छापा खबर


चीनबाट ल्याइँदै दुधालु गाई, मूल्य एउटाको चार लाख

चीनबाट ल्याइँदै दुधालु गाई, मूल्य एउटाको चार लाख

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ३:११,

सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ।

पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि चिनियाँ गाई भित्र्याउने पहल भएको थियो। पशुसेवा विभाग र पशु विज्ञहरूले चिनियाँ गाई नेपाली हावापानी अनुकूल नभएको निष्कर्षसहित सुझाव दिएपछि सरकार पछाडि हटेको थियो।

यसपटक भने प्रदेश सरकारमार्फत चिनियाँ गाई ल्याउन लागिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।

नेपालमा उन्नत जातका चिनियाँ गाई भित्र्याउने परियोजनाका लागि चीनले ३२ अर्ब रुपैयाँ अनुदान दिन लागेको छ। अनुदान रकम चीनले नेपाललाई प्रतिबद्धता गरेको सहायता रकमबाटै कट्टा गरिनेछ। प्रदेश सरकारमार्फत कार्यान्वयन गर्न लागिएको परियोजनाअन्तर्गत चीनबाट १७ हजार ‘होलेस्टिन फ्रिजियन’ जातका गाई ल्याइनेछ।

नेपालमा विदेशी गाईबस्तु असफल भएको पृष्ठभूमि छ। २०३३ मा पनि कृषि क्रान्ति भन्दै ‘कृषि–वर्ष’ मनाउने क्रममा भारतबाट गाई, साढे, भैंसी, राँगा, बोका, बाख्रा, भेडा, गधालगायत भित्र्याउन भन्दै ठूलो रकम खर्च गरिएको थियो।

तर, ती कुनै पनि पशु नेपालको हावापानी अनुकूल नभएपछि राज्यको ठूलो लगानी खेर गएको थियो। त्यति बेला कर्मचारी र मन्त्रीको मिलेमतोमा रकमको चरम दुरुपयोग भएको २०३४–२०३५ को महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

विमानबाट ढुवानी गरी चिनियाँ गाई नेपाल ल्याइपुर्‍याउँदा एउटाको मूल्य चार लाख रुपैयाँ पर्छ। एकपटकमा चार सयसम्म गाई ल्याउन सकिने बताइएको छ।

चीनबाट ल्याइने होलेस्टिन फ्रिजियन जातको गाईको गाई उत्पादन केन्द्र (ब्रिडिङ फार्म) मा गाई र साँढे (बहर) वितरण गरिनेछ।

सार्वजनिक निजी साझेदारीमा सञ्चालन हुने यस्ता फार्मबाट उत्पादन गरिएका गाई देशभर पुर्‍याइनेछ। चिनियाँ अनुदान सहयोगमा सञ्चालन हुन लागेको यो परियोजना कार्यान्वयन सुरु भएको चार वर्षसम्मका लागि हो। त्यस अवधिमा मुलुकका अधिकांश स्थानमा होलेस्टिन फ्रिजियन जातका गाई वितरण भइसक्ने दाबी सरकारको छ।

परियोजना पहिलोपल्ट प्रदेश ३ सरकारले कार्यान्वयन गर्नेछ। यसका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सक्रियता देखाएका छन्। उनी दुग्ध विकास बोर्डको अध्यक्ष हुँदादेखि नै यो परियोजनातर्फ लालयित थिए। प्रदेश सरकारले ब्रिडिङ फार्म सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै छ।

नेपालमा २२ लाख दूधालुु गाई छन्। यसमध्ये दैनिक १० लिटर दूध दिने जर्सी र होलेस्टिन जातको पाँच लाख गाई छन्। बाँकी औसत करिब तीन लिटर दूध दिने स्थानीय जातका गाई छन्।

स्वदेशमा दैनिक झन्डै पाँच लाख लिटर दूध उत्पादन भइरहेको छ। दूध उत्पादनमा २० हजार प्रत्यक्ष रोजगारी र पाँच लाख किसान प्रत्यक्ष संलग्न छन्। झन्डै एक हजार आठ सय दुुग्ध सहकारीमार्फत दूध संकलन गरी डेरी उद्योग सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad