ad ad

म्यागेजिन


एक कल फोन

एक कल फोन

डोरोथी पार्कर
भदौ २८, २०७६ शनिबार ११:३४,

डोरोथी पार्कर (१८९३–१९६७) एक अमेरिकी कवि, लेखक, समालोचक तथा व्यंग्यकार थिइन्। उनी उनको रोचक तथा व्यंग्यात्मक लेखनलाई लिएर विश्वभरि प्रसिद्ध छिन्। निकै दुःखदायी बाल्यकाल गुजारेकी उनका लेखहरू न्युयोर्क र पत्रिकामा प्रकाशित हुनथालेपछि साहित्यिक वृत्तमा उनी चर्चाको विषय बनिन्। उनी पछि हलिउडमा गएर हलिउड चलचित्रका लागि स्क्रिप्ट लेख्न थालिन्। ‘अ स्टार इज बर्न’ (१९३७) र ‘स्म्यास अप, द स्टोरी अफ अ वुमन’ (१९४७) चलचित्रबाट उनी ओस्कार अवार्डमा मनोनयनमा समेत परेकी थिइन्। तर पछि शीतयुद्धताका कम्युनिष्ट विचारधारा राखेको भन्दै सन् १९५० मा प्रकाशित ‘रेड च्यानल्स’मार्फत उनलाई हलिउडबाट कालोसूचीमा राखिएको थियो। त्यससँगै उनको हलिउड करिअर अन्त्य भएको थियो। उनका कथा, कविता र नाटकहरू विश्वका विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा समाविष्ट छन्। उनै पार्करले लेखेको चर्चित कथा ‘अ टेलिफोन कल’को नेपाली अनुवाद ‘एक कल फोन’लाई यहाँ प्रस्तुत गरेका छौँ:

बिन्ती छ, परमेश्वर! उसलाई अहिले नै मलाई फोन गर्न लगाइदेऊ। प्रिय भगवान्! उसलाई अहिले नै मलाई फोन गर्न भनिदेऊ। म तिमीसँग अरु केही माग्दिनँ। साँच्चै अरु केही पनि माग्दिनँ। मैले तिमीसँग आजसम्म कुनै ठूलो कुरा मागेकी पनि छैन। यो त तिम्रा लागि एउटा सानो कुरा मात्रै त हो नि! उसले मलाई अहिले नै फोन गरिहालोस्! बिन्ती परमेश्वर! बिन्ती... बिन्ती...बिन्ती...!!

यदि मैले यसबारे मनमा कुरा नखेलाई बसेँ भने टेलिफोनको घण्टी बज्ला? कहिलेकाहीँ त्यस्तो पनि हुन्छ। यदि मैले अरु नै केही कुरा सोच्न सकेँ भने? के कुरा सोच्ने होला त खोइ? बरु मैले पाँचपल्ट एकदेखि पाँच सयसम्म गनेर बसेँ भने त्यतिबेलासम्म त पक्कै उसको फोन आउँछ होला। अब म कत्ति पनि झेली नगरी विस्तारै गिन्ती गर्न थाल्छु। र, यदि मैले तीन सयसम्म गिन्ती गरेर पुर्याउँदा फोनको घण्टी बज्यो भने पनि म रोकिनेछैन।

म पाँच सय नै नपुर्याइन्जेलसम्म रोकिनेछैन। म पाँच सय पुर्याएर मात्र उसको फोन उठाउँछु—५, १०, १५ ,२०, २५, ३०, ३५, ४०, ४५, ५०... हे परमेश्वर! बिन्ती... फोन आइदेऊ। बिन्ती... !!

एकपल्ट फेरि अन्तिमचोटि घडी हेर्छु। यसपछि कुनै पनि हालतमा फेरि अर्कोपल्ट घडी हेर्दिनँ। लौ, ७ बज्न १० मिनेट बाँकी रहेछ। उसले त ५ बजे नै मलाई फोन गर्छु भनेको थियो, ‘प्रियतमा! म तिमीलाई ५ बजे फोन गर्नेछु।’

मलाई लाग्छ उसले मलाई त्यही बेला हो ‘प्रियतमा’ भनेको। पक्का त्यही बेला नै हो भन्नेमा म ढुक्क छु। मलाई याद छ उसले मलाई दुई पल्टसम्म ‘प्रियतमा’ भनेर सम्बोधन गरेको थियो। अर्कोचोटि उसले मलाई फोन राख्ने बेलामा प्रियतमा भनेको थियो— ‘प्रियतमा, गुडबाई’।

ऊ व्यस्त थियो र उसले अफिसमा हुँदा धेरै कुरा गर्न पनि त मिल्दैन। तर, यसको बाबजुद पनि उसले मलाई दुईपटकसम्म ‘प्रियतमा’ भनेको थियो। यदि मैले नै उसलाई फोन गरेँ भने पनि मलाई थाहा छ, उसले झन्झट मान्नेछैन। यति त मलाई पनि ज्ञान छ कि केटाहरूलाई फोन गरिरहनु हुँदैन। मलाई थाहा छ उनीहरूलाई त्यो मन पर्दैन। जब हामी उनीहरूलाई फोन गर्छौं, तब उनीहरूले भेउ पाउँछन्— हामी उनीहरूको बारेमा सोचिरहेका छौं र उनीहरूलाई चाहन्छौं।

यस्तो थाहा पाउँदा उनीहरूले घृणा गर्न थाल्छन्। तर, मैले त उसलाई फोन नगरेको तीन दिन बितिसकेको छ। र, मैले फोन गर्दा पनि केवल कस्तो छौ भनेर मात्र सोधेकी थिएँ। त्यति त अरु जो कोहीले पनि त सोध्न सक्थ्यो नि! त्यति सोध्दा उसले गुनासो गर्नुपर्ने कुनै कारण छैन। उसको समय मैले बर्बाद गरिरहेको भनेर सोच्नुपर्ने कुनै कारण पनि त थिएन!

‘अहँ, छैनौ... छैनौ..’, उसले भनेको थियो, ‘... तिमीलाई फोन गर्छु।’ त्यसो भन्नुपर्ने कुनै आवश्यकता पनि त थिएन नि! मैले उसलाई फोन गर भनेर कहाँ भनेकी थिएँ र? अहँ, किमार्थ भनेकी थिइनँ। मलाई याद छ, त्यस्तो भनेकै थिइनँ। ऊ मलाई फोन गर्छु भनिसकेपछि आफ्नो वाचा तोडेर कहिल्यै फोन नगर्नेखालको मान्छेजस्तो पनि लाग्दैन। हे परमेश्वर! बिन्ती छ, उसलाई उसको वचन तोड्ने बुद्धि नहालिदेऊ। बिन्ती, परमेश्वर!

‘प्रियतमा, म तिमीलाई ५ बजे फोन गर्नेछु’, ‘गुडबाइ, प्रियतमा’! ऊ व्यस्त थियो, हतारमा थियो र उसको वरिपरि अरु मान्छे पनि थिए। तर, त्यस्तो अवस्थामा पनि उसले मलाई दुई पटकसम्म ‘प्रियतमा’ भनेर सम्बोधन गरेको थियो।

ऊ मेरो हो, ऊ मेरो नै हो। उसले अब मलाई कहिले भेटेन भने पनि मलाई त्यतिचाहिँ थाहा छ। तर, त्यो त निकै थोरै हो नि! त्यतिले मलाई पुग्दैन। मैले उसलाई फेरि फेरि भेट्न पाइनँ भने संसारका कुनै कुरा पनि मेरा लागि पर्याप्त छैन। परमेश्वर, बिन्ती छ! मलाई ऊसँग फेरि भेटाइदेऊ। म उसलाई अति नै चाहन्छु। म उसलाई आफैंभन्दा धेरै चाहन्छु। म एक असल व्यक्ति बन्नेछु परमेश्वर! यदि तिमीले मलाई फेरि ऊसँग भेटाइदियौ भने म अझ धेरै असल व्यक्ति बन्ने प्रयास गर्नेछु। यदि उसलाई फोन गर्न मात्र लगाइदियौ भने पनि। हे परमेश्वर! जसरी पनि उसलाई अहिले नै फोन गर्न लगाइदेऊ।

परमेश्वर! बिन्ती छ, मेरा प्रार्थनाहरूलाई निरर्थक सम्झेर नजरअन्दाज नगरिदेऊ। तिमी त परिहरू र ताराहरूको वरिपरि माथि आकाशमा बस्छौ। म भने तिमीसँग जाबो एउटा टेलिफोनको विषयमा प्रार्थना गर्न आएकी छु। मलाई देखेर नहाँस, परमेश्वर! मलाई अहिले कस्तो बेचैनी भइरहेछ भनेर तिमीलाई के थाहा! आफ्नो बहुमूल्य गद्दीमा विराजमान तिमी सुरक्षित छौ। कसैले पनि तिमीलाई केही गर्न सक्दैन। कसैले पनि तिम्रो मनमा हलचल मच्चाउन सक्दैन। म भने यहाँ तड्पिरहेकी छु परमेश्वर। यो निकै दर्दनाक तड्पाई हो। के तिमी मलाई मद्दत गर्दैनौ? तिमीलाई तिम्रो छोराको कसम! मलाई मद्दत गर। तिमीले नै भनेका छौ कि तिम्रो छोराको नाममा जे–जे मागे पनि तिमी पूरा गरिदिन्छौ। हे परमेश्वर! तिम्रो एक मात्र प्रिय पुत्र, हाम्रो भगवान जिजस ख्राईस्टका नाममा उसलाई अहिले नै मलाई फोन गर्न लगाइदेऊ।

मैले अब यसरी तड्पिन बन्द गर्नुपर्छ। म यस्तो लाचार हुनुहुन्न। यसलाई यसरी हेरौँ। एउटा जवान युवकले एउटी युवतीलाई फोन गर्छु भन्ने वचन दियो र ऊ अन्य केही कुरामा अल्झियो र फोन गर्न सकेन। यो खासै ठूलो कुरा त होइन नि, हैन र? अहिले यतिखेर विश्वमा कस्ता घटनाहरू घटिरहेका होलान्। मलाई किन अरु केही कुराको मतलब नै लागिरहेको छैन? यो टेलिफोन किन बज्दैन? किन बज्दैन? किन बज्दैन? तँ किन बज्दैनस्, हँ ? बिन्ती छ बज्दे न! तँ मर्न नसकेको कुरूप, टल्किने वस्तु! एकछिन घण्टी बज्दैमा तँ मर्ने होस् र? पख्, म भित्ताबाट तेरा सबै जराहरू उखेलिदिन्छु। म तेरो कालो अनुहारलाई टुक्राटुक्रा पारेर फुटाइदिन्छु। नर्कमै वास होस् तेरो त!

ओहो, म यो के गरिरहेकी छु? अब म चुप लाग्नुपर्छ । अरु नै केही कुरा सोच्नुपर्छ। अब म अरु नै केही कुरा सोच्छु। बरु म अब यो घडीलाई नै अर्को कोठामा लगेर झुण्ड्याउँछु। त्यसपछि त मैले कति बज्यो भनेर हेर्न सक्नेछैन। घडी हेर्न मन लाग्यो भने मैले शयनकोठासम्म पुग्ने पाउकष्ट गर्नुपर्नेछ। कतै उसले मैले फेरि घडी हेर्नुभन्दा अगाडि नै पो फोन गरिहाल्छ कि! उसले फोन गर्यो भने म ऊसँग अत्यन्तै राम्रोसँग मायालु तरिकाले बोल्छु। यदि उसले भरे राति मसँग भेट्न मिलेन भन्यो भने म भन्नेछु, ‘ए, ठीकै छ नि त प्रियतम! अर्को कुनै बेला भेटौँला।’ म ऊसँग पहिलोपटक भेट्दा जस्ती थिएँ, त्यस्तै बन्नेछु। सायद त्यसपछि उसले मलाई फेरि मन पराउन थाल्छ कि! म सुरुसुरुमा सधैं मायालु थिएँ। कसैसँग प्रेममा पर्नुभन्दा अगाडि उनीहरूसँग मायालु हुन वास्तवमै कति सजिलो छ है!

अनुवादकः अनुप जोशी

मलाई लाग्छ कि उसले मलाई अलिअलि भए पनि मन त पक्कै पराउँछ। नभए उसले मलाई यत्तिकै दुई÷दुईपल्टसम्म ‘प्रियतमा’ भनेर सम्बोधन गर्ने थिएन। उसले मलाई मन पराउँछ भने, अलिकति मात्रै पनि मन पराउँछ भने अझै पनि आश बाँकी छ। बुझ्यौ परमेश्वर, तिमीले उसलाई फोन मात्र गर्ने बनाइदियौ भने मैले तिमीसँग अरु केही माग्नुपर्ने छैन। म उसलाई सधैँ माया गर्नेछु, म धेरै खुसी हुनेछु। म पहिले जस्ती थिएँ त्यस्तै हुनेछु र उसले मलाई फेरि माया गर्न थाल्नेछ। त्यसपछि त मैले तिमीसँग कहिल्यै केही माग्नु पर्ने छैन। यति कुरा बुझ्न सक्दैनौ तिमी भगवान? जसरी पनि उसलाई फोन गर्न लगाइदेऊ न! बिन्ती छ! बिन्ती, मेरो लागि त्यति एउटा कुरा गरिदिँदैनौ?

हे परमेश्वर ! के म खराब भएँ भनेर तिमीले मलाई सजाय दिइरहेका हौ? मैले केही नराम्रो गरें भनेर तिमी मसँग रिसाएका हौ? तर, संसारमा त कति धेरै पापी मान्छेहरू छन्– तिमीले मसँग मात्रै यस्तो कठोर बन्न मिल्दैन नि! र, मैले त्यस्तो खराब काम पनि के गरेको छु र? हामीले कसैलाई केही हानी पुर्याएका छैन भगवान्। अरुलाई पीडा दिने काम गर्दा मात्रै नराम्रो हुने हो। हामीले त कसैलाई दुःख दिएका छैनौ। तिमीलाई त्यो राम्रोसँग थाहा छ। तिमीलाई थाहा छ, हामीले कुनै नराम्रो काम गरेका छैनौ, होइन त परमेश्वर? यति भइसकेपछि अब तिमी उसलाई फोन गर्न लगाइदिँदैनौ?

यदि उसले मलाई फोन गरेन भने मैले बुझ्नेछु कि भगवान मसँग रिसाएका छन्। म पाँचपल्टसम्म सुरुदेखि ५०० सम्म गिन्ती गर्नेछु र यदि त्यतिबेलासम्म पनि उसले मलाई फोन गरेन भने मैले बुझ्नेछु कि ईश्वरले मलाई अब कहिले पनि मद्दत गर्ने छैनन्। त्यसलाई म संकेतको रुपमा लिनेछु। ५, १०, १५, २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५... पक्कै पनि मैले केही गलत गरेकी हुनुपर्छ। मलाई थाहा छ मैले त्यो गर्न नहुने थियो। ठीक छ भगवान् त्यसो भए मलाई नर्कमा पठाइदेऊ। तिमीलाई लागिरहेको होला कि नर्क भनेर तिमी मलाई तर्साइरहेका छौ, हैन त? तिमीलाई के लाग्छ तिम्रो नर्क मेरो यस्तो जीवनभन्दा उत्कृष्ट छ?

अहँ, हुँदैन। मैले यस्तो गर्नुहुँदैन। उसले मलाई आज अलिकति ढिला फोन गर्न लागेको पनि त हुनसक्छ। यत्ति कुरालाई लिएर यसरी बहुलाउनुपर्ने कुनै कारण छैन। हुनसक्छ उसले फोन नै गर्नेछैन.. हुनसक्छ कि ऊ फोन नै नगरी सीधै यहीं मलाई भेट्न आउँछ। म यसरी रोइरहेको देख्यो भने उसले के सोच्ला? केटाहरूलाई यसरी रोएको मन पर्दैन। ऊ कहिल्यै रुँदैन। हे भगवान्! यदि मैले उसलाई रुवाउन पाए! म कामना गर्छु कि मैले उसलाई रुवाउन सकूँ र उसलाई भुइँमा सुताएर उसको मुटु भारी र विशाल भएको महसुस गर्न सकूँ। कामना गर्छु कि म उसलाई नर्कभन्दा बेहत्तर पीडा दिन सकूँ।

उसले भने मेरो बारेमा त्यस्तो कामना गर्दैन। मलाई लाग्दैन कि उसलाई थाहा छ, उसले मलाई कस्तो महसुस गराउँछ। म कामना गर्छु कि उसलाई मैले नभनी पनि मलाई कस्तो अनुभूति हुँदै छ भन्ने ज्ञान होस्। केटाहरू यो सुन्न चाहँदैनन् कि उनीहरूको कारणले हामी रुँदै छौँ। उनीहरूले गर्दा हामी दुःखी छौं भनेर सुनाएको उनीहरू मन पराउँदैनन्। यदि हामीले त्यस्तो गर्यौं भने उनीहरूलाई लाग्नेछ कि हामी उनीहरूलाई नियन्त्रण गर्न खोजिरहेका छौं र उनीहरूमाथि हावी हुँदै छौं। र त्यसपछि उनीहरूले घृणा गर्न थाल्नेछन्। हामीले जे–जे सोचेका छौं, त्यो सबै कुरा उनीहरूलाई सुनाउन थाल्यौँ भने उनीहरूले घृणा गर्नेछन्। त्यसैले सधैं हामीले ससाना खेल खेलिरहनुपर्छ उनीहरूसित। ओहो, मलाई त लागेको थियो कि मैले जे सोचेकी छु त्यो सबै भन्दा हुन्छ। तर, त्यस्तो कहिले गर्नु हुँदो रहेनछ। उसले अहिले मलाई फोन गरिहाल्यो भने म भन्दिनँ कि म उसलाई सम्झेर निकै दुःखी थिएँ। उनीहरू दुःखी आत्मालाई घृणा गर्छन्। म त बरु निकै ज्ञानी र खुसी हुने थिएँ ता कि ऊ मलाई माया गर्न बाध्य होस्। पहिले उसले मलाई फोन त गरोस्। उसले मलाई फोन त गरोस्।

सायद अहिले ऊ मलाई फोन नै पो गर्न लागेको छ कि! हुनसक्छ ऊ मलाई फोन नगरीकनै सीधै यहीं भेट्न आउँदै छ। सायद ऊ बाटोमा छ होला। आउँदै गर्दा उसलाई केही भएको पनि त हुनसक्छ। अहँ, उसलाई केही पनि हुनसक्दैन। म उसलाई केही भएको कल्पना पनि गर्न सक्दिनँ। म उसलाई गाडीले किचेको कहिले पनि कल्पना गर्दिनँ। ऊ मरेर अचल र निर्जीव भएर सुतिरहेको मैले कहिले कल्पना गरेकी छैन। बरु ऊ मरे पनि हुन्थ्यो। ओहो, यो त निकै भयानक कामना हो? र, निकै प्रेमिल कामना पनि। यदि ऊ मर्यो भने ऊ सधैंको लागि मेरो हुनेछ। यदि ऊ मर्यो भने, म अहिलेको र विगत केही हप्ताका कुराहरूलाई कहिल्यै पनि सम्झिनेछैन। म हामीले बिताएका रमाइला क्षणहरूलाई मात्र सम्झिनेछु। त्यो सबै कति सुन्दर हुनेछ। म कामना गर्छु कि ऊ मरोस्, मरोस्, मरिहालोस्!

यो मूर्खता हो। कसैले जतिबेला फोन गर्छु भनेको थियो ठीक त्यतिबेला फोन गरेन भन्दैमा ऊ मरोस् भनेर कामना गर्नु मुर्खताबाहेक केही होइन। यो घडी छिटो भएको पनि त हुनसक्छ। यसले सही समय देखाइरहेको छ कि छैन मलाई कहाँ एकीनका साथ थाहा छ र? उसले फोन गर्ने बेला नै पो भएको छैन कि? कुनै सानो कारणले पनि उसलाई अलिकति ढिला गरिदिएको हुनसक्छ। उसलाई अबेरसम्म अफिसमै बस्नुपर्यो कि? मलाई नै फोन गर्छु भनेर कल्पदै ऊ घर पुग्दा कोही पाहुना आएकाले उसले फोन गर्न पाएन कि? उसलाई फेरि अरुको अगाडि मसँग फोनमा बोल्न मन पर्दैन। ऊ अलिअलि, थोरै मात्रै भए पनि मलाई यसरी पर्खाउनु परेकोमा चिन्तित छ होला। उसले मैले नै फोन गर्छु कि भनेर आश गरेर बसिरहेको पनि त हुनसक्छ। त्यति त मैले गर्न सक्छु नि! म आफैंले उसलाई फोन गर्न सक्छु।

अहँ, गर्नु हुँदैन। हुँदैन। किमार्थ मैले आफैं फोन गर्नु हुँदैन। हे परमेश्वर, बिन्ती छ मलाई फोन गर्नबाट रोक। तिमीलाई जस्तै मलाई पनि थाहा छ कि यदि ऊ मेरो बारेमा चिन्तित छ भने ऊ जहाँ भए पनि, जस्तोसुकै अवस्थामा भए पनि र उसँग जतिसुकै मान्छेहरू भए पनि उसले मलाई फोन गरेरै छाड्छ। मलाई कमसेकम यति कुराको त ज्ञान देऊ। म तिमीसँग मलाई मेरो सबै कुरा पूरा गरिदेऊ भन्दिनँ– तिमी सबै कुरा पूरा गरिदिन पनि सक्दैनौँ। त्यतिबेलासम्म त तिमीले एउटा नयाँ संसार नै निर्माण गर्न सक्छौ। बस्, मलाई सबै कुरा खुलस्त बताइदेऊ। यसरी आश गरेर म कहिलेसम्म बसूँ? तिमी नै भन न! म आफैंले आफैंलाई मिठा मिठा कुराहरू गरेर आश्वासनहरू दिइरहेकी छु। बिन्ती छ मलाई आश गर्ने नबनाइदेऊ। बिन्ती परमेश्वर!

म उसलाई फोन गर्दिनँ। म बाँचुन्जेलसम्म कहिले पनि उसलाई फोन गर्दिनँ। मैले उसलाई फोन गर्नुपूर्व नै ऊ नर्कमा कुहिने छ। तिमीले मलाई कुनै शक्ति पनि दिनुपर्दैन परमेश्वर! म आफैंसँग छ त्यति शक्ति त। यदि उसले मलाई चाहन्छ भने उसले मलाई पाउन सक्छ। उसलाई थाहा छ म कहाँ छु भनेर। म उसलाई पर्खेर बसिरहेकी छु भन्ने पनि उसलाई थाहा छ। ऊ मेरो बारेमा ढुक्क छ, पूरै ढुक्क छ। मलाई अचम्म लाग्छ कि हामीले उनीहरूलाई प्रेम गर्छौ र उनीहरूविना बाँच्न सक्दैनौं भन्ने ढुक्क भएपछि उनीहरू किन हामीलाई घृणा गर्न थालिहाल्छन्? झन् ढुक्क भएपछि त खुसी लाग्नुपर्ने होइन र?

उसलाई फोन गर्नु निकै सजिलो छ। फोन गरेपछि मैले सबै कुरा थाहा पाउँछु नि! यो कुनै मूर्खता हुँदैन होला। उसले नराम्रो सोच्दैन होला। के थाहा मैले फोन गरेको उसलाई मन पो पर्छ कि! उसले अहिले मसँग सम्पर्क गर्न प्रयास गरिरहेको पनि त हुनसक्छ। कतिपय अवस्थामा मानिसहरूले हजारपल्ट फोन गर्ने प्रयास गर्छन् र फोन नै लाग्दैन। मैले यो आफैंलाई सान्त्वना दिनलाई कल्पना गरेको कुरा पनि त होइन। त्यस्तो वास्तवमै हुन सक्छ। हे परमेश्वर, तिमीलाई पनि थाहा छ नि फोन नलाग्न सक्छ। हे परमेश्वर, मलाई यो टेलिफोनबाट टाढा लैजाऊ। मलाई कतै दूर लैजाऊ। अलिकति भएपनि मभित्रको स्वाभिमानलाई जोगाइराख। भगवान, मलाई लाग्छ कि मलाई भविष्यमा त्यसको खाँचो पर्नेछ । सायद मसँग त्यही स्वाभिमान मात्र बाँकी रहनेछ।

उसँग बोल्न नपाउँदा एकछिन अडिन नसकिरहेको मलाई जाबो स्वाभिमानले के नै महत्व राख्छ र? यस्तो खालको स्वाभिमान एकदमै मूर्खतापूर्ण र बहुलापन मात्र हो। साँचो स्वाभिमान, महान् स्वाभिमान त स्वाभिमान नै नहुनु हो। मैले यो यसकारण मात्र भनेको हैन कि म उसलाई फोन गर्न चाहन्छु, किमार्थ होइन। यही सत्य हो। मलाई थाहा छ यही नै सत्य हो। म यस्ता ससाना स्वाभिमानहरूबाट माथि उठ्नेछु।

बिन्ती परमेश्वर, उसलाई फोन गर्नबाट मलाई रोक। बिन्ती, परमेश्वर!

मलाई थाहा छैन यसमा स्वाभिमानको के सम्बन्ध छ? यो त एउटा सानो कुरा न हो। यसमा स्वाभिमानको कुरा ल्याउनुपर्ने र यत्रो कोकोहोलो मच्चाउनुपर्ने के नै जरुरत छ र? कतै मैले नै उसलाई बुझ्नमा गल्ती गरें कि? सायद उसले मलाई नै पो ५ बजे फोन गर्न भनेको थियो कि? ‘प्रियतमा, मलाई ५ बजे फोन गर। उसले यो भनेको पनि त हुनसक्छ नि। मैले उसले भनेको राम्ररी नसुनेको हुनसक्ने पनि उत्तिकै प्रबल सम्भावना छ। ‘प्रियतमा, मलाई ५ बजे फोन गर’, म अब पूरै विश्वस्थ छु कि उसले यही नै भनेको थियो। हे परमेश्वर, मलाई यसरी एक्लै आफैंसँग बोल्ने नबनाऊ। सत्य कुरा के हो मलाई अवगत गराऊ। बिन्ती ! मलाई सही बाटो देखाऊ।

अब म अरु नै केही कुरा सोच्छु। बरु म चुपचाप बस्छु। यदि म स्थिर भएर बस्न सकेकी भए पक्कै पनि बस्थें। बरु म केही पढ्छु। तर संसारका सबै किताबहरू यस्ता मान्छेहरूको बारेमा लेखिएका छन् जो एक अर्कालाई साँचो र इमान्दारीका साथ प्रेम गर्छन्। किन उनीहरू त्यस्तो किताब लेख्छन् होला? के उनीहरूलाई थाहा छैन कि त्यो सत्य होइन? के उनीहरूलाई थाहा छैन कि त्यो झूट हो, महाझूट हो? उनीहरूलाई मायामा यतिविध्न पीडा छ भन्ने थाहा हुँदाहुँदै किन त्यस्तो भन्नुपर्यो? महापाप लागोस् तिनीहरूलाई। मरुन् तिनीहरू!

म अब शान्त भएर बस्छु। यसमा यस्तो उत्साहित हुनुपर्ने केही कुरा छैन। मानौं कि ऊ मसँग सामान्य चिनजान मात्र भएको कोही व्यक्ति थियो। त्यतिबेला मैले उसलाई एक कल फोन लगाउँथें र सिधैं भन्थें, ‘ए, तिमीलाई के भयो हँ ?’ मैले फटाफट त्यही गर्थें र त्यसबारे कहिले केही सोच्दैनथें। म किन उसँग अरुसँग जस्तो सामान्य हुन सक्दिनँ? यत्ति कारणले गर्दा कि म उसलाई प्रेम गर्छु? अब भने म सामान्य बन्छु। साँच्चै म सामान्य बन्न सक्छु। अब म उसलाई फोन गर्छु र निकै सहजताका साथ सरल र रमाइलो व्यवहार गर्छु । तिमी हेर्दौ जाऊ, म कसरी त्यसो गर्छु, भगवान्। ओहो, म यो के गर्न लाग्दैछु? बिन्ती छ परमेश्वर, मलाई उसलाई फोन गर्ने नबनाऊ । कुनै पनि हालतमा मलाई फोन गर्न नलगाऊ।

हे परमेश्वर, तिमी वास्तवमै उसलाई मलाई फोन गर्न लगाउँदैनौ? के तिमी यसमा दृढ छौ, भगवान? के तिमी एकपल्टलाई आफ्नो निर्यणबाट पछाडि हट्न सक्दैनौ? सक्दै सक्दैनौ? बरु म तिमीलाई अहिल्यै उसलाई फोन गर्न लगाऊ पनि भन्दिनँ। हे परमेश्वर, एकछिनपछि फोन गर्न लगाए नि हुन्छ। म ५ पल्ट ५ समयसम्मको गिन्ती गर्छु। म एकदमै विस्तारै र झेली नगरिकन गिन्ती गर्छु। यदि त्यतिबेलासम्म पनि उसले मलाई फोन गरेन भने म आफैं उसलाई फोन गर्छु। म आफैं गर्छु । हे परमेश्वर, हे संसारका मालिक, हे प्रिय दयालु भगवान, हे मेरा स्वर्गका परमपिता, त्योभन्दा अगाडि उसलाई नै फोन गर्ने सद्बुद्धि देऊ। बिन्ती गर्छु परमेश्वर, बिन्ती गर्छु!
५, १०, १५, २०, २५, ३०, ३५.....

अनुवादः अनुप जोशी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .