नेपालमा जति पनि पशुपालक किसानहरू हुनुहुन्छ, उहाँहरूको उद्देश्य नै उत्पादन स्वस्थ कसरी बनाउने र बजारसम्म पुर्याउने भन्ने हुन्छ। स्वस्थ रूपमा उत्पादन गरेका पशु तथा पंक्षीहरूलाई बजारसम्म स्वस्थ रूपमा पुर्याउने काम अर्को महत्त्वपूर्ण विषय हो।
पछिल्लो समय नेपालमा पशु तथा पंक्षीको पालन व्यावसायिक रूपमा फस्टाएको छ, यो उहाँहरूका लागि सकारात्मकसँगै चुनौती पनि हो।
जति पनि व्यावसायिक रूपमा पशुपालन गरिरहनुभएका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूले असल उत्पादनको अभ्यास गरिरहेको हामी पाउँछौँ। एकजना पशु चिकित्सकको नाताले मैले त्यो नजिकबाट नियाल्ने मौका पाएको छु।
उत्पादनको दौरानमा पशु चिकित्सक या भनौँ भेटेरिनरी डाक्टरको प्रत्यक्ष निगरानी हुन्छ। चिकित्सकले आवश्यक परेको बेलामा ती पशु तथा पंक्षीको जाँच र उपचारको काम गरिराख्नुभएको हुन्छ। यसले पनि स्वस्थ उत्पादनको लागि सघाइरहेको छ।
युट्युब, फेसबुक जस्ता इन्टरनेटका विभिन्न माध्यममा हामी कहिलेकाँही कस्ता खालका हल्ला पनि सुनिरहेका हुन्छौँ भने कुखुरा तथा खसीलाई छिटो ठूलो बनाउन, तौल बढाउन विभिन्न खालका औषधि खुवाइएको हुन्छ। सुइ लगाइएको हुन्छ। विशेषतः ब्रोइलर कुखुरा पालनको क्रममा हर्मोनको प्रयोग भएको हुन्छ, त्यसकारण यसको मासु खान हुँदैन भन्ने हल्ला अझ बढी सुनिन्छ।
यो विषयमा म आम उपभोक्तालाई के भन्न चाहन्छु भने यस कुरामा कुनै पनि सत्यता छैन। किनभने ब्रोइलर उत्पादनको क्रममा एक त हर्मोनहरूको प्रयोग हुँदै हुँदैन, त्यो मैले अहिलेसम्म देखेकै छैन। र, उत्पादनको क्रममा हर्मोनको प्रयोग गर्नुपर्ने आवश्यकता नै छैन। अर्को कुरा, त्यो हर्मोनहरू यतिधेरै महँगो हुन्छ कि हाम्रा उत्पादकहरूले पशुपंक्षी उत्पादनमा प्रयोग गर्न थाले भने उत्पादन लागत असाध्यै बढेर जान्छ। त्यो उत्पादन लागत उनीहरूले धान्नै सक्दैनन्। त्यसकारण यो कुरामा कुनै पनि सत्यता छैन।
नेपालमा मासु जाँच ऐन २०५५ छ। तर, त्यो हालसम्म पनि प्रभावकारी रूपमा लागू हुन सकेको छैन। त्यो ऐन मात्रै लागू भइदिए पनि उपभोक्ताहरूले स्वस्थ माछामासुको उपभोग राम्रोसँग गर्न पाउनुहुन्थ्यो। त्यो ऐनमा निकै राम्रो व्यवस्थाहरू गरिएको छ।
आजभन्दा आठदस वर्ष अघिसम्म अहिलेको जस्तो नियमित माछामासु खाने चलन हुँदैन थियो। माछामासु खानको लागि चाडबाड नै कुर्नुपर्ने हुन्थ्यो। तर अहिले त्यस्तो अवस्था छैन। व्यावसायिक रूपमा माछा मासुको बिक्री हुन थालेपछि हामी नियमित रूपमा नै माछामासुको उपभोग गर्न पाइरहेका हुन्छौँ।
कतिपय समुदायमा हाम्रो संस्कार रीतिरिवाजले गर्दा जिउँदो पशुपंक्षी किन्ने चलन हुन्छ। यस्तो अवस्थामा हामी उपभोक्तालाई कसरी स्वस्थ पशु किन्ने भन्ने चुनौती हुन्छ भने मासु नै किन्दा पनि त्यो मासु स्वस्थ हो कि होइन भन्ने कुरा जान्न एकदमै आवश्यक हुन्छ।
आम उपभोक्तालाई म के भन्न चाहन्छु भने सकेसम्म मासु नै, काटिसकेको मासु नै किन्दा हामीलाई सजिलो पनि हुन्छ। हैन, विभिन्न कारणवश सिङ्गै पशु वा पंक्षी ल्याउने हो भने हामीले स्वस्थ पशु ल्याउनुपर्छ। दसैँको समयमा पशुसेवा विभाग र त्यो अन्तर्गतको निकायले विभिन्न हाटबजारमा रङ लगाएर स्वस्थ र अस्वस्थ पशु छुट्याउने गर्छ। तर, अन्य समयमा त्यो गर्ने गरिएको छैन।
बजारमा आइसक्नुभन्दा पहिला के हुन्छ भने नेपालभरिबाट जहाँबाट पनि ढुवानी गर्नेक्रममा पशु चिकित्सक (दर्तावाल पशु चिकित्सक) हरूले सर्टिफिकेट जारी गरिदिएको हुन्छ। त्यो सर्टिफिकेटको आधारमा नै त्यो पशुपंक्षीहरू ढुवानी गरेर आइपुगेको हुन्छ। त्यसकारण ढुवानी गरेर बजारमा आइसकेको छ भने स्वस्थ छ भन्ने त्यो पनि एउटा हामीले आधार मान्न सक्छौँ।
यद्यपि, हामीले नाङ्गो आँखाले हेर्दा नझोक्राएको पशुपंक्षी किन्न पर्यो। र्याल नकाढेको, श्वास फेर्ने ठाउँबाट र मलद्वारबाट कुनै अनियन्त्रित खालको चिजहरू बाहिर ननिक्लेको हुन पर्यो। झोक्राएको हुन भएन। रौँहरू ठा–ठाडो भएको हुन भएन। कचेराहरू नआएको, हेर्दैखेरी अलिकति तन्दुरुस्त खालको, फूर्तिलो खालको छान्न सक्यौँ भने त्यस्ता पशुपंक्षी स्वस्थ छन् भन्ने पक्का गर्न सक्छौँ।
काटिसकेको माछामासु किन्दा चाहिँ सकेसम्म हामीले राम्रो ठाउँबाट खरिद गर्नुपर्छ। अहिले काठमाडौँ वा काठमाडौँजस्ता नेपालमा अन्य ठूला सहरहरूको कुरा गर्ने हो भने धेरै राम्रा मासु पसलहरू छन्। सफा, झिङ्गा नभन्किएको ठाउँ हुनपर्यो। मासु किन्दा ताजा मासु किन्नुपर्छ। सकेसम्म एकैपटक धेरै मासु किन्नु हुँदैन। थोरै किन्ने र त्यो खाइसकेपछि मात्रै फेरि आवश्यकता अनुसार किन्ने गर्नुपर्छ।
यसो गर्दा हामीले ताजा माछामासु खान पाउँछौँ। एकैपटक धेरै मासु किन्यौं भने त्यसलाई सुरक्षित तरिकाले भण्डारण गर्न समस्या हुन्छ र त्यसले रोग निम्त्याउने पनि हुन सक्छ। थोरै र ताजा मासु नै किन्नु उपयुक्त हुन्छ।
( भेटेरिनरी जनस्वास्थ्य विज्ञ शीतलकाजी श्रेष्ठ सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनका महासचिव हुन्)

प्रतिक्रिया