‘मलाई सगरमाथामा पाइला टेकेर फर्किएको सम्झँदा सपना जस्तो लागिरहेको छ।’
यो भनाइ हो १८ मे बिहान सगरमाथामा शिखर चुमेका हङकङका राज गुरुङको।
सगरमाथा शिखरमा हङकङका दुई नेपालीले एकै दिन शिखर चुमेका थिए। उनीहरू शिखर चुम्ने हङकङकै पहिलो नेपाली हुन्।
राजले १८ मे बिहान १० बजे शिखर चुमेका थिए भने सोही दिन ६ घण्टाअघि अर्थात् बिहान ४:१० बजे चन्द्रकला (अन्जला) राईले सगरमाथा शिखरमा पाइला राखेकी थिइन्।
सगरमाथाको सफल आरोहणपश्चात् हङकङ आइपुगेका राजको सम्मानमा हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (एचकेनुट्रा)ले आइतबार सिङमुन कन्ट्री पार्कमा सम्मान कार्यक्रम राखेको थियो।
सोही क्रममा बोल्दै गुरुङले आफूलाई अझै पनि सगरमाथा पुगेर फर्किएको सपना जस्तै लागेको बताएका हुन्।

उक्त अवसरमा आरोही गुरुङले आफूले चाह्यो भने जस्तोसुकै कठिनाइ पनि पार गर्न सकिँदो रहेछ भन्ने उदाहरण आफैँ बनेको बताएका थिए।
गुरुङको हिमाल आरोहण यात्रा लामो छैन। सन् १९६६ मा हङकङ टेकेका उनी पहिलो पटक २०२२ मा नेपाल फर्कने क्रममा नगरकोट घुम्न जाँदा त्यहाँबाट देखिएको हिमालको पानारोमिक दृश्यबाट हिमालप्रति मोहित बनेका थिए।
यसपछि सानातिना हिमाल चढ्दै अनुभव बटुलेका उनले अहिले सगरमाथाकै सफल आरोहण गरेका हुन्। उनले विश्वका सातै वटा महादेशका अग्ला हिमाल चढ्ने लक्ष्य राखेका छन्।
उनमा हिमाल चढ्ने आँट भने हाइकिङले दिएको हो। हाइकिङ गइरहने स्वभावका उनी आफूलाई हाइकिङले नै साहसिक बनाएको बताउँछन्।

आइतबारको सम्मान कार्यक्रममा एचकेनुट्राले गुरुङलाई ताम्रपत्रसहित सम्मान गरेको छ। मासिक हाङकिङको १३औँ संस्करण एवं वार्षिकोत्सवका अवसरमा एचकेनुट्राले उनलाई सम्मान गरेको हो।
समारोहमा उनीसँगै सगरमाथा बेस क्याम्पसम्म आरोहणमा साथ दिएका विनोद गुरुङलाई पनि सम्मान गरिएको थियो। एचकेनुट्राका अध्यक्ष वेदराज लिम्बुले गुरुङद्वयलाई सम्मान पत्र प्रदान गरेका थिए।
बिहान ९ बजे ताइपो रोडबाट हाइकिङ गरी सुरु भएको कार्यक्रम सम्मान हुँदै बीबीक्यूसहित समापन भएको थियो।
Shares

प्रतिक्रिया