छापा खबर


उखु किसान फेरि आन्दोलित

उखु किसान फेरि आन्दोलित

नेपालखबर
माघ १६, २०७६ बिहिबार ०:३०,

सरकारले तोकेको समय सीमामा उद्योगीले भुक्तानी नदिएको भन्दै नवलपरासीका उखु किसान पुनः आन्दोलित भएका छन्।

माघ १४ देखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गर्दै उनीहरूले माग पूरा नभए पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

घोषित कार्यक्रमअनुसार राजनीतिक दलसँग छलफल, किसान जागरण अभियान, बृहत् किसान भेला, पत्रकारसँग अन्तरक्रिया र बर्दघाटको टीसीएन चोकमा प्रदर्शनसहित राजमार्ग अवरुद्ध गरिने उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए।

‘माघ १९ गतेसम्म पनि समस्या समाधान नभए पुनः काठमाडौं केन्द्रित आन्दोलन सुरु हुनेछ,’ उनले भने।

माघ ७ गतेभित्र किसानको बक्यौता रकम तिर्न उद्योगीले सरकारसँग सहमति जनाएका थिए। तर, उक्त समय सीमा बितेको साता हुँदा पनि किसानले रकम पाएका छैनन्। सरकारले पनि उद्योगीलाई कारबाही गर्न सकेको छैन।

उखु उत्पादक कृषक समिति नवलपरासीका अनुसार जिल्लाका दुई उद्योगले किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। इन्दिरा सुगर मिलले १४ करोड र लुम्बिनी चिनी मिलले ११ करोड रकम तिर्न बाँकी छ।

वाग्मती चिनी उद्योगले भुक्तानी गर्नुपर्ने ९ करोड रकम किस्ता किस्तामा तिरिरहेको छ। समितिका अध्यक्ष यादवका अनुसार किसानको उत्पादन उधारोमा लिने, चिनी बेच्ने र प्राप्त रकम वर्षभरि अन्य क्षेत्रमा लगानी गरेर किसानको ढाड सेक्ने काम भइरहेको छ।

‘सरकारले पनि केही गर्न सकेन,’ उनले भने, ‘अब हामी भुक्तानीलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्ने आन्दोलनमा उत्रिँदै छौं।’
किसानको आन्दोलनमा पश्चिम नवलपरासीका राजनीतिक दलका प्रतिनिधिले ऐक्यबद्धता जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad