हङकङमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) द्वारा आयोजित दुई दिने नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
‘इन्टरनेसनल युथ इन्टरप्रेनर्स समिट आई-एस २०२४’ नामको उक्त सम्मेलन हिजो र आज गरी दुई दिन मार्कोपोलो होटलमा भएको थियो।
१५० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनमा हङकङका साथै अस्ट्रेलिया, अमेरिका, जापान, चीन, नेपाल लगायतबाट उद्यमीहरू आएका थिए।
'नेपाली उद्यमीको सशक्तीकरणः नवप्रवर्तन, सहकार्य र सफलता' भन्ने मूल नाराको रहेको सम्मेलनमा दुई दिनका लागि दर्जनभन्दा बढी सत्र राखिएका थिए।

अघिल्लो दिन जस्तै आज पनि विभिन्न सत्रमा छलफल भए। नेपाली महावाणिज्यदूतावासका कन्सुल सतिष गुरुङको ‘नेपालमा लगानी : कूटनीतिक नियोगको भूमिका’ विषयक कार्यपत्र प्रस्तुतदेखि ‘विकासको लागि एकजुट : फिनेको विश्वव्यापी नेटवर्कमा सहयोगको उपयोग’ विषयक छलफल आजका मुख्य आकर्षण थिए।
छलफल कार्यक्रममा फिने हङकङका अध्यक्ष इन्दर पुन, फिने अस्ट्रेलियाकी अध्यक्ष सुजाता चालिसे, फिने चीनका महासचिव दुर्गा अमगाईँ, फिने जापानका अध्यक्ष सुजन जोशीलगायतले नेपाली उद्यमीकी प्रयास, व्यवसायका संघर्ष, फिनेले गरेका कार्य आदिबारे प्रकाश पारेका थिए।
छलफलका क्रममा फिने हङकङका अध्यक्ष इन्दर पुनले ४ वर्षको फिने हङकङको दौरानमा पहिलो दुई वर्ष चिनजानमै बिते पनि पछिल्ला दुई वर्ष यसले गति लिएको बताए।
पछिल्लो सात महिनादेखि हरेक महिना कफी टक सिरिजबाट उद्यमीका बीच साक्षात्कार हुने गरेको र यसले उद्यम गर्न चाहने युवालाई सहयोग पुग्दै आएको उनको धारणा थियो।
सहकार्य नै पहिलो सफलता भनेजस्तै अहिले आफूहरू सहकार्यमै बढी केन्द्रित रहेको र यस्तै सहकार्य र नेटवर्कबाट अगाडि बढ्दै जाँदा केही न केही नवीनतम उपयोगी कार्य हुने उनले आशा व्यक्त गरे।

फिने जापानका अध्यक्ष सुजन जोशी जापानमा नेपालीको इतिहास नै लामो नभएको बताउँछन्। आफूहरू नै त्यहाँ नेपाली उद्यमीको पहिलो पुस्ता भएकोले कतिपय कुरा सिक्दै सिकाउँदै अगाडि बढिरहेको उनले बताए।
पछिल्लो पुस्तालाई पनि आफूहरूसँगै लैजाने काम अहिले फिने जापानले गरिरहेको जोशीको कथन थियो। जापानमा नेपाली व्यवसायीलाई अगाडि बढाउने काममा फिने जापान लागि परेको उनले बताए।
जापानमा सयभन्दा बढी संस्था हुँदाहुँदै फिने नै किन बढी सफल? भन्ने प्रश्नमा जोशीले भने, ‘हामी न देश बनाउन आएका हौँ न समाज बनाउन आएका हौँ। हामी त आफू बन्न यहाँ आएका हौँ। म आफ्नो कम्पनीलाई जस्तो सोच्छु फिने पनि ठ्याक्कै त्यस्तै हो, त्यसैले अरू संघसंस्था भन्दा फिने फरक छ।’

१५ वर्षदेखि चीनको ग्वान्झाउमा बस्दै आएका फिने चीनका महासचिव दुर्गा अमगाईँ विभिन्न क्षेत्रबाट विज्ञहरू समेटेर कार्यसमिति बनाई फिनेले काम गरिरहेको बताउँछन्।
समितिको राय सल्लाहमा केही देखाउनयोग्य काम भएको पनि उनले जिकिर गरे। जस्तो पहिलो काम कफीमा गरिएको र यसले राम्रो सम्भावना देखाउँदा देखाउँदै पनि माग धान्नेगरी नेपालबाट आपूर्ति हुन नसक्दा समस्या भएको उनले दु:खेसो पोखे।
आफूहरूको उक्त कामबाट चीनमा कफीको माग ह्वात्तै बढेको तर नेपालबाट आयात गर्ने नीति नै नहुँदा अप्ठेरो परेको उनको कथन थियो। यो समस्याको समाधान गर्नेतर्फ सोचिदिन समेत उनले नेपालबाट आएका सरकारी अधिकारीतर्फ संकेत गर्दै माग गरे।

विदेशमा रहने नेपालीलाई भाषा र संस्कृति जुन बाधा छ, यसलाई यस किसिमका सम्मेलनले कसरी सम्बोधन गर्न सक्छन् भन्ने एक सहभागीको प्रश्नमा फिने अस्ट्रेलियाकी अध्यक्ष सुजता चालिसेले समूहगत आवाजमै यसको शक्ति निहित रहने बताइन्।
मार्कोपोलो होटलमा भएको यो छलफलको उदाहरण दिँदै उनले भनिन्, ‘मार्कोपोलो होटलभित्र २ जना नेपाली छिर्दा रिसेप्सनले कुनै नोटिस गर्दैन, १० जना छिर्दै गर्दा अलि नोटिस गर्छ, २० जना नेपाली छिर्दा ओहो यहाँ के हुन आँट्यो भन्छ, २०० जना नेपाली छिर्यो भने पक्कै केही हुन आँट्यो भन्छ। यो सबै देशमा लागु हुन्छ।’

२ जना मान्छेको प्रवेशले जातीय एवं सांस्कृतिक रूपान्तरण कहीँ पनि नहुने उनको भनाइ थियो। सदियौँदेखि आफ्नो परम्परा र शैलीमा चलिरहेको कुनै देशमा बसाइँ सरेर आएको कोही विदेशीले आफ्नो परिचयको लागि संघर्ष गर्नु सजिलो काम नरहेको उनको भनाइ थियो। यसका लागि उचित समय, उचित जनसांख्यिक आकार जस्ता कुरा महत्त्वपूर्ण रहने उनको धारणा थियो।
कार्यक्रममा अन्य सहभागीले पनि आ-आफ्नो धारणा राखेका थिए। विश्वभर रहेका नेपाली युवा उद्यमीबीच सहकार्य, नवप्रवर्तन र सफलताको उद्देश्य राखेर फिने हङकङले यो सम्मेलनको आयोजना गरेको हो। २ दिने सम्मेलनको दोस्रो दिनको आजको कार्यक्रम बिहान ९ बजेबाट सुरु भएर दिउँसो ३ बजे सम्पन्न भएको थियो।
-
हङकङमा नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलनको पहिलो दिन : व्यवसायका संघर्षदेखि रमाइला प्रश्नसम्म
-
हङकङमा सुरु भयो नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन
-
दुई उद्देश्य राखेर फिनेले विश्वभरका २ सय नेपाली युवा हङकङ ल्याउँदैछ : इन्दर पुन (अन्तर्वार्ता)
-
I-YES HK: Catalyzing Nepali startup success on the global stage
-
हङकङमा दुई दिने नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन : डेढ सय बढी सहभागी हुने

Shares

प्रतिक्रिया