नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफू ओरिजिनल माओवादी नभएको बताएका छन्।
नेकपा मोरङले चाडपर्वका अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा तत्कालीन एमाले र एकता केन्द्रबीच एकताको प्रसंग निकाल्दै भने, ‘म पनि ओरिजिनल मसाल र ओरिजिनल माओवादी होइन, चौथो अधिवेशनको मदन भण्डारी हो भन्न पनि चाहँदिनँ।’
दाहालले एकताको कुरा नटुंगिँदै भण्डारीको हत्या भएको बताए।
यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
‘०४६ सालमा तत्कालीन एमाले र एकता केन्द्रलाई मिलाउन मदन भण्डारीसँग छलफल भएको थियो,’ उनले भने, ‘पछि हामीले एकीकरणकै एजेन्डा बनाएर छलफल मिति, कार्यक्रम तय गरी खानेकुराको लिस्टसमेत बनाएका थियौं तर दुर्भाग्य उहाँको हत्या भयो र एकता हुन सकेन । एकता भएको भए देशलाई १००–५० वर्षअगाडि ल्याउन सकिन्थ्यो।’
अहिले पार्टी एकताको काम सोचेजस्तो अघि नबढेको भन्दै उनले असन्तुष्टि जनाए । तीन महिनामा एकता टुंग्याउने घोषणा गरिएको तर १७ महिना बितिसक्दा पनि नटुंगिएकोमा उनले दुःख व्यक्त गरे।
‘एकता अन्तिम चरणमा पुगेकाले अब एक दिन अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग ३–४ घण्टा लगातार छलफलमा बसेपछि निष्कर्षमा पुग्छौं,’ उनले भने, ‘क्षणिक स्वार्थ, समूहको स्वार्थ, व्यक्तिको चाहनामा नभई कार्यकर्ताको चाहना, जनताको चाहना, राष्ट्रिय र ऐतिहासिक आवश्यकताका आधारमा एकता भएकाले झिनामसिना कुरालाई थाती राखेर टुंग्याउनुको विकल्प छैन।’
जितहारको राम्रो अनुभव गरेका दुई पार्टीबीच विचार मिलेर एकता भएकाले यसलाई आँखाको नानीजस्तो माया गर्न उनले कार्यकर्तालाई आग्रह गरे।
उनले २१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवाद दुवै एउटै भएको बताए । मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई नेकपाको पुँजी बनाएर अहिलेको राजनीतिक प्रतिवेदन आएको उनले बताए । ‘मदन भण्डारी, जनयुद्ध, शान्ति सम्झौता र प्रचण्डलाई पार्टीको साझा सम्पत्ति बनाइएकाले अब एकताबद्ध भएर अघि बढौं,’ उनले भने।
Shares

प्रतिक्रिया