नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेको छ।
विभिन्न सञ्चार माध्यमबाट १३ गते भाइटीका भनी प्रचारप्रसार गरिएको भन्दै समितिले त्यसको पछि नलाग्न आह्वान गरेको हो।
समितिले आइतबार विज्ञप्ति प्रकाशित गरी भाइटीका कात्तिक १२ गते नै रहेको जनाएको छ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्ती अनुसार यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुनेछ।
कात्तिक ९ गते शनिबार कागतिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा र कात्तिक १२ गते मङ्गलबार गोवद्र्धनपूजा, यमद्वितीया, भाईटीका, किजापूजा र नेपालसंवत् मनाउनुपर्ने समितिले जनाएको छ।
समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वानसँगको राय सुझावपछि तिहार पर्वको सम्बन्धमा निर्णय गरेको हो।
‘केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचारप्रसार शास्त्रसम्मत छैन,’ सदस्य सचिव ढुंगेलले भने।
समितिले २०७७ सालको असोज महीनामा अधिकमास (मलमास) पर्ने जानकारी समेत गराएको छ। विभिन्न धार्मिक कृत्यका लागि एक वर्ष अघि नै मलमासको जानकारी आम मानिसलाई दिनुपर्ने भएकाले सार्वजनिक गरिएको ढुंगेलले बताए।
Shares

प्रतिक्रिया