टिकटकमा डोटेली भाषा बोलेर चर्चामा आएकी मिस पबी यतिखेर ‘कमेडी दरबार’ व्यस्त छिन्। थुप्रै म्युजिक भिडिओसहित विज्ञापन खेलिसकेकी पबी छिट्टै फिल्म ‘माग्ने राजा’ मार्फत ठूलो पर्दामा डेब्यु गर्दैछिन्।
अभिनयको दायरा फराकिलो बनाउँदै गएपनि पबीलाई टिकटकरको ट्याग छुट्दैन तर उनी भने टिकटकले नै यहाँसम्म पुर्याएको बताउँदै आफूलाई कसैले टिकटकर दु:ख नलाग्ने बताउँछिन्।
डडेलधुरास्थित अमरगढी नगरपालिकाकी पबीलाई सानैदेखि अभिनयमा रुची थियो। स्कुल हुँदा नाटकसमेत खेलेकी उनले टिकटकबाट चर्चामा आउनुअघि डेउडा गीतको भिडिओमा समेत अभिनय गरेकी थिइन्।
‘मलाई पहिल्यैदेखि अभिनयमा रुचि थियो। स्कुल पढ्दाखेरी नाटकहरू खेल्थेँ अनि दुईतीनवटा डेउडाको भिडिओ पनि खेलेकी थिएँ,’ उनले भनिन्, ‘यदि बुवाआमा यो उद्योगमा भएको भए मुभी खेल्थेँ होला। हिरोइन भनेर चिनिन्थेँ। हाम्रो त्यस्तो भएन। मलाई सबैभन्दा बढी चिनेको चाहिँ टिकटकबाट नै हो। त्यसकारण कसैले टिकटकर भन्दा नराम्रो लाग्दैन।’
अब भने पबीको त्यो सपना पनि छिट्टै पूरा हुँदैछ। ‘माग्ने राजा’ सहित अन्य फिल्ममा पनि काम गर्ने कुरा भइरहेको सुनाउँछिन् उनी।

प्रतिक्रिया