सोमबार साँझ हङकङको काइताकस्थित निर्माणस्थलमा स्काफोल्डिङ भत्किएर ११ जना कामदार घाइते भएपछि श्रम विभागले सहरभिरका निर्माणस्थलको स्काफोल्डिङ जाँच गर्ने जनाएको छ।
श्रम तथा कल्याण सचिव क्रिस सुनले मंगलबार उक्त घोषणा गरेका हुन्। दुर्घटनापछि विभागले काइताकमा निर्माण कार्य पनि रोकेको छ। यहाँ एक अस्पतालको भौतिक संरचना निर्माण कार्य भइरहेको थियो।
घोषणका क्रममा सचिव सुनले काइताक घटनालाई नजिकबाट हेरिरहेको, घटनाको कारणबारे अनुसन्धान भइरहेको र सहरभरिका सबै निर्माणस्थलका स्काफोल्डिङ निरीक्षण गर्ने योजना बनिरहेको बताएका छन्।
मंगलबार जारी सुनको विज्ञप्तिमा भनिएको छ, ‘म घाइते कामदारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। श्रम विभागले तुरुन्तै घटनास्थलमा अनुसन्धानका लागि कर्मचारीहरू पठायो र तुरुन्तै ६ बुँदे सूचना जारी गर्दै काम बन्द गर्न निर्देशन दियो।’
विभागले दुर्घटनाको कारण अनुसन्धान गरी सम्बन्धित पक्षको कानुनी जिम्मेवारीबारे निर्क्योल गर्ने पनि सचिवले बताएका छन्।
‘यदि अनुसन्धानको क्रममा कुनै उल्लंघन फेला पर्यो भने जिम्मेवार पक्षलाई कानुनअनुसार कारवाही गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ।
शिङचोङ रोडमा रहेको निर्माणस्थलमा हिजो अपरान्ह ४ बजे ३२८ फिट अग्लो बाँसको स्काफोल्डिङ भत्किँदा ११ जना कामदार घाइते भएका थिए।
घाइतेहरूलाई क्विन एलिजाबेथ अस्पताल र युनाइटेड क्रिश्चियन अस्पताल लगिएको थियो। जसमध्ये मंगलबार बिहान ११ बजेसम्म चिउ थरकी ६१ वर्षीया महिलाको अवस्था गम्भीर छ। उनको क्विन एलिजाबेथ अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, सोही अस्पतालमा उपचाररत अर्का कामदारको अवस्था स्थिर छ भने युनाइटेड क्रिश्चियन अस्पतालमा उपचाररत अन्य ४ जनाको अवस्था पनि स्थिर रहेको द स्ट्यान्डर्डले जनाएको छ।
Shares

प्रतिक्रिया