छापा खबर


नाकामा रोकियो पुस्तक, बिक्रेता भन्छन्- सरकारले गर्न खोजेको के?

नाकामा रोकियो पुस्तक, बिक्रेता भन्छन्- सरकारले गर्न खोजेको के?

नेपालखबर
माघ १६, २०७६ बिहिबार ०:१,

‘अब हामी पुस्तक आयात गर्न नसक्ने भएका छौं । त्यसैले जोजो आफ्नो मनपर्ने पुस्तकको पर्खाइमा हुनुहुन्छ, उहाँहरुसँग हामी एकदमै माफी माग्न चाहन्छौं । हामीले सक्ने प्रयास गर्‍यौं तर यो हाम्रो हातमा छैन।’

पोखराको मण्डला पुस्तकले हालै सामाजिक सञ्जाल फेसबुकमा यस्तो बिलौना गर्‍यो। भारतबाट विदेशी पुस्तक आयत गर्दै आएका नेपाली पुस्तक विक्रेताको साझा समस्या पोखराको मण्डलाले फेसबुकमा पोखेको हो।

विदेशी पुस्तक भारतबाट आयत गर्दा मूल्य सस्तो पर्न जान्छ। त्यसैले विदेशका महँगा पुस्तक पनि यहाँका विक्रेताले सजिलै नेपाल भित्र्याउँथे। अनि सुपथ मूल्यमा नेपाली पाठक सामु पुग्थे।

तर, आर्थिक वर्ष २०७६–७७ को बजेट पेस गर्ने बेला अर्थमन्त्री युवाराज खतिवडाले विदेशबाट छपाई तथा विक्रीका लागि नेपाल भित्रने पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरे।

त्यसपछि पुस्तक विक्रेतामा समस्या आयो। अहिले त डलरमै कर तिर्नुपर्ने भन्दै भन्सारमा पुस्तक नै रोकिदिएको पुस्तक विक्रेताको गुनासो छ। यो खबर आजको कान्तिपुर दैनिकमा रिना मोक्तानले लेखेकी छन्।

मण्डलाको गुनासो पनि यतिमै सिमित छैन। मण्डला थप लेख्छ, ‘नेपालका पुस्तक विक्रेताले पुस्तकमा भन्सार शुल्क तिर्ने सम्झौता गरेको छ। हामी भारतीय रुपैयाँमा कर तिर्न तयार छौं। तर सरकार डलरमै कर तिरोस् भन्ने चाहन्छ। त्यसैले पुस्तक उपलब्ध गर्न असमर्थ भयौं।’

मंगलबार राजधानीमा रहेका केही पुस्तक पसल चहार्दा सबै वितरकले एउटै गुनासो गरे, ‘नयाँ पुस्तक भन्सारमै रोकिदियो, डलरकै मूल्यमा कर तिर्नुपर्ने रे।’ उनीहरुले भारतीय रुपैयाँमा कर तिरेर पुस्तक मगाएका थिए।

पुस्तक भन्सारमा नभइ राजश्व अनुसन्धान कार्यलय पथलैयामा रोकिएको छ। अझै पुस्तकमाथि अनुसन्धान भइरहेको त्यहाँका अनुसन्धान अधिकृतले फोन सम्पर्कमा जानकारी दिए।

दुई दिनभित्रमा नै नतिजा आउने उनले बताए। ‘हो एक ट्रक पुस्तक रोकिएको छ। अब अनुसन्धान हुँदैछ, उहाँहरुले गल्ती गरेको हो भने सजाय पाउनुहुन्छ। नभए पुस्तक काठमाडौं पठाउँछौं’ अनुसन्धान अधिकृतले भने।

खासमा अहिले भन्सारमा दाखिला गरेको रकम र किताबमा लेखिएको मूल्य फरक परेपछि भन्सार कार्यालयले कर छलीको आशंका गर्दै किताब आयत रोकिएको हो।

फाइन प्रिन्टका निर्देशक अजित बराल भन्छन्, ‘खासमा अन्तर्राष्ट्रिय पुस्तक प्रकाशन गर्दै आएका प्रकाशकहरुले निम्न क्रय शक्ति भएको क्षेत्रमा मूल्य नै कम राख्छन्। यो सब्सीडी हो। तर यसलाई नै मूल्य कम गरेर कर छली गरेको भन्ने गलत आरोप लगाइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad