाथरुममा लडेर मृत्यु भएको थियो। नेपाल क्रिकेट सङ्घ क्यानका पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी जयकुमारनाथ शाहको बाथरुममा लडेर मृत्यु भयो। त्यस्तै भारतका चर्चित बाबा राम कृपाल महाराजदेखि माइकल ज्याक्सनको पनि बाथरुममै लडेर मृत्यु भएको थियो।

बाथरुममा अनेक जोखिम
पछिल्लो समय ट्वाइलेट-बाथरुममा हुने यस्ता दुर्घटनाको दर बढिरहेको छ। तर अस्पतालदेखि प्रहरी कसैले पनि यस्ता दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको आँकडा राखेका छैनन्।

हड्डीरोग विशेषज्ञ डा श्रीकृष्ण गिरी बाथरुममा लडेपछि हेड इन्जुरी (टाउकोको चोट) मृत्युको मुख्य कारण बन्ने गरेको बताउँछन्। त्यसरी लड्दा हुने स्पाइनल इन्जुरी (मेरुदण्डको चोट)ले दुर्घटनापछि गम्भीर खालको अपाङ्गता हुने गरेको उनले उल्लेख गरे। 

शौच गर्दा कहिलेकाहीँ अचानक रक्तचाप घटबड भएर बेहोस हुने समस्या आउने र त्यो अवस्थामा समेत दुर्घटनाको जोखिम रहने न्युरो सर्जन डा गोपाल सेढाईंले बताए, यो सन्देशमूलक सामग्री यलु जोशीले आजको गोरखापत्रमा प्रस्तुत गरेकी छन्।

सेढाईंका अनुसार त्यसबाहेक धेरैमा ‘पोस्टुरल हाइपोटेन्सन’ (बसेर उठ्दा रिँगटा लाग्ने समस्या) हुने र मधुमेह तथा रक्तचापका बिरामीको रक्तचाप अचानक घटबड हुँदा रिँगटा लागेर लड्न सक्ने खतरा अधिक रहन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad