करिब दुई महिनाअघि अन्तर्जातीय प्रेम–विवाह गरेकी एक दलित युवतीको बिचल्ली भएको छ।
कथित तल्लो जातकी युवती भन्दै पति वरुणकुमार मण्डललाई घरका सदस्यले भगाएपछि २२ वर्षीया सुनीता रामको बिचल्ली भएको हो।
अन्तर्जातीय प्रेम–विवाह गरेकी सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीकी सुनीता पतिको घरमा बस्न नपाएपछि गोठमा बस्न बाध्य छिन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा लहानबाट मणिलाल विश्वकर्माले लेखेका छन्।
गोठमा आश्रय लिइरहे पनि दलित भन्दै आफूलाई लेखेट्न दिनहुँ कुटपिट भइरहेको सुनीताको गुनासो छ । ‘घरमा बस्न नदिएपछि पतिको घरको आँगनसँगै जोडिएको गोठमा बस्दै आएकी छु,’ उनले भनिन्, ‘सासू रेखादेवी मण्डलसहित घरका अन्य सदस्यले दिनहुँ कुटपिट गर्दै आएका छन्।’
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी नायब निरीक्षक हिरालाल यादवले युवतीको ज्यान तलमाथि नहोस् भन्ने उद्देश्यले सुरक्षाका लागि दैनिकजसो प्रहरी पठाइरहेको बताए।
बङठियाका गाउँलेले घरका सदस्यले युवतीलाई कुटपिट गरेको खबर गरेलगत्तै प्रहरी पठाउने गरिएको यादवले जानकारी दिए।
फुपाजुको घरबाट भगाइए वरुणकुमार
प्रेम–विवाह गरी काठमाडौं भागेका सुनीता र वरुणलाई परिवारले बोलाएपछि उनीहरू घर फर्किएका थिए ।
‘घर फर्किएको दोस्रो दिनमै परिवार र आफन्तले घरबाहिर डेरा खोजेर राख्ने भन्दै फकाएर वरुणका फुपाजु गोलबजार नगरपालिका–१० बेतौनाका नन्दकुमार मण्डलको घर पु¥याए,’ सुनीताले भनिन्, ‘फुपाजुको घरमा बसेको दुई दिन नबित्दै पतिलाई कामको निहुँ देखाएर भगाए, त्यसपछि फर्किएका छैनन्।’
पतिलाई घरबाट भगाए पनि आफू गोठमा बस्ने गरेको र गाउँघरमा मागेर हातमुख जोड्दै आएको सुनीताको भनाइ छ।
तीन दिनअघि देवर अरुण मण्डल र सासू रेखादेवीले कुटपिट गरेर झोला फालिदिँदै गोठबाट समेत निकालिदिए पनि आफू फर्केर गोठमै आएको उनले बताइन्।

प्रतिक्रिया