ad ad

छापा खबर


प्रधानमन्त्रीको गृह जिल्लामा नेकपा नेताले किर्ते गरेर सर्वसाधारणको जग्गा हडपे

प्रधानमन्त्रीको गृह जिल्लामा नेकपा नेताले किर्ते गरेर सर्वसाधारणको जग्गा हडपे

नेपालखबर
पुस ३, २०७६ बिहिबार ३:१७,

झापाको दमक नगरपालिका–८ बालुवाटारका केही स्थानीयले आफ्नो भोगचलनमा रहेको जग्गा नेकपा नेता गगन पुरीले किर्ते गरी हडपेको आरोप लगाएका छन्।

२०३६ सालदेखि आफूहरूको भोगचलनमा रहेको र फिल्डबुकसमेत बनिसकेको जग्गा पुरीले हडपेको दमकमा बुधबार पत्रकार सम्मेलन गरेर जग्गाधनीहरूले बताए।

२०४२ सालमा रतुवा नदीमा आएको बाढीका कारण आफूहरू विस्थापित भएको उनीहरूको भनाइ छ। यो खबर आजको नागरिक दैनिकमा झापाबाट युवराज विवसले लेखेका छन्।

२०३६ सालमा नुवाकोटबाट बसाइँ सरेर बालुवाटारमा बस्दै आएका तसरमान श्रेष्ठ विस्थापित हुनेमध्येका एक हुन्। उनको चार कट्ठा पाँच धुर जग्गा पनि बगर बन्यो। उनी बसाइँ सरेर दमक–९ मा पुगे। पछि रतुवा नदीमा तटबन्ध बन्यो। उनको जग्गा निस्कियो। उनले आफ्नो जग्गामा कटेरो बनाउने निर्णय गरेर काम थाले पनि पूरा गर्न पाएनन्।

‘कटेरो बन्दै थियो,’ उनले भने, ‘तर पुरीले मान्छे लगाएर कटेरो जलाइदिए।’ उनले जग्गा फिर्ता लिन अनेक प्रयास त गरे तर सम्भव भएन। ‘मैैले भोगचलन गर्दै आएको जग्गाको फिल्डबुकसमेत बन्यो तर सुकुमबासी आयोगले धनी पुर्जा दिने बेला पुरीले जग्गा हडपे,’ उनले भने, ‘तर अहिले आएर जग्गा फिर्ता दिन नसक्ने, सट्टामा केही नगद दिने भनेर टारे पनि अहिलेसम्म त्यसबारे केही टुंगो लागेको छैन।’

त्यही बाढीले आफ्नो १२ कट्ठा जग्गा बगर बनाएपछि बालुवाटारका टेकबहादुर लिम्बूको परिवार विस्थापित भयो। खोलामा बाँध बाँधियो, जग्गा निस्कियो। पुरानै जग्गामा बस्न भनेर पनि गएका उनी जग्गा हडपिएको चाल पाएपछि आश्चर्यमा परे।

‘त्यो जग्गा त पुरीजीले कब्जा गरिसकेको रहेछन्,’ लिम्बूका छोरा मनप्रसादले भने, ‘अहिले आएर जग्गाको एक लाख रुपैयाँ दिन्छु भनेका छन् तर हामीले मानेका छैनौं।’ पैसाभन्दा पनि जग्गा फिर्ताको माग आफूहरूको भएको उनले बताए। लिम्बू परिवार अहिले जग्गानजिकै भाडामा बस्दै आएको छ।

सञ्जीव मगरकी आमा विष्णुमाया मगरका नाममा तीन कट्ठा १९ धुर जग्गा बालुवाटारमै थियो। २०३९ सालमा उक्त जग्गाको फिल्डबुक पनि भएको हो। उनीहरूलाई पनि बाढीले लखेट्यो। पछि उक्सिएको त्यस जग्गामा पनि पुरीले नै कब्जा जमाएको सञ्जीवले बताए।

अर्का पीडित बुद्धिमान माझीको त्यही ठाउँमा तीन कट्ठा जग्गा थियो। तर उनलाई पुरीले १२ धुर मात्रै दिएका छन्। जम्मा ८२ परिवारले भोगचलन गरेको जग्गा पुरीले नम्बरी बनाएको आरोप छ।

उनीहरूको दाबीअनुसार ११ बिघा जग्गा पुरीले नापी र मालपोतका कर्मचारीलाई प्रभावमा पारेर किर्ते गरेका थिए। पुरीविरुद्ध गत मंसिर १७ गते सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा जिल्ला अदालत झापाले पक्राउ पुर्जी जारी गरेको थियो। उनी अहिलेसम्म फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .