महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ मा ‘जाम कहिले खुल्छ’ भन्दै दैनिक सयभन्दा बढी सडक प्रयोगकर्ताले सूचना माग्छन्। जवाफ एउटै हुने गर्छ– ‘सवारी साधनको चाप छ, हामी खुलाउँदै छौं।’
भक्तपुरबाट कोटेश्वर छिचोल्न कम्तीमा एक घण्टा लाग्छ। थापाथली हुँदै त्रिपुरेश्वरबाट कलंकी छिचोल्न ४५ मिनेट।
महाराजगन्ज, चावहिल र गौशालाको अवस्था पनि उस्तै छ। सडक प्रयोगकर्ताले सडकमा सास्ती नखेपेको कुनै दिन छैन। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन्।
महाशाखाका अनुसार देशभर कुल सवारी दर्ता संख्या ३५ लाख २९ हजार ५ सय ११ छ। यसमध्ये साबिक बागमती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४ सय १३ सवारी दर्ता छन्। तीमध्ये ६ प्रतिशत सार्वजनिक र निजी ११ लाख २ हजार छन्।
बागमतीमा दर्ता भएका मात्रै होइन, प्रायः सबै प्रदेशका सवारी उपत्यका भित्रिन्छन्। चाडपर्वबाहेक अन्य समयमा राजधानीका चार नाका नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङबाट गरी दैनिक लामा रुटका ३७ हजार ६ सय ८८ सवारी साधन भित्र–बाहिर गर्छन्।
उपत्यकामा सडक एक लेन ६ सय ६० किमि, तीन लेन २ सय ३९ र चार लेन १ सय ९३ किमि छन्। औसतमा प्रतिट्राफिक ९ सय सवारी व्यवस्थापन गर्नुपर्छ। प्रहरीले यति धेरै सवारीलाई भौतिक पूर्वाधार (बत्ती आदि) अभावमा सिठी फुकेर र हात हल्लाएरै व्यवस्थापन गर्दै आएको छ।
एकातिर सवारी साधनको अवस्था भयावह छ, अर्कातिर सडकको भौतिक पूर्वाधारको अवस्था दयनीय छ।
राजधानीका व्यस्त चोक कालिमाटी, थापाथली, त्रिपुरेश्वर, माइतीघर, सिंहदरबार, कोटेश्वर, गौशाला, चावहिल, केशरमहल, महाराजगन्ज (चक्रपथ) र पुतलीसडकमा राखिएका ट्राफिक लाइटले काम गर्दैनन्।
महानगरले व्यवस्थापन गर्न नसक्दा व्यस्त चोकका फुटपाथमा पसल असरल्ल राखिन्छन्। असहज फुटपाथका कारण पैदलयात्री सडकबाटै हिँड्छन्।
यति त भयो। यसमाथि पनि अर्को टड्कारो समस्या छ-पार्किङ। जथाभावी पार्किङ गर्ने प्रवृत्तिले सडक झन् अव्यवस्थित छ। राजधानीका मुख्य सडक त्रिपुरेश्वर, कोटेश्वर र थापाथलीमा सडक प्रयोगकर्ता धेरै जाममा पर्न बाध्य छन्।
सडकमा सकस यतिले मात्र गरेको छैन। सालिकका कारण पनि जाम हुने गर्छ। त्रिपुरेश्वरमा पूर्वराजा त्रिभुवनको सालिक छ।
कलंकी, थापाथली र रत्नपार्कबाट आएका सवारी चालकले सालिकको अर्धपरिक्रमा गर्नुपर्ने बाध्यता छ। चारैतिर ट्राफिक बसे पनि साँघुरो बाटो र अत्यधिक सवारी चापले ट्राफिकलाई सम्हाल्न हम्मेहम्मे पर्छ।
थापाथलीमा ट्राफिकले चार दिशाबाट आएका सवारी व्यवस्थापन गर्दै आएका छन्। ललितपुरवासी काठमाडौं भित्रिने र बाहिरिने मुख्य मार्ग पनि यही हो। यही रुट भएर साझा बस चल्दै आएको छ।
दुई लेनको सवारीमा साझाले ओगट्ने बाटो र त्योसँगै निजी अनि सार्वजनिक साना सवारीले व्यवस्थापनलाई झन्झटिलो बनाएको त्यहाँ खटिएका ट्राफिकको गुनासो छ। यो चोकमा एम्बुलेससमेत जाम फस्छन्।
Shares

प्रतिक्रिया