छुट्टाछुट्टै समूहमा विभाजित मगर संघ हङकङ एक भएको छ।
आइतबार ब्लु ओसन रेस्टुरेन्टमा भएको ‘मगर एकताको अधिवेशन’बाट हङकङका मगरहरू एक भएका हुन्।
१४ नोभेम्बर २०२१ मा भएको १०औँ महाधिवेशनपछि मगर संघ दुई खेमामा बाँडिएको थियो।
यो अधिवेशनपछि हेमराज थापा मगर र हर्क राना मगरको अध्यक्ष रहेको दुई खेमा अस्तित्वमा आएका थिए।
उक्त (१०औँ) अधिवेशनमा अध्यक्षको उम्मेदवारको योग्यतालाई लिएर विवाद बढेपछि पूर्वउपाध्यक्ष हर्क राना र पूर्व सल्लाहकार हेमराज थापाको नेतृत्वमा संघ दुई समूहमा विभाजित भएको थियो।
मगर संघ हङकङको विधानमा अध्यक्षको उम्मेदवार बन्न कार्यसमिति पदाधिकारी भई एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था भएकोमा हेमराज थापा सल्लाहकार मात्रै रहेकोले उम्मेदवार बन्न अयोग्य भनी उजुरी परेको थियो।

उजुरीउपर कारवाही हुँदा निर्वाचन समितिले विधानत: उम्मेदवारी हुन योग्यता नपुगेको निर्णय सुनाएपछि विवाद बढेको थियो।
विवादका बीच थापा समूहले छुट्टै निर्वाचन गरी अध्यक्ष भएको घोषणा गरेको थियो भने अर्कोतर्फ हर्कप्रसाद राना मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो।
सग्लो संघ दुई खेमामा विभाजित भएपछि के संघमा मिलेर जानुपर्ने आवाज उठ्न थाल्यो र वि.सं. २०७९ मा नेपाल मगर महिला संघकी विदेश सचिव निता थापा मगरको संयोजकत्वमा एकता संयोजन समिति बन्यो।
समितिले दुई पक्षबीच विभिन्न समयको वार्ता र भेटघाटपछि १९ जुन २०२३ मा चुमलुङ हिलमा पत्रकार सम्मेलन गरी एकता विशेष अधिवेशन आयोजक समिति घोषणा गरेको थियो।
राजु पुन संयोजक तोकिएको उक्त समितिलाई तीन महिनाभित्र एकता अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी तोकिएको थियो। यति कार्य अघि बढ्दासम्म पनि दुई पक्षबीच मिलन भने भएन।
आफूलाई संस्थापन पक्ष भन्ने समूहले आफू हङकङ सरकारको सोसियल अर्डिनेन्स अन्तर्गत दर्ता भएकोले अधिवेशन गर्ने अधिकार आफ्नो मात्र रहेको सार्वजनिक अभिव्यक्ति दियो।

यति भइकन पनि एकता समितिको एक वर्षसम्मको कसरतले २०२३ को जुलाईमा दुवै समूहका अध्यक्षले राजीनामा दिने तथा दुवै कार्यसमिति निस्क्रिय बनाई एकता अधिवेशन गर्ने सहमति जुटायो।
यसैलाई सहमतिलाई टेकेर २२ अक्टोबर २०२३ (५ कात्तिक २०८०) मा एकता अधिवेशन भन्दै विशेष अधिवेशन गरेर याम बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भयो।
एकता अधिवेशन त भयो तर हङकङका मगरहरूको एकता चाहिँ हुन सकेन। एकता अधिवेशन कागजमा मात्र सीमित रहन पुग्यो।
त्यो कागजी एकतालाई वास्तविक एकतामा कायम गराउन मगर संघ हङकङले फेरि हिजो (१७ नोभेम्बर २०२५)मा एकता अधिवेशन गरेको छ।
‘मगर संघ हङकङको त अघिल्लो साल नै एकता भएको होइन?’ ‘मगर एकताको अधिवेशन’ ब्यानरमा कार्यक्रम गरिएपछि नेपालखबरले काठमाडौँबाट संघको महिला विभाग पूर्वउपाध्यक्ष जुनु दिव्य रानालाई प्रश्न गरेको थियो।
नेपालखबरको प्रश्नमा पूर्वउपाध्यक्ष राना भन्छिन्, ‘हो, तर त्यो एकता नाममा मात्र सीमित हुन पुग्यो। कार्यान्वयन भएन। अहिले चाहिँ मगर संघको एकता भएको छ।’

अहिले चाहिँ एकता नै भयो भन्ने सुनिश्चितता के छ त? अर्को प्रश्नमा रानाको जवाफ छ, ‘अहिले चाहिँ दुई समूह नै एक ठाउँमा आएर अधिवेशन गरेकोले यो कार्यान्वयन हुन्छ भन्ने विश्वास छ।’
यति मात्र होइन, गएको तिहारमा पनि एकताको सन्देश दिने गरी दुवै समूहले संयुक्त कार्यक्रम आयोजना गरेको राना बताउँछिन्।
आइतबार गरिएको संघको ‘मगर एकताको अधिवेशन’ले कार्यकारी अध्यक्ष, अध्यक्ष, वरिष्ठ उपाध्यक्षदेखि सदस्यसम्म १७ जनाको निर्विरोध कार्यसमिति चयन गरेको छ।

जसको कार्यकारी अध्यक्षमा प्रेम थापा मगर, अध्यक्ष रविन्द्र थापा मगर, वरिष्ठ उपाध्यक्ष निता थापा मगर, उपाध्यक्ष पवित्रा सारु मगर, महासचिव झलक थापा मगर, निर आले मगर, कोषाध्यक्ष ललिता श्रीस मगर, सहकोषाध्यक्ष विशाल थापा मगर चुनिएका छन्।
त्यस्तै, सदस्यहरूमा शालिग्राम थापा मगर, वसन्त थापा मगर, एकराज थापा मगर, रमेश राना मगर, नविन थापा मगर, जगत थापा मगर, लिलिकुमारी थापा मगर, शक्तमान बुढाथोकी मगर र मिना पुन मगर चयन भएका छन्।
Shares

प्रतिक्रिया