हङकङमा राज बने सगरमाथा चढ्ने पहिलो नेपाली पुरुष, सातै महादेशका अग्ला हिमाल चढ्ने लक्ष्य

हङकङमा राज बने सगरमाथा चढ्ने पहिलो नेपाली पुरुष, सातै महादेशका अग्ला हिमाल चढ्ने लक्ष्य

राज गुरुङले १८ मे बिहान १० बजे सगरमाथा शिखर चुमेका हुन्


मगेन्द्र राई
जेठ १३, २०८२ मंगलबार १८:५९, हङकङ

कतिपय यात्रा गन्तव्य नपुग्दै सकिन्छन् त कतिपय विनायोजना तय हुन्छन्। यस्तै विनायोजनाको तर अर्थपूर्ण यात्रा भएको हङकङवासी राज गुरुङको। ५२ वर्षीय गुरुङले सगरमाथाको शिखर चुम्ने कल्पना कहिल्यै गरेका थिएनन्। तर, यही कहिल्यै नकल्पेको यात्रा उनले केही दिनअघि सर्वोच्च शिखर चुमेर गरे। व्यवसायी गुरुङ सगरमाथा आरोहण गर्ने हङकङका पहिलो नेपाली पुरुष हुन्। उनले १८ मे बिहान १० बजे शिखर चुमेका थिए।

हिमालको सुन्दरताले लोभ्याएपछि आरोहण सुरु
सन् १९९६ मा हङकङ टेकेका गुरुङ २०२२ मा मात्र नेपाल फर्किए। सोही बेला नगरकोट घुम्न जाँदा त्यहाँबाट हिमालको पानारोमिक भ्यु देखेपछि उनी नजानिँदो किसिमले हिमालको प्रेममा परे।

आफूलाई प्रकृतिप्रेमी ठान्ने गुरुङ एकै नजरमा हिमालसँग नजिकिए। हजारौँ कोस टाढा रहेको हिमाल कसरी पुग्न सकिएला भन्ने उनको मनमा कौतुहलता जाग्यो। अनि, त्यसको खोजीमा लागे।

हङकङमा आउटडोर एक्टिभिटी, हाइकिङ आदि गरिरहने उनमा हिमाल चढ्न सक्ने आत्मविश्वास थियो। त्यसैले उनी त्यसको पूर्वतयारीमा जुटे। चीन गएर केही प्राविधिक कुरा सिके।
 
हिमाल चढ्नु ‘एक भयानक लत’
उनले सुरुमा सगरमाथा नै चढ्ने सोच बनाएका थिएनन्। ६ हजार मिटरसम्मको सानोतिनो हिमाल चढ्न चाहन्थे। जसअनुरुप २०२३ मा  ६,१६५ अग्लो आइल्यान्ड पिक चढे। त्यसको सफलतापछि अर्को हिमाल चढ्ने चाहना बढ्यो। उनी भन्छन्, ‘हिमाल चढ्नु त भयानक लत रहेछ। जसरी एक अम्मलीलाई लागू पदार्थ सेवन गर्न मन लागिरहन्छ। त्यस्तैजस्तो एक हिमाल चढ्यो अनि अर्को चढ्न मन हुने।’
 
आइल्यान्ड पिक चढेपछि लागेको लतले गुरुङको महत्वाकांक्षा सेभेन समिटसम्म फैलियो। अर्थात् उनी पृथ्वीको सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने योजनामा लागे।

जसअन्तर्गत गतवर्ष युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रुस (५,६४२ मिटर) र नेपालकै आमा दब्लम (६,८१२) आरोहण गरे। आमा दब्लम प्राविधिक रूपमा निकै कठिन आरोहण मानिन्छ।

यसै योजनाको सिलसिलाअन्तर्गत १० दिनअघि विश्वको सर्वोच्च शिखर चुमे। आफूले हिमाल चढ्नुमा पर्वतारोही फुर्बा तेन्जिङ शेर्पाबाट अभिप्रेरित भएको उनी बताउँछन्।


 
शिखर चुम्दा ‘ब्ल्याक आउट’
सर्वोच्च शिखर चुमेपछि आफू ब्ल्याक आउट नै भएको गुरुङ बताउँछन्।

‘लाखौँ खर्च र ज्यानलाई जोखिममा राखेर विश्वकै सर्वाधिक शिखर चुम्दा कस्तो अनुभव हुँदोरहेछ?’ नेपालखबरको प्रश्नमा उनी भन्छन्, ‘म त ब्लाक आउट भएछु। एकोहोरो हेरेको हेर्‍यै भएछु। हामी शिखरमा आधा घण्टाभन्दा बढी बसिएछ तर मलाई त १० मिनेट मात्र बसे जस्तो लाग्यो। स्टेट अफ माइन्ड भइयो। कति चाहिँ रोइरहेका थिए। म पनि आइल्यान्ड पिक चढ्दा अनायसै रोएको थिएँ।’

हिमाल चढ्नु र काललाई निम्ता दिनु उस्तै रहेको उनको ठहर छ। आफ्नै अगाडि प्राण त्यागेको सहयात्री र लास टेक्दै अगाडि बढ्नु सगरमाथाको सामान्य दृश्य हो। सानो गल्तीले छिनभरमै ज्यान जान्छ। अल्टिच्युड सिकनेस, हिम पहिरो, प्रतिकूल मौसम र डेथ जोनहरूले ज्यान कतिबेला लिन्छ कुनै ठेगान नै नहुने उनको अनुभव छ।

फिजिकल र मेन्टल स्ट्रेन्थ नहुनेले हिमाल चढ्न नसक्ने उनी बताउँछन्। त्यसमाथि पूर्वतालिम लिनु पनि उत्तिकै जरुरी रहेको भोगाइले बताउँछ।

हिमाल आरोहण गर्दा खर्च समेत अत्यधिक हुने बताउँछन् गुरुङ। हिमाल आरोहणकै लागि उनले झन्डै एक करोड रुपैयाँ खर्च गरे। किफायती तवरले खर्च गर्दा पनि ५०/६० लाख लाग्ने उनी बताउँछन्।

दुई वर्षभित्र सेभेन समिट पूरा गर्ने लक्ष्य
विश्वका अग्ला हिमाल आरोहण गर्ने योजनामा लागेका गुरुङको लक्ष्य सर्वोच्च शिखर चुमेर पनि पूरा भएको छैन। उनलाई सातै महादेशका अग्ला हिमाल चढ्नु छ।

त्यसैले यही वर्ष उत्तर अमेरिकाको सर्वाधिक अग्लो माउन्ट देनाली आरोहण गर्ने तयारीमा छन्। सबै कुरा अनुकूल भए सातै महादेशका अग्ला हिमाल चढ्ने लक्ष्य दुई वर्षभित्रै पूरा गर्ने योजना रहेको उनले नेपालखबरलाई सुनाए।

पुर्ख्यौली घर स्याङ्जा भएका गुरुङ हङकङमा फुड एन्ड बेभरेज व्यवसायी हुन्। हाइकिङ, ट्रेल रनिङमा सहभागी भइरहने गुरुङ हङकङ नेप्लिज अल्ट्रा ट्रेल एसोसिएसनका सदस्य पनि हुन्।

उनले शिखरमा पुग्दा नेपाल र हङकङको राष्ट्रिय झन्डासहित एसोसिएसनको ब्यानर समेत फहराएका थिए।

गुरुङले सगरमाथा शिखर चुमेकै दिन हङकङकै नेपाली छोरी चन्द्रकला राई (एन्जेला)ले पनि सगरमाथाको सफल आरोहण गरेकी छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .