हङकङमा नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलनको पहिलो दिन : व्यवसायका संघर्षदेखि रमाइला प्रश्नसम्म

हङकङमा नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलनको पहिलो दिन : व्यवसायका संघर्षदेखि रमाइला प्रश्नसम्म

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १७:१९, हङकङ

हङकङमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) द्वारा आयोजित दुई दिने नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ।

‘इन्टरनेसनल युथ इन्टरप्रेनर्स समिट आई-एस २०२४’ को ब्यानरमा मार्कोपोलो होटलमा सुरु भएको यस कार्यक्रम भोलिसम्म चल्नेछ।

आजको कार्यक्रममा विभिन्न शीर्षकमा समूहगत छलफल (प्यानल डिसकसन) भएका छन्।

पहिलो छलफल ‘फ्युचर अफ द फिनटेक एन्ड द रोल अफ टेक्नोलोजी इन मोडर्न इन्टरप्रेनरसिप (फिनटेकको भविष्य र आधुनिक उद्यमशीलतामा प्रविधिको भूमिका)’ शीर्षकमा भएको थियो। जसको मोडरेटर इञ्जिनियर दिपेन घले थिए भने प्यानलिस्टहरूमा सुरज राई र सन्जिव सुब्बा रहेका थिए।

मोडरेटर घले आईसीओडीई एचके लिमिटेडका निर्देशक हुन् भने प्यानलिस्टद्वय राई र सुब्बा क्रमश: बैंक अफ अमेरिकाको ग्लोबल मार्केट्स एसिया प्यासिफिकका एमडी तथा प्रमुख सूचना अधिकारी र फिनटेक काठमाडौँका संस्थापक हुन्।

त्यस्तै, केबीए वेबका संस्थापक साम कँडेलले ‘ब्रेकिङ बाउन्ड्रिज : अचिभिङ इन्टरप्रिनरियल सक्सेस एज अ टीन इन ब फास्ट-प्याक्ड डिजिटल इकोनोमी’ (डिजिटल अर्थव्यवस्थामा युवा उद्यमशीलता) शीर्षकमा प्रस्तुति दिएका थिए।

अर्को समूहगत छलफल थियो- ‘ब्रेकिङ ब्यारियर्ज : वुमन इन्टरप्रिनर्स ड्राइभिङ चेन्ज’ (अवरोधहरू तोड्दै महिला उद्यमीमा आएको परिवर्तन)। यस छलफललाई मध्यस्थता (मोडरेटर)को काम विपिन कर्माले गरेका थिए। उनी अभिनेता तथा निर्देशक हुन्।

छलफलका वक्ताहरूमा काजल नैना, कविता गुरुङ, उषा गुरुङ र मनिषा डंगोल श्रेष्ठ रहेका थिए। नैना काजल नैना ज्वेलरीकी संस्थापक तथा निर्देशक हुन् भने कविता गुरुङ एफईएलएफईएलएलए दोस्रोकी संस्थापक हुन्।

त्यसैगरी, उषा गुरुङ नर्स एड अस्ट्रेलियाकी संस्थापक एवं सीईओ हुन् भने डंगोल लन्डन फेसन हाउसकी संस्थापक हुन्।

छलफलमा सहभागी महिला उद्यमीले आफूले काम सुरु गर्दादेखि र आफ्नो उद्यम सुरु गर्दासम्मका संघर्ष सहभागीमाझ साझा गरेका थिए।

फुड एन्ड वेभरेज (फास्टफुड) बाट आफ्नो करिअर सुरु गरेकी कविता गुरुङले जागिरपछि पहिलो पटक सन् २०११ मा आफ्नै उद्यम सुरु गर्दाको संघर्ष साझा गरेकी थिइन्।

कुनै पनि काम गर्दा होस् वा आफ्नै उद्यम सुरु गर्दा पुरुषभन्दा महिलाले केही बढी संघर्ष गर्नुपर्ने छलफलमा सहभागी वक्ताको धारणा रहेको थियो।

प्राकृतिक संरचनाका कारणले दिएको यो भिन्नतालाई स्विकार्दै अघि बढ्नुपर्ने मनिषा डंगोलको भनाइ थियो। नेपालमा सरकारले पनि महिलामुखी केही सहुलियत दिएको उनले बताइन्।

ऋण प्रवाह, घर-जग्गा खरिद आदिमा महिलालाई करछुट जस्ता कुराले महिला उद्यमीलाई सहजीकरण गरेको उनको धारणा थियो।

यस्तै अर्को समूहगत छलफल ‘हाउ टु सक्सेसफुल्ली फन्ड योर स्टार्टअप - फाइन्डिङ द राइट इन्भेस्टर’ शीर्षकमा मध्यस्थताकर्ताको भूमिका सोयना ढकालले गरेकी थिइन्। ढकाल फिनेक्स हङकङकी कोष निर्देशक (डिरेक्टर अफ फन्डस्) हुन्।

ढकालले सञ्चालन गरेको छलफलमा विद्यावारिधि सिग्देल र डा. मनिष थापा वक्ताका रूपमा थिए। सिग्देल डोल्मा इम्प्याक्ट फन्डका म्यानेजिङ डाइरेक्टर हुन् भने थापा ग्लोबल इक्विटी फर्मका संस्थापक म्यानेजिङ पार्टनर हुन्।

यो छलफलमा वक्तालाई सहभागी स्रोताले नेपालमा पर्यटन क्षेत्रको लगानी सम्भावनाका बारेमा प्रश्न गरेका थिए।

दिक्पालदेव पंगेनीले ‘दूरदेखि दिक्पालसँग’ लिएर आएका थिए। हाल अस्ट्रेलियामा रहेका पंगेनी नेपालमा छँदा पत्रकारिता गर्थे। रेडियो पत्रकारितामा पोख्त उनले कार्यक्रम सुरु गुर्नुअघि २ वटा गीत गाएर सहभागीलाई मनोरञ्जन दिलाएका थिए।

प्रकाश श्रेष्ठको ‘गहिराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने मोति नटिपि नफर्क’ र भक्तराज आचार्यको ‘अल्झेँ कहीँ त के भो बाटो भुलेको छैन, भाँचिइसकेको विश्वास फेरि भरेर आउँछ, हजार सपनाको माया लागेर आउँछ’ गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका उनले हामीले पनि गहिराइमा डुबिसकेपछि मोति टिप्ने लक्ष्य राख्नुपर्ने बताए।

अधिकांश विदेशमा बस्नेहरूको सोच आफूले नेपाल छोड्दा देश जस्तो थियो अहिले पनि त्यस्तै रहेको ठान्नु नै सबैभन्दा ठूलो भुल रहेको पंगेनीको धारणा थियो। ‘तर, त्यो होइन। नेपाल धेरै परिवर्तन भइसकेको छ। धेरै विकासका काम भइसकेका छन्,’ उनी भन्छन्।

कम्तीमा वर्षमा ४/५ जना नेपाली युवालाई रोजगारी दिन सक्ने गरी विजनेस सुरु गर्न सक्ने हो भने यसले अझ ठूलो परिवर्तन ल्याउन सक्ने उनको धारणा थियो।

अन्त्यमा प्रश्नोत्तर (क्विज) लगायतका कार्यक्रम राखिएका थिए। लामो छलफलपश्चात् यसले सहभागीहरूलाई ताजगी बनाएको थियो। पहिलो  प्रश्नोत्तरमा ४,०८८ पोइन्टका साथ मनोज गौतमले बाजी मारेक थिए।

प्रश्नोत्तर राउन्डको अन्त्यतिर केही रमाइला प्रश्न पनि गरिएका थिए। जस्तै, तपाईँलाई म:म मन पर्छ कि दालभात? र किन?

त्यस्तै, अन्तिम अर्को प्रश्न थियो- आफ्नो टेबलभन्दा वरिपरिका टेबलमा बसेकाहरूसँग कुरा गर्नुभएको छ? यदि नयाँ अनुहार देख्नुभएको छ भने कुरा गर्नुहोस्। यसपछि हल कल्याङमल्याङयुक्त भएको थियो।

प्रश्नोत्तरसँगै बिट मारिएको कार्यक्रम भोलि उही होटलमा बिहान ९:३० बजे सुरु हुने फिने हङकङ च्याप्टरका अध्यक्ष तथा विश्व सम्मेलनका संयोजक इन्दर पुनले जानकारी दिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .