ad ad

म्यागेजिन


गुलाफवाली

गुलाफवाली

विनोद उप्रेती
भदौ २१, २०७६ शनिबार १२:३९,

फाल्गुन २ गते अर्थात प्रणय दिवस। म आफ्नै कपडा पसलमा सामान मिलाएर बसिरहेको थिएँ। बाहिर भिडभाड र कोलाहल भए पनि कानमा सुमधुर संगीतको ध्वनि र मन एकदमै खाली थियो।

कोही हातमा गुलाफको फूल बोकेर हिँडिरहेका थिए। कोही नजिकैको पसलबाट गुलाफ किनिरहेका थिए।

व्यापारीहरु मुसुक्क मुस्कुराउँदै गुलाफ दिइरहेका थिए। युवा–युवती पनि मुस्कानका साथ गुलाफ लिइरहेका थिए। दुवैको मिश्रित मुस्कान बेमिसाल थियो।

तर, गुलाफ रोइरहेको थियो। गुलाफ कति त्याँगी छ है। आँफू चुडिएर अरुको मन जोडाउँछ।

मेरो मनमा यस्तै केही थान प्रश्न र केही थान विचारहरु खेलिहरका थिए। म कतै टोलाइरहेको थिएँ।
०००
हातभरी गुलाफ लिएर एक युवती पसलमा यसरी मुस्कुराउँदै आइन्। एनको त्यो मुस्कान देख्दा यस्तो लाग्थ्यो– हामी युगौँ युगदेखि चिरपरिचित छौँ।

‘सुन्नुस न।’

‘भन्नुस न।’

‘तपाईं मेरो एउटा गुलाफ राखिदिनुस न है।’ ऊ त फूलको व्यापार गर्न पो आएकी रहिछ।

मैले पनि भनिदिएँ, ‘खासमा मलाई चुँडेको फूल मन पर्दैन र यो फूल दिनलाई कोही आफ्नो भन्ने मान्छे पनि छैन।’

‘यो फूल गमलामा रोपेर त हेर्नुहोस्। चुडिएँ पनि यो गुलाफले आफैँ जरा हालेर मौलाउने छ अनि फूलेर तपाईंको मनलाई प्रफुल्लित बनाउने छ’ ऊ फेरि मुस्कुराई।

उसकोे कुरामा म लठ्ठ भइदिएँ। मानौँ उनले मलाई मोहनी लगाई।

ऊसँग परिचय गर्न मन लाग्यो।

‘तपाई‌ंको नाम?’

‘सुगमा शर्मा।’

‘अनि तपाईको?’

‘सुवास आचार्य।’

फेरि सोधेँ।

‘कहाँ बस्नुहुन्छ?’

‘गोदावरी।’

मैले उसका बारेमा अन्य जानकारी नसोध्दै ऊ आफैँ बोल्न थाली– ३ वर्षको हुँदा बुबा बित्नुभयो। ८ वर्षको हुँदा आमा पनि मलाई छाडेर जानुभयो।

‘आमाले त्यसो नगर्नुपर्ने’ मुखबाट फुत्त निस्किहाल्यो।

मेरो एक बाक्यले उनका आँखा रसाउन थाले। आँसु पुछ्दै भनिन्, ‘आमाले मलाई छाडेर अन्त कतै जानुभएको हैन, आमा पनि भगवान कै घर जानुभो।’

अब भावुक हुने पालो मेरो आयो। निन्याउरो मुख लगाएर कान समाएँ।

‘तपाईं अञ्जान हुनुहुन्छ माफी माग्नै पर्दैन’ उसले भनी।

उनका हरेक शब्दले मेरो मनलाई अनियन्त्रित बनाइरहेको थियो। यस्तो लाग्दै थियो मेरो मन उडेर अन्त कतै जाँदै छ।

अब त संवाद पनि टुंगिएछ।

मैले एउटा गुलाफ मागेँ। मूल्य १५० रुपैयाँ भनी। मैले खुरुक्क दिएँ। पैसा थमाउँदा उनको मुलायम हातमा मेरो हातले स्पर्श गर्यो।

उसले खुसी हुँदै भनी, ‘मैले यो गुलाफ अनाथ आश्रमको खर्चका लागि बेच्न ल्याएकी।’

भावनाको तरंगमा बहने मान्छे म। उसका शब्दले भावुक बनेँ। उसको खुसी बन्न मन लाग्यो। र, उनको हातमा रहेका गुलाफका सबै फूल मैले किनिदिएँ।

मुसुक्क मुस्कुराएर मिलेका दाँतका पंक्ति देखाउँदै उसले मलाई सबै गुलाफ दिई। मैले उसलाई गुलाफको मूल्य दिएँ। केही छुट पनि पाएँ।

उसको हातको गुलाफ मैले लिएँ तर मेरो मन उसले लगी।

‘सुगमाजी म यी गुलाफलाई गमलामा रोपेर अनाथ हुनबाट बचाउने छु’ आफ्नो हातमा फूल आइसकेपछि मैले भनेँ।

उसले कुरा नबुझेजसरी मलाई एकोहोरो हेरिरही।

मैले थपेँ, ‘जब यो गुलाफ बोटमा थियो, त्यतिबेला आफ्नै परिवारसँग हाँसीहाँसी सुवास छरिरहेको थियो। यसका हाँगा भाँचेर परिवारबाट टाढा गराइयो। मान्छेहरु यसको पीडा महसुस गर्न सक्दा हुन् त?’

ऊ भावुक भई तर कुनै प्रतिक्रिया जनाइन। पसलबाट निस्कन खोज्दै थिई मैले गह्रौँ मुटु बनाएर उसको फोन नम्बर मागेँ।

‘के तपाईं मलाई आफ्नो मोबाइल दिन सक्नुहुन्छ?’ उसले मेरो मोबाइल मागी र आफ्नो नम्बर डायल गरी। नम्बर डायल गरिसकेपछि मेरो हातमा थमाइदिई।

अब ऊ पसलबाट निस्किइ। त्यति नै बेला मैले उसलाई अलि गहिरिएर नियालेँ। सायद उसको उमेर २०–२२ वर्षको हुनुपर्छ।

मोबाइलमा उसले डायल गरेको नम्बर हेरेँ। नम्बर सेभ गर्दा उसको नाम ‘गुलाफवाली’ राखिदिएँ।

उसले आफू दिनभर अनाथ आश्रममा हुने र आफ्ना कोही साथी नभएको नबताएको भए सायम म नम्बर माग्न सक्ने थिइनँ। यदि ऊप्रति म आकर्षित नभएको भए पनि सक्ने थिइनँ। मन न हो। माग्यो, मैले कुनै गल्ती पनि त गरेको छैन।

गुलाफवाली गइसकेपछि मैले गमला किनेर ल्याएँ। अनि रोपिदिए घर वरिपरि गुलाफको फूल।
०००
एक हप्तापछि मैले गुलाफवालीलाई फोन गरेँ। उसले पहिलो रिङमै रिसिभ गरी। उसले म बोल्नुअघि नै सुवास भनेर सम्बोधन गरी।

म यता पुलकित भएँ। सामान्य कुरा भयो। फोन काटियो।

त्यसपछि दिनानुदिन कुरा बढ्दै गयो। महिनापछि त प्रेमको एउटा साम्राज्य नै खडा भयो। भेटघाट बाक्लियो। यता गुलाफको बोट पनि मौलाउँदै गयो। विस्तारै गुलाफ फक्रियो।

तर, मैले उनलाई सम्बोधन गर्ने नाम फेरिएन– गुलाफवाली। यो नाम उनलाई पनि त प्रिय लागेको थियो।

एकदिन उसले मलाई सोधी, ‘तपाईं मलाई कति माया गर्नुहुन्छ?’

‘जुन माया तिमीले आमाबाबाट पूर्णरुपमा पाएकी छैनौं, त्यो माया म तिमीलाई महसुस गराउन चाहन्छु’ मैले भनेँ। ऊ गमक्क हुने भइहाली।

मलाई सगरमाथाको चुचुरोमा पुगेर मायाको झन्डा फहराइरहेको महसुस भइरहेको थियो। सायद उसलाई पनि। हामी खुसी थियौँ।

हाम्रो समस्या, बाध्यता र जिम्मेवारीहरु खुलेर एकअर्कालाई सुनाउँथ्यौँ। जीवन रमाइरहेको थियो।
०००
एकाबिहानै सुगमाले फोन गरी। केही दिनदेखि आफ्नो मुटु दुखेको बताई। म आश्रम गएर उसलाई अस्पताल लिएर गएँ।

चेकजाँच भयो। अर्को दिन रिपोर्ट आयो। उसको मुटुमा त प्वाल परेको रहेछ! अब होस गुम्ने पालो मेरो आयो। तर, मैले यो कुरा उसलाई भनिनँ।

केही दिनपछि पैसाको बन्दोबस्त गरेर उसको उपचार सुरु भयो। केही दिनको अस्पताल बसाईपछि उसलाई मैले आश्रममा ल्याएँ।

उसलाई आश्रममा छाडेर जाने बेला भनेँ, ‘आत्तिनु पर्दैन। म छु नि तिम्रो साथमा’

ऊ रुन थाली। तर, मैले आँसु मनमै दबाएँ। उसलाई झन् कमजोर बनाउन मन लागेन। उसको आँसु पुछिदिएँ।

तत्कालै उनलाई छाडेर जान मनले मानेन। जानु त थियो। ‘म तिमीलाई भोलि भेट्न आउँछु, तिमी आराम गरेर बस्नु’ भनेँ।

उसले मलाई च्याप्प समाइ र अंगालो हाली। यसरी अंगाली मानौँ म उसलाई सधैँका लागि छाडेर टाढा जाँदै छु र ऊ मलाई छाड्न चाहन्ने।

तर, म त जानु थियो। गएँ।
०००
उनको मुटु बारम्बार दुख्न थाल्यो। बारम्बार अस्पताल जानु पर्ने भयो। निको हुने सम्भावना थिएन। सम्भावना भए पनि हामीसँग पैसा थिएन।

सायद मुटु दिन मिल्ने भएको भए म उनलाई आफ्नो मुटु झिकेर दिन्थेँ। उसलाई समस्याबारे थाहा पनि भइसकेको थियो। त्यसैले ऊ बढी तनाबमा हुन्थी। मसँग भेट हुनासाथ आँसु खसाल्थी।

हप्ता, महिना, वर्ष गर्दागर्दै ऊ एकदमै कमजोर भई। प्रायः म ऊसँगै हुन्थेँ। तर, मेरै मनोबल कमजोर हुन थालिसकेको थियो।

एकदिन उसले मेरो हात समाई। भनिन, ‘तपाईं संसारकै सबैभन्दा सुन्दर प्रेमी हुनुहुन्छ। म नरहे पनि सधैभरी मेरो प्रेम तपाईंसंगै हुनेछ।’

उसले मलाई भावुक बनाई। तर, खोई किन हो म उसको अगाडि कहिल्यै रुन सकिनँ। त्यसदिन ऊ रोइरही। रोकिइन।

मैले आँसु पुछेँ। उसले नदेख्नेगरी।

उनको हात मेरो हातमा थियो। एक्कासी चिसो भयो। म आत्तिएँ।

सुगमा...सुगमा...सुगमा...। ए... गुलाफवाली...।

ऊ बोलिन।

मेरो मन उसको हातजस्तै चिसो भइदियो। उता उसले दिएका गुलाफहरु पनि त गमलामा ओइलिसकेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .