छापा खबर


ओलीलाई भेट्नुअघि प्रचण्डलाई किन भेट्छन् नेपाल ?

ओलीलाई भेट्नुअघि प्रचण्डलाई किन भेट्छन् नेपाल ?

नेपालखबर
असार १४, २०७६ शनिबार २:१०,

नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे ।

आफनो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटार जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार छिरे ।

नेता नेपालले बुधबार प्रधानमन्त्री ओली र दाहालबीच भएको पछिल्लो कुराकानीको ब्रिफिङ लिए । प्रधानमन्त्री ओलीले पार्टी नेताहरूलाई एक्लाएक्लै बोलाएर भेट्न खोजेपछि नेपाल शुक्रबार बालुवाटार जानुअघि दाहालसँगको कुराकानीको ‘स्पिरिट’ बुझ्न खुमलटार पुगेका थिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।

एक दिनअघि (बुधबार) ओलीले दाहालसँग ‘धेरै वादविवाद नगरौं, मिलेर जाऔं’ भन्ने प्रस्ताव राखेका थिए । त्यस्तै प्रस्ताव ओलीले शुक्रबार नेता नेपालसँग पनि राखेका छन् ।

ओलीको मिलेर जाऔं भन्ने प्रस्ताव नेता नेपालले अस्वीकार त गरेनन् तर मिल्ने आधार, विधि, पद्धति र प्रक्रियाबारे उल्टै प्रश्न तेर्स्याएका छन् । ‘तपाईं र म व्यक्तिको कुरा होइन, हामी कुन पद्धतिमा जाने हो, विधिअनुसार चल्ने कि नचल्ने भन्ने मुख्य कुरा हो, यसमा मिल्नुपर्‍यो,’ नेता नेपालले ओलीलाई शुक्रबारको भेटमा यस्तो जवाफ दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीमाथि नेता नेपालले विगतदेखि नै पार्टीलाई पद्धतिअनुसार नचलाएको र सरकारमा पनि मानोमानी ढंगले अघि बढेको आरोप लगाउँदै आएका छन् । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउने नेतामा अहिले दाहाल पनि थपिएका छन् ।

त्यसैले विगतमा ओलीसँग मात्र बढी निकट देखिने दाहाल अहिले नेपाल र ओलीलाई समदूरीमा राखेर हिँडिरहेका छन् । अहिले बालुवाटारमा ओलीसँग जति नै बाक्लो भेटघाट नेपाल र दाहालबीच पनि चलिरहेको छ । यसैसाता दाहाल र नेपालबीच कहिले खुमलटार त कहिले नयाँ बानेश्वरको अर्याल होटलमा लामा संवाद भएका छन् ।

ओली ट्र्याकबाहिर हिँड्न खोजेको वा आफूहरूलाई कुनै पनि विन्दुमा कर्नर गर्ने कोसिसमा रहेको बुझाइ अहिले नेपालमा मात्र होइन, दाहालमा पनि बढ्न थालेको छ । यो कुरा दाहालले आफूनिकट नेताहरूलाई बोलाएर गत आइतबार खुमलटारमा ब्रिफिङ गरेका थिए ।

अघिल्लो शुक्रबार प्रधानमन्त्री ओलीले ‘जनताको बुहदलीय जनवाद’ लाई पार्टीको दस्ताबेजमा राख्ने प्रस्ताव गरेपछि दाहाल झस्किए । त्यही प्रकरणको बाछिटाले आन्तरिक एकता खल्बलिने शंका बढेपछि सातायता तीन मुख्य नेताबीच छुट्टाछुट्टै संवाद चलिरहेको छ ।

गत शनिबार पार्टीको सचिवालय बैठकको तयारी सिलसिलामा अघिल्लो दिन शुक्रबार असार ६ गते प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा जनताको बहुलदीय जनवादलाई राजनीतिक दस्ताबेजमा राखेर जाऔं भन्ने प्रस्ताव गरेका थिए, जुन प्रस्ताव पार्टी एकता क्रममा भएको सहमतिविपरीत आएको थियो ।

उक्त प्रस्ताव आएपछि अध्यक्ष दाहाल रुष्ट बने । त्यही दिन साँझ ७ बजे ओलीले नेता नेपाललाई पनि बालुवाटारमा बोलाएर ‘जबज’ लेखेर जाने प्रस्ताव गरे ।

ओलीको यो अनपेक्षित प्रस्ताव नेता नेपाललाई स्वीकार्य भएन किनभने पार्टीको राजनीतिक प्रतिवेदन तयार गर्ने टोलीको संयोजक उनी नै थिए ।

दुई अध्यक्षसँगको परामर्शमै नेता नेपाल नेतृत्वको कार्यदलले पार्टी एकताको सहमतिअनुसार तत्कालका लागि ‘जनताको जनवाद’ भन्ने शब्द राख्ने सहमति गरेर प्रतिवेदन हस्तान्तरण गरेको थियो । ‘जनताको बहुदलीय जनवाद’ प्रति नेता नेपालको असहमति हैन ।

एकताको सहमतिभन्दा विपरीत कुरा गर्दा नैतिक संकटमा पर्ने भएपछि नेता नेपालले गत शुक्रबार साँझको भेटमा ओलीको प्रस्ताव अस्वीकार गरिदिए ।

ओलीले यस्तो प्रस्ताव गर्नुका पछाडि नेपाललगायत नेता दाहालको क्याम्पमा पुगेर आफूलाई अप्ठेरो नपारुन् भन्ने उद्देश्यले आएको थियो । ‘जनताको बहुदलीय जनवाद’ भनेपछि नेता नेपालसहित पूर्वएमालेको ठूलो पंक्ति दाहालको क्याम्पमा जानै नसक्ने बुझाइ ओलीको थियो ।

नेता नेपालले ‘महाधिवेशनमा जबज भनेरै जाऔँला, अहिलेचाहिँ सहमतिअनुसारकै दस्ताबेज बनाऔँ’ भनेपछि ओली अप्ठेरामा परे । त्यसैले गत शनिबार बोलाएको सचिवालय बैठकमा ‘राजनीतिक दस्ताबेज हामी अध्ययन गर्दै छौं’ भनेर ओलीलेछलफलमै राखेनन्, युरोप भ्रमणको ब्रिफिङमा समय बिताए ।

गत शुक्रबार भएको ओलीसँगको संवादपछि अध्यक्ष दाहालले गत आइतबार आफूनिकट नेताहरूलाई बोलाएर छलफल गरे ।

त्यहाँ सहमतिविपरीत हुने खालका कुनै पनि एजेन्डामा सहमत हुन नहुने सन्देश पूर्वमाओवादीका नेताहरूले दाहाललाई दिए । त्यसपछि चितवन पुगेर अध्यक्ष दाहालले गत सोमबार ‘सहमतिबाट दायाँबायाँ गरे दुर्भाग्यपूर्ण’ हुने अभिव्यक्ति दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad