नेपालका छवटा हिमाल एकैपटक सफा गरिने भएको छ।
अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गर्न लागिएको खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।
नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल सफाइ गर्न लागेको हो । करिब आठ करोड ५९ लाख ९३ हजार रुपियाँको लागतमा हिमालको सफाइ गरिनेछ।
वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन छवटा मुख्य हिमाल एकैपटक सफा गरिन लागेको बताइने।
यसअघि नेपालका हिमालमा फोहोर र प्रदूषण बढेको टिप्पणी विदेशमा भइरहेको थियो । बढी पर्यटक चढ्ने हिमालमा फोहोर व्यवस्थापनको अभाव रहँदा हिमालले फोहोरको भार खेप्दै आउनु परेको छ, जसका कारण हिमाली पर्यावरणमा गम्भीर असर परेको विज्ञहरू बताउँछन्।
हिमाल र हिउँको संरक्षणसँगै वातावरण संरक्षण गर्न हिमाल सरसफाइ गर्न लागिएको वातावरण विभागले जनाएको छ । पहिले सरसफाइको जिम्मा वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वातावरण विभागलाई दिइएको थियो तर हालै मात्र परिवर्तन गरी हिमाल सरसफाइको जिम्मा नेपाली सेनालाई दिइएको छ।
हिमाल सरसफाइ गर्न आवश्यक उपकरण र स्रोत सामग्रीको बोलपत्र प्रक्रिया जारी रहेको पाण्डेले जानकारी दिए। नयाँ वर्ष २०७७ को वैशाख ३ गतेदखि डेढ महिनासम्म हिमाल सरसफाइ अभियान चल्नेछ।
सगरमाथासहित छवटा हिमालबाट करिब ४५ हजार किलो फोहोर सङ्कलन गर्ने योजना नेपाली सेनाको छ।
योजनाअनुसार सगरमाथा, ल्होत्से र पुमरी हिमालको बेसक्याम्पमाथि १० हजार किलो र बेसक्याम्प तल आसपासबाट थप २० हजार किलो गरी कुल ३० हजार किलो फोहोर सङ्कलन गरिनेछ । मकालु हिमालको बेसक्याम्पमाथि दुई हजार किलो र बेसक्याम्प तलबाट तीन हजार किलो गरी पाँच हजार किलो फोहोर सङ्कलन हुने अनुमान छ।
त्यसैगरी धवलागिरि हिमालको बेसक्याम्पमाथि दुई हजार किलो र तलको क्षेत्रबाट तीन हजार किलो गरी पाँच हजार किलो फोहोर सङ्कलन हुनेछ। आमादब्लम हिमालको बेसक्याम्पमाथि तीन हजार किलो र तलका क्षेत्रबाट दुई हजार किलो गरी पाँच हजार किलो फोहोर सङ्कलन गरिने लक्ष्य राखिएको छ।

प्रतिक्रिया