१० मंसिरमा हेटौँडा पुगेका प्रचण्डले मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र मन्त्रीहरुसँगको करिब पौने घन्टा लामो भेटघाटमा भनेका थिए, ‘प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती उपयुक्त हुन्छ।’
प्रचण्डले हेटौँडा पुगेर दिएको आश्वासन आइतबार बसेको सत्तारुढ नेकपा सचिवालय बैठकले अनुमोदन गरेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।
आइतबार एक घन्टामात्र सचिवालय बैठक बसेको थियो। संक्षिप्त बैठकको अध्यक्षता ओली र प्रचण्डले संयुक्त रुपमा गरेका थिए।
बैठकको दृश्य बेग्लै थियो। दायाँतिर रहेका ओलीसँगै रहने गरी बाँयातिर प्रचण्डलाई समानान्तर कुर्सीमा राखिएको थियो।
त्यसअघि प्रचण्ड सचिवालयका अन्य नेताहरुको लहरमा बस्थे।
बैठक सुरु भएलगत्तै दुबै अध्यक्षले छोटो समय भएकाले एउटा मात्र एजेण्डामा निर्णय गर्नुपर्ने भन्दै प्रदेश ३ को राजधानी र नाम टुंग्याउनु पर्ने प्रस्ताव राखे।
‘उहाँहरु दुबैले छलफलमा अरु पनि प्रस्ताव आए पनि राजधानी हेटौँडा र नामांकन बागमती उपयुक्त हुन्छ भन्ने प्रस्ताव गर्नुभो, हामीले पनि समर्थन ग¥यौँ, थप अरु केही भएन,’ वरिष्ठ नेता झलनाथ खनालले भने।

प्रतिक्रिया