छापा खबर


शुल्क समायोजनप्रति विद्यार्थी असन्तुष्ट, परीक्षा बहिष्कार गरेर आन्दोलन चर्काउने तयारी

शुल्क समायोजनप्रति विद्यार्थी असन्तुष्ट, परीक्षा बहिष्कार गरेर आन्दोलन चर्काउने तयारी

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ०:७,

अतिरिक्त शुल्क समायोजन गर्ने सरकार र मेडिकल कलेज सञ्चालकहरूको सहमतिप्रति असन्तुष्टि जनाउँदै चिकित्साशास्त्रका विद्यार्थीले बुधबार आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन्।

शैक्षिक सत्र ०७५ भन्दा पछिको मात्रै शुल्क समायोजन गर्ने बुँदामा विद्यार्थी असहमत भएका हुन् । एमबीबीएस र बीडीएसको मात्रै शुल्क समायोजन गर्ने सहमतिप्रति पनि विद्यार्थी असन्तुष्ट रहेका खबर कान्तिपुरले छापेको छ।

 सहमतिको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थीले भरतपुरमा प्रदर्शन गरेका छन्।

चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडेरियाले सरकारले विद्यार्थीलाई झुक्याउन कलेज सञ्चालकहरूसँग सम्झौता गरेको जनाए।

संघर्ष समितिले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी आन्दोलनलाई अझै सशक्त पार्ने जनाएको छ । ‘विद्यार्थीसँग बढी शुल्क लिएको प्रशस्त प्रमाण हुँदाहुँदै सरकारले मेडिकल कलेज सञ्चालकलाई संरक्षण गरेको देखियो,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी पक्षलाई छलफलमा नराखी माफियाकै प्रलोभनमा परेर गरिएको निर्णय मान्य हुँदैन।’

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीले मंगलबार गरेको एकपक्षीय निर्णय आफूहरूलाई मान्य नहुने उनीहरूले बताएका छन्।

‘आन्दोलनरत विद्यार्थीको सहभागिताबिनै गरिएको सहमति मान्दैनौं,’ चितवन मेडिकल कलेजका छात्र सुदन अधिकारीले भने । उनले ०७५ भन्दाअघि पनि विद्यार्थीसित लाखौं अतिरिक्त रकम उठाइएको हुनाले त्यसपछिको मात्र समायोजन गर्नुको अर्थ नरहेको बताए ।

विद्यार्थीले नर्सिङ, पब्लिक हेल्थ, ल्याब टेक्नोलोजी, फार्मेसीलगायत चिकित्सा शिक्षाका सबै विषयको अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad