ad ad

छापा खबर


चीनबाट फर्किनेहरूसँग दूतावासको यस्तो सर्तनामा

चीनबाट फर्किनेहरूसँग दूतावासको यस्तो सर्तनामा

नेपालखबर
फागुन १, २०७६ बिहिबार ०:५७,

चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन) मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा गराएको छ।

सर्तनामाअनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको सर्त पालना गर्नुपर्ने खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

दूतावासले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बुधबार सर्तनामा गराइएको हो । क्वारेन्टाइनमा रहँदासम्म परिवार र आफन्तलाई भेट्न नपाइने, त्यहाँ गरिएको खाने, बस्ने, संक्रमणको रोकथाम र उपचारको व्यवस्थापनबारे सर्तनामामा उल्लेख छ।

सरकारले चीनबाट ल्याइने नेपाली राख्न क्वारेन्टाइनको व्यवस्था गरिसकेको छ । ६० कोठाको क्वारेन्टाइनमा १८६ बेड राखिएका छन् । प्रत्येक बेड एक मिटरको ‘ग्याप’मा राखिएको छ।

६ जनाले एक शौचालय प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । त्यहाँ दुई सय ५० जनासम्म अटाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेका लागि खाने व्यवस्था सेनाले गर्नेछ ।

अभिभावकले दुई हप्ता क्वारेन्टाइनमा रहँदा परिवारसँग सम्पर्क गर्न सिमका साथै इन्टरनेटको व्यवस्था गर्न माग गरेका छन् । सरकारले भने पहिलो दायित्व नेपाल ल्याउनु भएको भन्दै इन्टरनेट सुविधा दिनेबारे तत्काल कुनै योजना नबनाएको बताएको छ।

क्वारेन्टाइन स्थलमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ल्याइएका नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी रोगको शंका लागेमा अस्पताल र रोगको लक्षण नभएकालाई मात्र क्वारेन्टाइनमा लगिनेछ।

सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका एक सय ८० नेपाली लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ।

जहाजमा एक चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ । उनीहरूसहित चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मी र चीन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले तालिम दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .