छापा खबर


रणनीतिक साझेदारी भनेको सैन्य गठबन्धन होइन : प्रधानमन्त्री

रणनीतिक साझेदारी भनेको सैन्य गठबन्धन होइन : प्रधानमन्त्री

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार १:५५,

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरिएको ‘रणनीतिक साझेदारी’ कुनै सैन्य वा राजनीतिक गठबन्धन नभएको, त्यो आर्थिक-सामाजिक विकासका निम्ति गरिएको साझेदारीमात्र भएको स्पष्ट पारेका छन्।

‘रणनीतिक साझेदारी भनेको कुनै सैन्य गठबन्धन होइन। यो कुनै राजनीतिक अलायन्स पनि होइन,’ प्रधानमन्त्री ओलीले कान्तिपुरका सम्पादक सुधीर शर्मा र पत्रकार दुर्गा खनालसँगको अन्तर्वार्तामा भनेका छन्,‘ ‘यो आर्थिक-सामाजिक विकासका लागि हो।’

यसभित्र शिक्षा, स्वास्थ्य र आर्थिक साझेदारीका विभिन्न पक्ष जोडिने उनले जानकारी दिए। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा दुई देशबीच रहँदै आएको ‘विस्तृत साझेदारी’ लाई ‘रणनीतिक साझेदारी’ को उचाइमा पुर्‍याउने प्रसंग छ। प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको भ्रमण पूर्ण रूपले सफल भएको र यो दुई देशको सम्बन्ध विस्तारमा कोसेढुंगासरह बनेको पनि बताए।
प्रधानमन्त्रीले अब भारतसँगको सम्बन्धलाई समेत रणनीतिक साझेदारीमा पुर्‍याइने जानकारी दिए। तर दुई छिमेकीसँग ‘टु प्लस वान’ अर्थात् ‘चीन-भारत प्लस नेपाल’ को प्रस्तावअनुसार भने सम्बन्ध अगाडि नबढ्ने उनको स्पष्ट बुझाइ छ।

‘टु प्लस वान होइन, थ्री नै हो । (हामीले) किन टु प्लस वान मान्ने ?’ प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे। चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत वर्ष चीनको वुहानमा र हालै भारतको मामल्लापुरमा भएका दुइटा अनौपचारिक शिखर सम्मेलनमा नेपाली मामिला ‘टु प्लस वान’ का आधारमा हेर्ने सूत्र अगाडि सारिएको सञ्चार माध्यममा चर्चा चलेको थियो ।

ओलीले यस्तो अवधारणा अस्वीकार्य रहेको जनाउँदै नेपालले चीन र भारतसँग बराबरी हैसियतको त्रिदेशीय साझेदारी चाहेको पनि स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले मुलुक सानो भए पनि हैसियत समान हुने उल्लेख गर्दै दुई छिमेकीसँग समानताका आधारमा मित्रतापूर्ण सम्बन्ध चाहेको बताए।

‘सिंगापुर सानो छ, एउटा टापु हो तर टु प्लस वान भनेर मान्छ कसैसँग रु मान्दैन,’ उनले भने, ‘हाम्रो हकमा पनि त्यस्तै हो । हामीबीच टु प्लस वान होइन, अब त्रिपक्षीय साझेदारीमा विकासका साझा प्रयास र सहकार्य हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad