छापा खबर


अनुत्तीर्ण हुनेलाई सवारी लाइसेन्स दिने यातायातका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनुत्तीर्ण हुनेलाई सवारी लाइसेन्स दिने यातायातका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १:५,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले तत्कालीन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेल, हाल अवकाशप्राप्त इन्जिनियर वासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) नवराज थापा, शाखा अधिकृतहरू राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, धर्मराज ढुंगाना (हाल उपसचिव), बाबुलाल रेग्मी (हाल उपसचिव) लगायतविरुद्ध मुद्दा दायर गरेको आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यातायात व्यवस्था कार्यालयले २०६९ वैशाख, जेठ र असारमा सञ्चालित प्रयोगात्मक परीक्षामा अनुत्तीर्णलाई पनि उत्तीर्ण गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

सवारी चालक अनुमतिपत्रमा अनुत्तीर्ण भएका १ हजार २ सय ८४ जनालाई लेनदेन गरेर लाइसेन्स दिएको अनुसन्धानमा खुल्न आएपछि अख्तियारले आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

कार्यालय प्रमुख आनन्द केशरी पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ग), दफा १२ र दफा १३ बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकाले बिगो रकम ८ लाख ५९ हजार ५ सय ५० रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी बिगोको दोब्बर जरिमाना कायम गरेर मुद्दा दायर गरिएको हो।

पोखरेलमाथि प्रयोगात्मक परीक्षामा फेल भएकालाई पास जनाएर निर्णय गरेको र एकपटक फेल भइसकेकालाई प्रयोगात्मक परीक्षा (ट्रायल) दिएको तीन महिना नपुग्दै पुनः परीक्षामा समावेश गराएको, ट्रायल परीक्षामा तथा परीक्षा समितिको निर्णयमासमेत फेल जनाइसकेकाको नतिजामा अन्यथा हुन गएको भनी दस्तखत गरी नतिजामा फेरबदल गरी पास गर्ने निर्णय गरेको आरोप छ।

उनीविरुद्ध फेल भएको परीक्षार्थीलाई पास बनाएर परीक्षा परिणाम फेरबदल गरी अनुमतिपत्र दिएको अभियोग छ।

त्यस्तै, अख्तियारले अवकाशप्राप्त इन्जिनियर वासुदेव पोखरेललाई ३ लाख ४६ हजार ७ सय ५०, प्रहरी निरीक्षक मुरारी मिश्रलाई २४ हजार ३ सय, हालका प्रहरी नायब उपरीक्षक नवराज थापालाई २४ हजार ९ सय, अवकाशप्राप्त शाखा अधिकृत राममणि पोखरेललाई ३५ हजार ९ सय, निलम्बित शाखा अधिकृत ईश्वरराज रेग्मीलाई ३० हजार, अधिकृत शम्भुप्रसाद थपलियालाई ११ हजार १ सय, हालका उपसचिव धर्मराज ढुंगानालाई ३ हजार २ सय र हालका उपसचिव बाबुलाल रेग्मीसँग ७ सय रुपैयाँ बिगो रकमसहितको मुद्दा दायर भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .