छापा खबर


यी हुन् काम नगर्ने अर्का ठेकेदार, स्थानीयले गाडीमा टाँसे फोटो

यी हुन् काम नगर्ने अर्का ठेकेदार, स्थानीयले गाडीमा टाँसे फोटो

नेपालखबर
मंसिर १, २०७६ आइतबार २:१०,

दोलखामा पनि ठेक्का लिएर समयमै सडक निर्माण नगर्ने ठेकेदारको तस्बिर गाडीमा टाँसेर विरोध सुरु गरिएको छ।

खाडीचौर–चरिकोट सडक अन्तर्गत मुडे–चरिकोट सडकखण्डको स्तरोन्नतीमा बेवास्ता गर्ने ठेकेदार दिपक सापकोटाको फोटो सार्वजनिक सवारी साधनमा टाँसी विरोध गर्न सुरु गरिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दोलखाबाट रवीन्द्र गौतमले लेखेका छन्।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले चार वर्ष बितिसक्दा पनि कालोपत्रे नगरेकोले ठेकेदारलाई नैतिक दबाव दिन दोलखा जिल्लाका स्थानीयले सार्वजनिक तथा निजी सवारी साधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसी विरोध गर्न गरेका हुन्।

स्थानीयले स्वस्फूर्त खर्च संकलन गरेर काम नगर्ने ठेकेदारलाई सबैले चिनुन् र थप नैतिक दबाव परेर सडक निर्माणमा चासो राखुन् भन्ने उद्देश्यले ठेकेदार कम्पनीका मालिकको फोटो टाँसी विरोध गरेका हुन्।

शंकरमाली निर्माण सेवाका प्रोप्राइटर दिपक सापकोटाको फोटोसहितको ब्यानरमा ‘कालोपत्रे सहितको बाटो कहिले बन्छ? चार वर्षसम्म बाटो किन बनेन?’ भनेर प्रश्न गरिएको नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए।

उद्योग वाणिज्य संघ, होटल व्यवसायी, पर्यटन व्यवसायी, फेन्सी संघ, इलेक्ट्रिक संघ लगायतका संघले अरनिको यातायात, रोल्वालिङ यातायात तथा निजी सवारी साधनमा विरोध स्वरुप फोटो टाँसेका हुन्।

ठेकेदार सापकोटाले मुडे–चरिकोट सडकखण्डको ३० किलोमिटर सडक दुई लेनको कालोपत्रेसहित दुई वर्षमा सक्ने गरी २०७२ भदौमा सम्झौता गरेका थिए।

सम्झौता अवधि नाघेर थप गरिएको म्याद नाघेको पनि डेढ वर्ष भइसक्यो। काम भने ६० प्रतिशत मात्र भएको छ।

यस अघि थपेको म्यादमासमेत सडकको निर्माण कार्यले उल्लेख्य प्रगति गर्न नसकेपछि सडक डिभिजन कार्यालय चरिकोटले मुडे–चरिकोट सडकखण्डको ठेकेदार सकिल हेदर–शंकरमाली–सुनौला खिम्ति जेभीलाई दैनिक करिब चार लाखको दरले हर्जना तोकेको थियो।

३ जिल्लाका यात्रुले प्रयोग गर्ने खाडीचौर–चरिकोट सडकको विभिन्न खण्डमा ठूला–ठूला खाल्डा तथा धुलाम्मे हुँदा दैनिक हजारौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्नु परिरहेको थियो।

ठेकेदार कम्पनीको चरम लापरवाही, परामर्शदाताको गलत नियत र सडक डिभिजन कार्यालय चरिकोटको बेवास्ताका कारण काठमाडौँदेखि चरिकोटसम्मको १३३ किलोमिटरको दूरी तय गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad