ad ad

म्यागेजिन


यस्ता सेलिब्रिटी जसलाई भाइरल हुनु छैन (भिडिओ)

यस्ता सेलिब्रिटी जसलाई भाइरल हुनु छैन (भिडिओ)

प्रशान्त लामिछाने
बैशाख ९, २०७८ बिहिबार १३:२०,

सन् २०१५ को एउटा गोधुलीमा अभिषेक पोखरेल र प्रज्ज्वल अर्याल काठमाडौँबीच कतै भेट भएको थियो। त्यही भेट आज युवा पुस्ताबीच चर्चित 'फसफिन्स' ब्यान्डको जननी बन्यो।

त्यो भेटमा अभिषेक र प्रज्ज्वलले गीत गुनगुनाउँदै थिए। केही लेख्दै थिए, अनी गितार बजाउँदै कुरा गर्दैथिए। त्यही छोटो माहोलमा दुई मित्रले एउटा गीत तयार पारे। अनि उनीहरुलाई लाग्यो, अब हामीले यो ऊर्जालाई एउटा स्वरुप दिनुपर्छ। त्यही सोचले जन्मायो 'फसफिन्स'।

सानेपाको सानो गल्लीभित्र एउटा प्रोडक्सन हाउस छ। यसै साता त्यहीँ भेटिए अभिषेक र अमन कर्ण। अमन पनि त्यही ब्यान्डका सदस्य हुन्। प्रज्ज्वल भने भेटिएनन्। अमनको पनि 'फसफिन्स' मा आउँदाको छुट्टै कथा छ।

कुराकानीको सुरुवातमै अभिषेकलाई सोध्यौं, 'फसफिन्सको अर्थ के हो?' अमनले हाँस्दै भने, 'यो त तिरिमिरी झ्याँइ भने जस्तै हो।' अर्थात् चम्किलो उज्यालोमा हेरेपछि वा आँखा मिचेपछि हेर्दा जुन दृष्य देखिन्छ 'फसफिन्स' को अर्थ त्यही हो। आफ्नो ब्यान्डको नाम बिम्बात्मक रहेको बताउँछन् अभिषेक।

phosphenses 1

'फसफिन्स' सहरको एक 'इन्डिपेन्डेन्ट' सांगीतिक समूह हो। उनीहरु आफ्नै गीत बनाउँछन्, लय भर्छन् र सुर दिन्छन्। कसैकसैलाई उनका गीत 'बेसुरा' पनि नलाग्ने होइन। तर त्यसप्रति उनीहरुलाई कुनै चासो चिन्ता छैन।

'आफू सन्तुष्ट हुने गीत र संगीत तयार भएपछि मात्र हामी लाइभमा जान्छौँ' अभिषेकसँगै रहेका अमनले भने, 'हाम्रा दर्शक स्रोता भनेका हाम्रो संगीतकर्म बुझ्नेहरु हुन्।'

phosphenses 7

कोरोना कहरपछि खुलेको उपत्यकामा उनीहरुले केही समय अगाडि 'एक्लै हुँदा' नाम दिएर कन्सर्ट आयोजना गरेका थिए। त्यो साँझ उनीहरुको संगीतमा झुम्ने युवापुस्ताको कमी थिएन झम्सिखेलमा। एक रेष्टुरेन्टको छतमा भइरहेको कन्सर्ट सकिँदासम्म पनि दोस्रो गीत चाहनेहरुको आवाज आइरहेको थियो, 'वन्स मोर', 'वन्स मोर।'

अभिषेक र प्रज्ज्वल ब्यान्डका भोकलिष्ट हुन् भने अमन गिटारिस्ट। ब्यान्ड सुरु भएको एक वर्षपछि एक कार्यक्रममा अभिषेक र प्रज्ज्वललाई अमनले भटेका थिए। त्यो भेट उनीहरु अझै सम्झिन्छन्।

'एउटा कुनै सांगीतिक कार्यक्रम थियो। अमनसँग पहिलो भेट त्यहीँ भएको हो', अभिषेक भन्छन्, 'सुरुमै अमनले हाम्रो पहिलो गीत 'डस्ट' बारे कुरा गर्यो।'

अमनले पहिलो भेटमा नै 'केटाहरु डस्ट त बबालै छ नि' भन्दै कुरा थालेको सम्झन्छन् अभिषेक। यो भनिरहँदा छेवैमा रहेका अमनको अनुहारमा मन्द मुस्कान छाउँछ।

phosphenses 2 1

उनीहरुले त्यो भेटमै सँगै काम गर्ने कुरा गरे। तर अमन एक महिनासम्म हराए। अभिषेक र प्रज्ज्वलले उनलाई खोजे तर उनी एक महिनासम्म पनि आइपुगेनन्। किन?

अमनले भने, 'संगीतमा करियर बनाउनु थियो। फेरि यहाँ पनि केही नहुने हो कि भन्ने मनमा थियो। त्यसैले ढिला भयो।'

तर उनीहरु तीनजना जोडिएपछि अहिलेसम्म पछि फर्किनु परेको छैन। ब्यान्डले दिन प्रतिदिन उचाइ लिँदै गइरहेको छ।

सहरमा 'कभर गीत' गाउनेको चर्चा धेरै छ। तर 'फसफिन्स' ले कसैको गीत होइन आफ्नै गीत गाउँछ। त्यो पनि इन्डी विधामा। यो नेपालमा गरिएको नयाँ अभ्यास भएको बताउँछन् अभिषेक। इन्डी पप सन् १९७० को दशक सेरोफेरोमा बेलायतलगायतका देशबाट सुरु भएको मानिन्छ।

Phosphenes Band 1

उनीहरुले तयार पारेका ११ गीतलाई युट्युबमा पनि राखेका छन्। ११ मध्ये एउटा गीत 'एक्लै हुँदा...' भने नेपालीमा छ। उनीहरुले एउटा इपी (एल्बमको सानोरुप) निकालिसकेका छन्। अहिले एल्बम निकाल्ने तयारीमा छन्।सबै काम सकिएमा जुन महिनातिर सार्वजनिक हुने बताउँछन् अभिषेक।

'सबै तयारी पुरा भएको छ। सायद जुनतिर एल्बम लन्च गर्छौं,' अभिषेकले भने, '१४ वटा गीत समेटेका छौं।' उक्त एल्वमको नाम उनीहरुले 'सलोन डेज' दिएका छन्।

समय डिजिटल छ। पहिले जस्तो क्यासेट' किन्ने समय छैन। त्यसैले उनीहरुको एल्बम पनि डिजिटल भर्सनमा आउँदैछ। जसलाई स्रोताले अनलाइनबाटै किन्न सक्नेछन्।

जमाना 'भाइरल' को छ। जो भाइरल भयो उसको चर्चा हुन्छ। तर 'फसफिन्स' का सदस्यहरुलाई न भाइरल हुनु छ न चर्चित हुने कुनै लोभ। मात्र छ त केवल राम्रो गीतसंगीत सिर्जना गर्ने चाह।

युवापुस्ताले उनीहरुका गीतलाई किन पच्छ्याइरहेका छन्? अमनको जवाफ छ, 'हाम्रो गीत टेक्निकल छैनन्। साधारण शब्द र संगीतमा मानिसका कुरा बोल्न खोज्छौं सायद त्यसैकारण स्रोताले मनपराइरहेका छन्।'

हामीले साधारणतया सुनिरहने जस्तो गीत उनीहरुको ब्यान्डले पस्कँदैन। पहिलो पटक सुन्नेहरुलाई यो बिल्कुल नयाँ लाग्छ।

अहिले पनि संगीतलाई समाजले प्राथमिकता नदिएको तैपनि विस्तारै मानिसको बुझाइ फेरिदै गएको उनीहरुले महसुस गरेका छन्। अभिषेकको मुख्य काम नै संगीत हो। 'पढ्ने उमेरमै संगीतमा!' भन्ने प्रश्नह उनीहरुलाई नआएका होइनन्। तर आफ्नो काम नै संगीत भएकोमा प्रष्ट छन् उनीहरु।

भैरहवामा जन्मे हुर्केका अमनलाई स्कुले दिनको एउटा घटना झलझली याद छ।

सरस्वती पूजाको दिन थियो। उनी गितार बोकेर स्कुल पुगे। उनलाई लागेको थियो कुनै गीत वा सरस्वती बन्दना गितार बजाउँदै गाउँछु। तर शिक्षकहरुले नै उनलाई त्यो प्रेरणा दिएनन्।

phosphenses 5

'पढ्ने बेलामा गितार!' भन्दै उनलाई किताबमा ध्यान दिन भनियो। तर उनको मन गीत संगीतमा झुमिसकेको थियो। यो घटनाले उनलाई झन् राम्रो गर्छु भन्ने प्रेरणा दियो। सुरुवाती दिनमा संगीतमा रमाउन गाह्रो भए पनि अहिले उनीहरुको संगीतमा युवा पुस्ता रमाइरहेको देख्दा अभिषेकका साथीहरुले उनको प्रशंसा गर्छन्।

साथीहरुबीच गितार बजाउँदै गीत गाउँदा स्वर राम्रो भएन भन्नेहरुले अहिले उनीसँग 'सरी' भन्ने गरेका छन्। 'संगीतले पेट भरिदैन, स्वर राम्रो छैन कसरी गीत गाउँछस् र?' भन्नेहरु अहिले आफ्ना फ्यान बनेको देख्दा अभिषेक हिजोआज मख्ख छन्।

उनीहरु अहिलेकै 'स्टारडम' मा सिमित हुने पक्षमा छैनन्। अहिले जति चर्चा छ यसलाई बाहिरी दुनियाँसम्म पुर्‍याउने आकांक्षा छ।

'सानो देशबाट सुरु भएको हाम्रो ब्यान्डका गीतलाई अन्तराष्ट्रिय स्रोतासम्म पुर्‍याउने लक्ष्य छ,' अभिषेक भन्छन्, 'एक दिन कसो सफल नभइएला र!'

हेर्नुहोस् भिडिओ :

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .