जापानमा चिनियाँ नागरिकमाथि आक्रमण बढेको भन्दै हङकङका अधिकारीले बासिन्दाहरूलाई सावधानी अपनाउन र व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन्।
बेइजिङले चिनियाँ नागरिकलाई जापानको यात्रा नगर्न भनेको एक दिनपछि शनिबार हङकङको सुरक्षा ब्युरोले पनि अपिल जारी गरेको हो।
‘२०२५ को मध्यदेखि जापानमा चिनियाँ नागरिकविरुद्ध आक्रमणका घटना बढ्दै गएका छन्,’ ब्युरोद्वारा जारी गरिएको यात्रा अलर्टमा भनिएको छ।
जानै परेको अवस्थामा वा पहिले नै त्यहाँ रहेका बासिन्दालाई सावधानी अपनाउन, व्यक्तिगत सुरक्षामा ध्यान दिन, पछिल्लो अवस्थाको बारेमा स्थानीय घोषणा र जापानस्थित चिनियाँ दूतावास वा कन्सुलर जनरलबाट जारी हुने कन्सुलर सेवाको सूचनामा ध्यान दिन ब्युरोले भनेको छ।
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार राति चेतावनी जारी गर्दै चिनियाँ पर्यटकलाई जापानको यात्रा नगर्न आग्रह गरेको थियो।
जापानी प्रधानमन्त्री सनाइ तकाइचीको ताइवानसँग सम्बन्धित टिप्पणीलाई लिएर विवाद बढिरहेको बेला हङकङ र चीनको पछिल्लो कदम बाहिर आएको हो।
Shares

प्रतिक्रिया