ad ad

छापा खबर


सिन्धुपाल्चोक बस दुर्घटनामा बचेकी यी बालिका कसकी? परिन् अलपत्र

सिन्धुपाल्चोक बस दुर्घटनामा बचेकी यी बालिका कसकी? परिन् अलपत्र

नेपालखबर
पुस १, २०७६ मंगलबार ३:२५,

दुर्घटनाका घाइतेलाई ल्याइएको वातावरणबीच ७ महिने बालिका रोइरहेकी थिइन्।

आइतबार सिन्धुपाल्चोकको स्वाँरामा भएको बस दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीयले १५ घाइतेलाई ६ किलोमिटर तल बलेफीस्थित सिन्धु सदावहार अस्पतालमा पुर्‍याएका थिए।

स्वास्थ्यकर्मी र आफन्तको सल्लाहसँगै घाइतेहरूको अवस्थाअनुसार सबैलाई धुलिखेल र काठमाडौंका अस्पताल पठाइयो।

घाइतेसँगै ल्याइएकी बच्ची कसको भन्ने खुलेन, न कोही आफ्नो भन्दै लिन आयो । आइतबार उनी कसैसँग मानिरहेकी थिइनन्। केही दिनअघि सुत्केरी भएकी सुनकोसी–७ माझीगाउँकी सुनीता माझी त्यही बेला हेर्न आइपुगिन्।

स्वास्थ्यकर्मीले बोतलबाट दूध पिलाउन खोजिरहेका थिए। बच्चीले खान मानिनन्। बच्चाले आमाकै दूध खोजेको बुझेपछि माझीले काखमा लिइन् र आफ्नो दूध चुसाउन थालिन्। बच्चीले दूध चुसिन्। माझीका हातमा पर्नेबित्तिकै शान्त भइन्।

उनलाई यतिबेला बाल स्याहार कक्षमा राखिएको छ। सोमबार साँझसम्म उनलाई लिन कोही पुगेका छैनन्। नजिकै घर भएकाले दूध चुसाउन माझी बेलाबेला अस्पताल आउँछिन्।

‘शिशुको अवस्था एकदमै राम्रो छ,’ अस्पतालकी नर्स लक्ष्मी विकले भनिन्, ‘उनी हामीसँगै मजाले खेलिरहेकी छन्।’ आमाबाट पाउने सम्पूर्ण स्याहार आफूहरूले दिएर ध्यान दिइरहेको उनले बताइन्। यो खबर आजको कान्तिपुरमा अनिश तिवारी (सिन्धुपाल्चोक)ले लेखेका छन्।

दुर्घटनाका घाइते पहिचान खुल्नु र मृतकहरूको सनाखतपछि यी बालिका बसचालक सुमन तामाङकै हुनुपर्ने निष्कर्ष प्रहरीको छ। बस पल्टिने अवस्थामा पुगेपछि तामाङ हाम फालेर भागेको घाइतेले बताएका थिए । उनी फर्किएर आएका छैनन्।

कालिञ्चोक दर्शन गरेर फर्किरहेकाहरू सवार तीव्र गतिमा गुडिरहेको बस लामोसाँघु–जिरी सडकको स्वाँरा मोडमा आइपुगेपछि घ्याच्चघ्याच्च गर्न थाल्यो । ब्रेकबाट धूवाँ निस्कियो । यात्रुहरू अत्तालिए । टायरमा हावा कम भएर ब्रेक र स्टेरिङ साह्रो भएको भन्दै चालक तामाङले यात्रुलाई आश्वस्त पार्न खोजे, तर बस रोकेनन् । गाडी अनियन्त्रित भएपछि उनी आफूलाई जोगाउन सिट छाडेर बाहिर हाम फाले । सडक छाडेर बस खस्यो ।

दुर्घटनामा ज्यान गुमाउने १५ जनामध्ये चालक तामाङकी श्रीमती सुनीता पनि छिन् । उनीसँगै रहेकी सातमहिने छोरी यतिबेला अस्पतालको बाल स्याहार कक्षमा आफन्तको पर्खाइमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .