हङकङ तामाङ घेदुङको अर्को समूहले पनि गर्‍यो अधिवेशन, अध्यक्षमा अनिता पाख्रिन

हङकङ तामाङ घेदुङको अर्को समूहले पनि गर्‍यो अधिवेशन, अध्यक्षमा अनिता पाख्रिन

अनिता पाख्रिन


सन्तोष तामाङ
मंसिर ११, २०८१ मंगलबार १३:५८, हङकङ

हङकङ तामाङ घेदुङको अर्को समूहले पनि अधिवेशन गरेको छ।

गएको आइतबार (२४ नोभेम्बर) भएको समूहको भेलाले अनिता पाख्रिन (प्रेमकुमारी तामाङ)को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चुनेको छ।

चौधौँ अधिवेशन भनिएको उक्त भेला याउमा तेईस्थित हेनरी जी लियोङ याउमा तेई सामुदायिक केन्द्रमा भएको थियो।

भेलाले कार्यसमितिको उपाध्यक्षमा प्रताप बम्जन तामाङ, सचिवमा राजिव मोक्तान, सहसचिवमा अमर पाख्रिन तामाङ, कोषाध्यक्षमा अनिता तामाङ र सहकोषाध्यक्ष तुलसा तामाङलाई चयन गरेको छ।

त्यस्तै, सदस्यहरू राजु तामाङ, सानिन्द्र तामाङ, अरिका थोकर र शान्ति तामाङ चुनिएका छन् भने बाँकी एक सदस्य कार्यसमितिको पहिलो बैठकबाट चुनिने नवनिर्वाचित अध्यक्ष पाख्रिनले नेपालखबरलाई बताइन्।

घेदुङको विधानअनुसार अध्यक्षले तीन जना मनोनीत गर्न सक्छन्। अधिवेशनको निर्वाचन मन्डल अध्यक्षको भूमिका हेमबहादुर तामाङले निर्वाह गरेका थिए भने विष्णु पाख्रिन र अनु तामाङ सदस्य रहेका थिए।

नवनिर्वाचित अध्यक्ष पाख्रिनले हङकङ तामाङ घेदुङले तामाङ समुदायको मौलिक संस्कृतिलाई निरन्तरता दिँदै नेपाल र नेपालीको पहिचानलाई हङकङमा स्थापना गर्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताइन्।

तामाङ समुदायका नयाँ पुस्तालाई एकताबद्ध गर्दै जाने प्रतिबद्धता समेत उनले जनाइन्।

नेपालको राष्ट्रिय गानसँगै औपचारिक रूपमा सुरु भएको कार्यक्रम हङकङ तामाङ घेदुङका ताम्बा तथा जेष्ठ व्यक्तित्व कुलमान मोक्तानको प्रमुख  आतिथ्यतामा सम्पन्न भएको थियो।

पानसमा द्वीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रम आङी समूह हङकङकी उपाध्यक्ष सरला तामाङको स्वागत मन्तव्यबाट सुरु भएको थियो।

कार्यक्रममा एनआरएनए हङकङका अध्यक्ष गोकर्णप्रसाद ढकाल, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, चितवन समाज हङकङका अध्यक्ष ओमराज गुरुङ, महिला संघ हङकङकी महासचिव अनु तामाङ (राई), नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य तथा हङकङ तामाङ घेदुङका पूर्वअध्यक्ष विश्वनाथ घिसिङ लगायतले शुभकामना मन्तव्य दिएका थिए।

यसका साथै, कार्यक्रममा हङकङ तामाङ घेदुङ संरक्षक समूह तथा विधान संशोधन समितिका अग्रज व्यक्तित्व रमेश मोक्तान, दुर्गा योन्जन, चन्द्र पाख्रिन, कृष्णध्वज तामाङ, कुमार पाख्रिन लगायत हङकङमा रहेका विभिन्न पेसा, व्यवसायमा आबद्ध तामाङ एवं गैरतामाङ व्यक्तित्वको उपस्थिति रहेको थियो। विभिन्न जातीय एवं क्षेत्रीय संस्थाका प्रतिनिधि पनि कार्यक्रममा सामेल थिए।

गतहप्ता (१७ नोभेम्बर) पनि घेदुङको एउटा समूहले १४औँ अधिवेशनकै नाममा भेला आयोजना गरी नेतृत्व चयन गरेको थियो। उक्त समूहले कृष्णबहादुर लामा (कृष्ण थिङ)को नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको थियो।

एक हप्ताको अन्तरालमा फरक फरक समूहले भेला आयोजना गरी आ-आफ्नो नेतृत्व चुनेपछि घेदुङमा असमझदारी बढ्दै गएको देखिन्छ।

यो असमझदारीको बीजारोपण घेदुङको १३औँ अधिवेशनबाट भएको हो। त्यतिबेला अध्यक्षमा प्रतिस्पर्धा गरेका सुस्मा वाइबा र अनिता पाख्रिनले बराबर मत ल्याएपछि २ वर्षे कार्यकालमा १/१ वर्ष पदभार सम्हाल्ने गरी सहमति गरिएको थियो।

तर, १४औँ अधिवेशनसम्म आइपुग्दा दुई समूह फरक-फरक अधिवेशन गर्ने अवस्थासम्म पुगेका छन्‌।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .