छापा खबर


फेसबुकले सानैमा बिहे ! २० वर्षमै तीन सन्तान

फेसबुकले सानैमा बिहे ! २० वर्षमै तीन सन्तान

नेपालखबर
असार १४, २०७६ शनिबार २:२७,

पाँचथरको हिलीहाङ गाउँपालिका–७ की १९ वर्षीया रीता माझीको काखमा नौ महिनाको बच्चा छ। १७ वर्षको उमेरमा बिहे गरेकी उनी १८ वर्षमा आमा बनिन्।

यस्तै, २५ वर्षीया अनिता माझीका तीन छोरा र दुई छोरी गरी पाँच सन्तान छन्। उनले १५ वर्षमै बिहे गरेकी थिइन्। २० वर्ष पुग्दा तीन सन्तानकी आमा बनेकी थिइन्।

२३ वर्षीया भीमकुमारी माझी तीन सन्तानकी आमा हुन्। उनका जेठो छोरो पाँच वर्षको भइसकेको छ।

रीता, अनिता र भीमकुमारी उमेर नपुग्दै आमा बन्ने प्रतिनिधि पात्र हुन्। उनीहरूजस्ता माझी समुदायका महिला किशोरावस्थामै बिहे गरी आमा बनेका छन्।

पाँचथरको यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा भीमकुमार बाँस्कोटाले लेखेका छन्।

हिलीहाङ–७ र फिदिम नगरपालिका–४ मा ४० परिवार माझी छन्। यो बस्तीका २० महिला २० वर्षमुनि आमा बनेका हुन्। ‘यहाँका अधिकांश महिला उमेर नपुग्दै आमा बन्छन्’, स्थानीय विमला माझीले भनिन्।

यो समुदायमा बाल विवाह भयावह अवस्थामा छ। चेतना अभावले कलिलै उमेरमा विवाह गरेका माझी महिला परिवार नियोजनका साधनबारे पनि अनभिज्ञ रहेको स्वास्थ्यकर्मी संगीता तामाङले बताइन्।

उनका अनुसार बच्चाको जन्मान्तरका विषयमा जानकारी नहुँदा बर्सेनि बच्चा जन्माउने गरेका छन्।

सानै उमेरमा प्रेम सम्बन्धमा बसी विवाह गर्ने क्रम बढ्न थालेको माझी संघ पाँचथरका अध्यक्ष जसबहादुर माझीले बताए। ‘केटाकेटीहरू केही काम नभएपछि फुर्सदिला हुन्छन्’, उनले भने, ‘मन मिलेपछि विवाह गरिहाल्छन्। बिहेलगत्तै बालबच्चा जन्मिन्छन्।’

मोबाइल फोन र फेसबुकको प्रयोग बढेसँगै कलिलैमा विवाह गर्ने क्रम पनि बढेको माझी अगुवा बताउँछन्। यहाँका माझी परम्परागत पेसा अँगालेर बसोबास गरिरहेका छन्।

उनीहरू अधिकांश औपचारिक शिक्षाबाट वञ्चित छन्। सानै उमेरमा लगातार बच्चा जन्माउनाले माझी महिलाको स्वास्थ्य अवस्था कमजोर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार कम उमेरमै आमा बन्ने महिलामा पाठेघरको समस्या छ। ‘पाठेघरको पूर्ण विकास नभई बच्चा जन्माउने महिलामा मानसिक र शारीरिक दुवै किसिमको समस्या देखिन्छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad