ad ad

छापा खबर


यी हुन् कालो कोटको आवरणमा काला कर्तुत गर्नेहरू

यी हुन् कालो कोटको आवरणमा काला कर्तुत गर्नेहरू

नेपालखबर
पुस १२, २०७६ शनिबार १:४६,

न्यायका लागि बहस पैरवी गर्ने कानुन व्यवसायी नै पेसागत आचारसंहिता उल्लंघन गर्ने मात्र होइन, मिर्गौला तस्करीजस्ता गम्भीर अपराधमा समेत मुछिन थालेका छन्।

पछिल्लो एक वर्षमा १० अधिवक्ताविरुद्ध भ्रष्टाचार तथा फौजदारी मुद्दा चलेको छ। नैतिक आचरण र पेसागत मर्यादा उल्लंघन गरेको भन्दै ९९ अधिवक्तामाथि बार काउन्सिलले छानबिन गरिरहेको छ। वकालती पेसालाई माध्यम बनाएर अनुचित तरिकाबाट अकुत सम्पत्ति आर्जन गर्ने तथा अपराध कर्ममा लागेको भन्दै उनीहरूविरुद्ध काउन्सिलमा उजुरी परेको थियो।

–केही समयअघि अधिवक्ता कुमुद भट्टराई फौजदारी मुद्दामा पक्राउ परे। ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका कानुनी सल्लाहकार भट्टराई अवैध रूपमा मिर्गाैैला प्रत्यारोपणको आरोपमा गत २९ असोजमा पक्राउ परेका थिए। अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो। केही समय कारागारमा बसेका उनी उच्च अदालतको आदेशमा छुटेका छन्। जिल्ला अदालतमा उनको मुद्दा विचाराधीन छ ।

–काठमाडौंको ९२ रोपनी सरकारी जग्गा हाउजिङको नाममा दर्ता गर्ने काममा पनि कानुन व्यवसायीकै संलग्नता देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले तीन वकिलसहित पाँचजनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। चन्द्रागिरि नगरपालिकाको वाँणभञ्ज्याङस्थित ९२ रोपनी दुई आना जग्गा मालपोत कार्यालय कलंकीबाट ०७२ मा सुयल हाउजिङ कम्पनीको नाममा लैजाने वकिलहरू रामबहादुर शाह, योगेन्द्र पोखरेल र बाबुराम शर्मा रेग्मीलाई सिआइबीले पक्राउ गरी मुद्दा चलाएको थियो। उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुर र संगठित अपराध मुद्दा चलाइएको सिआइबीका एसपी बेलबहादुर पाण्डेले बताए । धरौटीमा छुटेर हाल उनीहरू मुद्दा लडिरहेका छन्।

–कानुनसम्बन्धी कलेज खोल्न उठाइएको पैसा ठगीको आरोपमा गत वर्ष फागुनमा चर्चित अधिवक्ता गोपाल सिवाकोटी ‘चिन्तन’ पक्राउ परेका थिए। पूर्वन्यायाधीश पवनकुमार ओझालगायतलाई ठगी गरेको अभियोगमा उनी जेल चलान भएका थिए । उनीमाथि दुई करोड ७६ लाख रुपैयाँ ठगीको अभियोग छ। मञ्जुश्री कलेज खोल्न भनेर संकलन गरिएको पैसा उनले हिनामिना गरेका थिए।

–गत वर्ष सिन्धुपाल्चोक प्रहरीले सरकारी कागजपत्र किर्ते बनाएको अभियोगमा अधिवक्ता पुण्यप्रसाद खनाललाई पक्राउ गरेको थियो। तीन वर्षअघि मुद्दा जिताइदिन्छु भन्दै ठगी गरेको आरोपमा अधिवक्ता सञ्जयराज अधिकारीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको थियो।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी योजनाकारमध्ये एक अधिवक्ता रामकुमार सुवेदी भएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीले उनीमाथि छानबिन गरिरहेको छ। यो खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

आठ अधिवक्तालाई भ्रष्टाचार मुद्दा
पछिल्लो एक वर्षमा आठजना अधिवक्ताविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा चलेको छ । सुरेन्द्रप्रसाद कोइराला, ताराप्रकाश पौडेल, बाबुराम शर्मा रेग्मी, योगेन्द्र पोखरेल, हरि न्यौपाने, प्रेमसिंह धामी, जगदेव चौधरी र चन्द्रप्रकाश खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । भ्रष्टाचार मुद्दा दायर भएकै आधारमा नेपाल बार काउन्सिलले उनीहरूको प्रमाणपत्र निलम्बन गर्ने निर्णय गरेको थियो। पछि सर्वाेच्च अदालतको अन्तरिम आदेशपछि निलम्बन रोकिएको काउन्सिलका सचिव रामहरि शर्मा काफ्लेले बताए।

९९ अधिवक्तामाथि छानबिन
बार काउन्सिलले हाल ९९ जना अधिवक्तामाथि छानबिन गरिरहेको छ । जसमा केही वरिष्ठ अधिवक्तासमेत छन्। वरिष्ठ अधिवक्ताद्वय प्रभाकर अधिकारी र प्रेमध्वज शाहीविरुद्ध काउन्सिलमा उजुरी परेको छ। युएस बंगला विमान दुर्घटनाका पीडितसँग अधिकारीले पेसागत आचरणविपरीत बिमा रकमको निश्चित प्रतिशत मागेका थिए।

अर्का वरिष्ठ अधिवक्ता शाहीले एउटै मुद्दाका पक्ष र विपक्ष दुवैलाई कानुनी सल्लाह दिएको खुलेपछि उनीमाथि छानबिन भइरहेको छ।

१० अधिवक्ताको लाइसेन्स रद्द
०५४ देखि हालसम्म बार काउन्सिलले १० जना अधिवक्ताको लाइसेन्स रद्द गरेको छ। लाइसेन्स रद्द हुनेमा केशव मैनाली, उद्धव श्रेष्ठ, कृष्णबहादुर खत्री, तुलसी पौडेल, महेश ठाकुर, हरिबहादुर थापा, टीका तिमल्सिना, कमल पुरी, इस्माइल मियाँ र श्याम गौतम छन् । यही अवधिमा २४ जनालाई कारबाहीस्वरूप नसिहत दिइएको र ११ जनालाई सचेत गराएको छ।

हाल नेपालमा करिब सात हजार सक्रिय अधिवक्ता छन् । लाइसेन्स भने १८ हजार ७१ जनाले लिएका छन् । अधिवक्ताहरू छिटो पैसा कमाउने लोभमा विभिन्न गतिविधिमा संलग्न हुन थालेको र यसले वकालत पेसाको मर्यादा घटेको बार काउन्सिलको अनुशासन समितिका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .