छापा खबर


अछाममा फेरि सुरु भयो छाउपडीविरुद्ध अभियान, भत्काइए ६० छाउगोठ

अछाममा फेरि सुरु भयो छाउपडीविरुद्ध अभियान, भत्काइए ६० छाउगोठ

नेपालखबर
पुस ९, २०७६ बुधबार ३:२२,

मंसिर १५ गते राति अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो ।

उक्त घटनापछि अछामका जनप्रतिनिधि र राजनीतिक दललगायत सरोकारवालाले पुनः छाउपडीविरुद्ध अभियान चलाएका छन् ।

साँफेबगर–३ का वडाध्यक्ष कृष्ण बुढाका अनुसार पार्वतीले छाउ बार्न प्रयोग गरेको गोठसहित ६० वटा छाउगोठ भत्काइएको छ । सिद्धेश्वरका ८ सय २६ घरधुरीमा छाउगोठमा बस्ने गरे–नगरेको र छाउ बार्ने अवस्थाबारे अनुगमन गरिएको उनले बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा अछामबाट मेनुका ढुगानाले लेखेकी छन्।

‘जबसम्म छाउगोठ रहन्छन्, तबसम्म तिनमा ज्यान जाने सम्भावना रहन्छ भन्ने निष्कर्ष निकाल्यौं,’ उनले भने, ‘एकचरण सिद्धेश्वरका सबै घरधुरी अनुगमन गरेर सकियो । पुराना संरचना, सानो घर, एउटा मात्रै कोठा भएका घरमा अझै पनि समस्या देखियो।’

वडाध्यक्ष बुढाका अनुसार भौतिक संरचना अभावले छाउगोठमा बस्नेहरूको बाध्यतालाई वडा र नगरबाट विशेष पहल गरेर घरमा बसाउने उनले बताए ।

‘केही घरमा महिनावारी बार्नलाई सुरक्षित बसेको र व्यवस्थित कोठा पनि भेटिए । तर ती कोठा घरसँगै जोडिएका भने छैनन्,’ उनले भने, ‘त्यसरी बसेकाहरूलाई पनि समयमै व्यवस्थित हुन आग्रह गरेका छौं।’

पार्वतीलाई छाउगोठमा बसाउन बाध्य पारेको भन्दै जेठाजु छत्र रावतलाई पक्राउ गरेको विषयमा भने प्रहरीले कुरा नबुझेको बुढाले बताए ।

‘पार्वती सामाजिक परम्पराले नै छाउगोठमा बसेकी हुन् । जेठाजुलाई पक्राउ गरेर कानुन सही प्रयोग भयो भन्ने लाग्दैन,’ उनले भने, ‘जेठाजुले जबर्जस्ती बसाएका होइनन् ।’

छाउ बार्न गोठमा गएकै कारण ज्यान जाने र त्यही घरका सदस्य जेल जानुपर्ने अवस्था आएपछि महिलाहरूकै सक्रियतामा छाउगोठ भत्काउन थालेको सिद्धेश्वरकी महिला अगुवा राजमती कुँवरले बताइन् ।

‘यहाँका महिलाहरू सामाजिक परम्पराले छाउगोठमा छन्, तर अब चेत खुल्दैछ,’ उनले भनिन्, ‘सुरक्षित बस्ने तरिका बुझाइरहेका छौं ।’

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले घोषणाका लागि मात्रै छाउगोठमुक्त नभनिने बताए । ‘छाउगोठमुक्त वडा घोषणाका लागि ११ चरण पार गर्ने नीति बनाउन थालेका छौं,’ उनले भने, ‘प्रहरी, पत्रकार, प्रशासनको उपस्थितिमा अन्तिम चरणको अनुगमन गर्छौं ।’

छाउगोठ भत्काएर त्रिपाल टाँगेर बस्ने गरेको पनि यसअघि भेटिएकाले ‘मेरो घरमा छाउपडी गोठ छैन’ भन्ने परिचयपत्र दिने उनले बताए । ‘गोठमा नबस्नुहोस् भन्दै आग्रह गर्ने हो । त्यति भन्दा पनि छाउगोठमा बस्न छोडेनन् भने कानुन कार्यान्वयनतर्फ जोड दिन्छौं,’ उनले भने, ‘राति पनि छाउगोठमा बसे–नबसेको अनुगमन गर्छौं । गोठमा बसेको भेटिए कानुनअनुसार कारबाही गर्छौं ।’

अछाममा १० वर्षयता १४ जना किशोरी तथा महिलाको छाउगोठमै मृत्यु भएको छ । १० वटा स्थानीय तहका ९१ वडामा छाउप्रथा कायमै रहँदा पनि स्थानीय तहमा ठोस योजना छैनन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad