आन्तरिक मुद्दाका विषयमा कांग्रेसमा विवाद चर्किंदै गएको छ।
भ्रातृ संस्था तरुण दलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्थापन र संस्थापनइतर पक्षीय नेताहरूको विवाद सतहमा देखिएको छ।
दलको स्थापना दिवसका अवसरमा आइतबार छुट्टाछुट्टै कार्यक्रम गरिए भने एक पक्षको कार्यक्रममा अर्काे पक्षका नेताहरू सहभागी भएनन्। दलका अध्यक्ष जितजंग बस्नेतले पार्टी केन्द्रीय कार्यालय सानेपामा र महासचिवबाट निष्कासित भूपेन्द्रजंग शाहीले सामाखुसीको एक पार्टी प्यालेसमा एउटै समयमा चियापान राखेका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका इतरपक्षीय अधिकांश नेताको दुवै तर्फका कार्यक्रमम सहभागी भएनन्।
अध्यक्ष बस्नेतले आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र वरिष्ठ नेता रामचन्द्र पौडेल विशिष्ट अतिथिका रूपमा आमन्त्रित थिए।
दुवै नेता आउने प्रचारसमेत भएको थियो तर देउवाका अतिरिक्त उभापसभापतिद्वय विजय गच्छदार, विमलेन्द्र निधि, सहमहामन्त्री प्रकाशशरणसहितका संस्थापनपक्षीय नेताको बाहुल्य थियो। याे खबर आजकाे कान्तिपुरमा कुलचन्द्र न्याैपानेले लेखेका छन्।
संस्थापनइतरका पक्षमा रहेका केन्द्रीय सदस्य धनराज गुरुङ र शिव हुमागाईंबाहेक संस्थापन इतरपक्षीय नेताहरू कोही पनि सानेपाको चियापानमा उपस्थित भएनन्। शाहीले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य रामशरण महत प्रमुख अतिथि थिए।
महाधिवेशनको तयारी, भ्रातृ संस्थाका अधिवेशन, विभाग, केन्द्रीय कार्यसम्पादन समिति, नेविसंघको पुनर्गठन र तरुण दलको विवादलगायत विषयमा पार्टीभित्र संस्थापन र इतरपक्षबीच विवाद बढ्दै गएको छ।

प्रतिक्रिया