छापा खबर


माघ १३ गते विवाह तय भएकी युवतीको टिपरको ठक्करबाट मृत्यु

माघ १३ गते विवाह तय भएकी युवतीको टिपरको ठक्करबाट मृत्यु

नेपालखबर
माघ १०, २०७६ शुक्रबार १:४०,

पाँच दिनपछि उनको विवाह हुँदै थियो।घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो।

आफ्नो बिहेको निम्तो साथीहरुलाई दिन रमिता भट्ट कञ्चनपुरको महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन्। रमिताले साथीहरुलाई निम्तो बाँडिन्, तर विवाह हुन पाएन।

निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट मृत्यु भएको खबर आजको कान्तिपुर दैनिकमा कञ्चनपुरबाट भवानी भट्टले लेखेकी छन्।

बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएकी रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन्। उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर आएकी थिइन्।टेरसँगै बसिरहेकी उनलाई अन्तरजातिय (बाहुन–क्षेत्री) सम्बन्ध भएकाले माइती पक्षले स्वीकार गरेको थिएन।

अहिले माइती पक्ष पनि राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो। उनीहरुको माघ १३ गते विवाह हुने निश्चित भएको थियो।

 रमिता दिउँसो २ बजेतिर साथीहरूलाई कार्ड दिन्छु भन्दै डेराबाट निस्केकी थिइन् । नन्द पार्वती टेर र आमाजू देवकी भट्टले बजार नजान भनेका थिए । आधा घण्टामै महेन्द्रनगरकै मदन चोकमा भेट्ने भन्दै कार्ड बोकेर हिँडेकी थिइन्।

आधा घण्टापछि पार्वती र देवकीले फोन गर्दा उनको मोबाइल अफ थियो । ‘हामीले प्रहरीलाई पनि यस विषयमा खबर गरेका थियौं,’ पार्वतीले भनिन्, ‘ढिलो गरी दुर्घटनाबारे खबर पायौं, अस्पतालमा पुगेर हेर्दा रमिता नै रहिछन्।’

रमिता क्याम्पसका साथीहरूलाई बिहेको कार्ड दिन गएकी थिइन् । कार्ड बाँडेर साइकलमा फर्कंदै गर्दा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भानु चोक नजिकै बिहीबार साँझ समान दिशाबाट आएको से१क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

टिपरको ठक्करबाट युवतीको मृत्युपछि महेन्द्रनगरको अवस्था तनावग्रस्त बनेको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमाथि ढुंगा प्रहार गरेका छन् । ढुंगा प्रहारबाट ठक्कर दिने र अर्को एक गरी दुई टिपरमा क्षति पुगेको छ।

महेन्द्रनगरको भानु चोकमा अबेरसम्मै ढुंगामुढा प्रहार भइरहेको थियो । स्थानीयले भानु चोक नजिकै टायर बालेर प्रदर्शन गरिरहेका छन्।

तनावग्रस्त बनेको अवस्था नियन्त्रण गर्न प्रहरीले करिब एक दर्जन अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार घटना हुँदा फरार भएका टिपर चालकलाई पनि नियन्त्रणमालिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad