छापा खबर


एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु

एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु

नेपालखबर
पुस ५, २०७६ शनिबार १:२२,

इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ।

माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो।

उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो। खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो। न्युरोमा सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको थियो।

शिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो। बीसीजी लगाउन ढिला भएको भन्दै एकैपटक चारवटै खोप लगाइएको थियो। यो खबर आजको राजधानी दैनिकमा भगीरथ भण्डारी (इलाम)ले लेखेका छन्।

आर्थिक अवस्था कमजोर भएका कारण सघन उपचार कक्ष ९आईसीयू०मा राखेर उपचार गर्न नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृत्यु भएको जनाइएको छ।

यता, स्वास्थ्यकर्मीहरूले खोपकै कारण शिशुको मृत्यु भएको भन्ने प्रमाण नभएको बताएका छन्। मृतकको परिवार र स्वास्थ्यकर्मीबीच भएको छलफलमा सहभागी स्वास्थ्यकर्मी स्थानीय आदिपुर स्वास्थ्य चौकीका अहेब सुरेन्द्र साम्बाले खोपकै कारण बच्चाको मृत्यु भएको प्रमाण नभएको बताए।

साम्बाले नेपाल सरकारको तालिकाअनुसार नै स्वास्थ्यकर्मीहरूले खोप दिएकाले मृत्युको कारण खोप नभएको जिकिर गरे। ‘स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको तालिकाअनुसार नै खोप दिएका छन्। यदि त्यही कारणले भए खोप लगाएको आधा घण्टादेखि नै प्रतिक्रिया देखिन्थ्यो,’ साम्बाले भने, ‘तर, भोलिपल्टदेखि मात्र रुन थालेको भन्ने सुनियो। अभिभावकले तुरुन्त स्वास्थ्यकर्मीलाई देखाएनन्। बाहिर उपचारमा लैजानुभएछ। तसर्थ, खोपको कारण नै हो भन्न सकिँदैन।’

सिमलटार सामुदायिक स्वास्थ्य इकाइमा कुमारी योङहाङ र सन्ध्या कार्की स्वास्थ्यकर्मीका रूपमा कार्यरत छन्। शिशुलाई खोप लगाउँदा उनीहरू नै संलग्न थिए। यस विषयमा बुझ्न माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप राईसँग सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ भएका कारण सम्पर्क हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad