ad ad

म्यागेजिन


सौरभ ग्रुपका विष्णुप्रसादको छलाङ : बर्मामा रोपिएको व्यवसायको बीउ नेपालमा हुर्कियो

सौरभ ग्रुपका विष्णुप्रसादको छलाङ : बर्मामा रोपिएको व्यवसायको बीउ नेपालमा हुर्कियो

सन्तोष न्यौपाने
फागुन १३, २०७७ बिहिबार १६:४७,

सौरभ ग्रुप नेपालकै ठूलो व्यावसायिक घरानामध्ये एक हो। यसका प्रमुख विष्णुप्रसाद न्यौपाने अहिले १२ वटा ठूला उद्योग चलाउँछन्। यो घरानाको व्यवसायको बिऊ भने करिब सय वर्षअघि रोपिएको थियो। त्यो पनि बर्मामा।

कलिलै उमेरमा नेपालबाट बर्मा पुगेका लीलाराम न्यौपानेले त्यहीँ व्यवसाय सुरु गरेका थिए। त्यहाँबाट फर्केर लीलारामले भैरहवामा सौरभ इम्पेक्स खोलेका थिए।

त्यसैलाई मलजल गर्दै उनका कान्छा छोरा विष्णुप्रसादले सौरभ ग्रुप स्थापना गरेका हुन् भने जेठो छोरा शोभाकर अम्बे ग्रुप हाँकिरहेका छन्।

सिभिल इन्जिनियरिङ पढेर सरकारी जागिर खाएका विष्णुप्रसाद कसरी मुलुककै ठूलो व्यावसायिक घराना स्थापना गर्न सफल भए त?

BishnuPrasad Neupane7

उनको व्यवसायिक यात्राको कथा सुन्न हामी मंगलबार तीनकुनेस्थित न्यौपाने टावरमा पुग्यौँ। त्यहाँ उनी सर्वोत्तम सिमेन्टले ल्याउन लागेको प्राथमिक साधारण सेयर (आईपीओ) बारे छलफलमा व्यस्त थिए।

सर्वोत्तम सिमेन्टले नेपालमै पहिलो पटक ‘बुक बिल्डिङ’ प्रणालीबाट आईपीओ जारी गर्न लागेको छ। सर्वत्र चासोको विषय बनेको यही आईपीओसँगै हामीले कुराकानी सुरु गर्‍यौँ।

‘अहिले हामी प्रि–आईपीओको तयारीमा व्यस्त छौँ,’ विष्णुप्रसादले भने, ‘पहिलो पटक बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेकाले नेपाल धितोपत्र बोर्ड (सेबोन), संस्थागत लगानीकर्तादेखि हामी सबैलाई नयाँ अनुभव हुँदैछ।’

सबैको लागि नयाँ भएकाले प्रि–आईपीओ तयारीमा समय लागिरहेको छ। अहिले उनीहरुले संस्थागत लगानीकर्ताहरुसँग (क्यापिटल मार्केट) छलफल गरिरहेका छन्। संस्थागत लगानीकर्ताहरु पनि आफ्नै तरिकाले लागिरहेका छन्।

ग्लोबल आईएमई बैंकलाई इस्यु म्यानेजर बनाउन सम्झौता गरिसकेको सर्वोत्तमले कृति माछापुच्छ्रे क्यापिटललाई एड्भाइजरका रुपमा नियुक्त गरिसकेको छ।

‘यो प्रक्रियामा कम्तीमा १० क्यापिटल भेन्चरले ४० प्रतिशत सेयर लिन्छौँ भन्ने एकिन हुनुपर्छ र बाँकी ६० प्रतिशतको अन्डरराइटिङ गर्छु भन्नु पर्छ,’ उनले भने, ‘आईपीओबाट ६० प्रतिशत बिक्री भएन भने आफैँ लिन्छु भन्ने ग्यारेन्टी पनि हुुनुपर्छ। अहिले यही प्रक्रियामा छौँ। विधिवत रुपमा आईपीओ निवेदन दिनलाई १० वटा क्यापिटल मार्केटबाट आशय मूल्य तोक्नुपर्छ। यो प्रक्रिया फागुनभित्र सक्ने लक्ष्य छ।’

BishnuPrasad Neupane3

त्यसरी संस्थागत लगानीकर्ताले लिएको ४० प्रतिशत सेयर ६ महिनासम्म बेच्न पाइँदैन। ती लगानीकर्ता धितोपत्र बोर्डमा ओभरद काउन्टर (ओटीसी) दर्ता भएका छन्। बोर्डले माघ १० गते नै आईपीओ जारी गर्न स्वीकृति दिएको थियो।

यसमा ढिला भएपछि अहिले सेबोनमा संस्थागत लगानीकर्ताहरु सूचीकृत भइरहेका छन्।

नेपालमा अहिलेसम्म बुक बिल्डिङ प्रणाली नभएकाले संस्थागत लगानीकर्ताको संख्या पनि निकै कम छ। नेपालमा अहिलेसम्म संस्थागत लगानीकर्ता २६ वटा छन्। जबकि बंगलादेशमा तिनको संख्या करिब १२ सय रहेको उनले बताए।

तिनको संख्या पनि बढोस् भनेर आफूहरुले पर्खिरहेको उनले बताए।

सर्वोत्तम सिमेन्टको आईपीओ जारी गरेपछि त्यसबाट आएको पुँजीले ऋण चुक्ता गर्ने र बाँकी पुँजीले उद्योग विस्तार गर्ने उनको योजना छ।

धागो कारखानाको लागि थप मेसिन ल्याउन भारत पुगेका विष्णुप्रसाद कारखाना विस्तारमा लागिरहेका छन्। उनी पूर्वमा रहेको चिया खेतीलाई पनि विस्तार गरेर कृषिमा लगानी बढाउन चाहन्छन्।

BishnuPrasad Neupane4

गुल्मीदेखि बर्मासम्म
गुल्मी छत्रकोट गाउँपालिकामा जन्मेका लीलाराम न्यौपाने सानैमा बर्मातिर लागे।

त्यो बेला नेपालबाट बर्मामा गएर व्यापार व्यवसाय गर्ने चलन थियो। त्यही चलन पछ्याएर सन् १९२९ मा बर्मा पुगेका लीलारामले लासियो भन्ने ठाउँमा डेरी प्रोसेसिङ उद्योग खोले।

‘बर्मामा धेरै नेपाली गाई पाल्थे,’ विष्णुप्रसादले आफ्ना बुबाले व्यवसाय सुरु गर्दाको अनुभव सुनाए, ‘दूध प्रशोधन गर्दै त्यसबाट बटर बनाएर सहरमा लगेर बेच्नुहुन्थ्यो।’

व्यवसाय विस्तार गर्ने क्रममा लीलारामले भारतबाट सामान खरिद गरेर किरानाको थोक व्यवसाय पनि गर्नथाले।

उनको व्यवसाय चलिरहेको थियो। सन् १९६२ तिर बर्मामा राजनीतिक उथलपुथल भयो। सेनाले सत्ता कब्जा गर्‍यो। बाहिरबाट गएका लीलारामजस्ता व्यवसायीलाई समस्या भयो।

त्यहीबेला सेनाले आर्थिक सुधार गर्ने भन्दै ‘डिमोनिटाइजेसन’ को नीति ल्यायो।

‘एक हजारसम्मका सबै नोट हटाएर साढे सात, १५ रुपैयाँ, ३५, ७५, १५० रुपैयाँका नोट चलनमा ल्यायो,’ विष्णुप्रसाद भन्छन्, ‘पुराना नोट नचल्दा व्यापार गर्नेलाई ठूलो नोक्सान भयो।’

त्यसपछि लीलाराम नेपाल फर्किए।

BishnuPrasad Neupane2

भैरहवामा व्यवसाय सुरु
२०१८ सालतिर भैरहवा होलसेल पसलको ‘हब’ थियो। भारतको पनि नजिक भएकाले व्यापारिक केन्द्र विकास हुँदै थियो। बुटबल खासै विकास भएको थिएन।

त्यही बेला बर्माबाट फर्किएका लीलारामले रुपन्देहीको मनिग्राममा जग्गाजमिन किने। विस्तारै बर्मामा आर्जन गरेको सम्पत्तिलाई नेपाल ल्याएपछि २०२१ सालदेखि उनी यतै बस्न थाले।

‘बुबाले नेपाल आएपछि सौरभ इम्पेक्स भनेर भैरहवामा होलसेल पसल खोल्नु भयो,’ विष्णुप्रसादले भने, ‘त्यो नै नेपालमा हाम्रो पहिलो व्यवसाय थियो।’

त्यससँगै उनले नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ, हात्तीछाप चप्पल, गोपी कपडा उद्योगको डिलर लिए। त्यो बेला व्यापारमा यी संस्थाहरुको जगजगी थियो। काठमाडौं इन्द्रचोकका साहुहरुको पसलबाट विदेशी सामान पनि लगेर बेच्थे।

पसल र अन्य व्यापारमा विष्णुप्रसाद पनि बुबालाई सघाउँथे। उनी पैसा उठाउन बुटबल, अर्घाखाँची, दाङ लगायतका जिल्लामा पुग्थे। 

लीलाराम व्यवसाय विस्तार गर्न चाहन्थे। त्यसैले उनले २०२३ सालमा ‘लुम्बिनी बस व्यवसायी समिति लिमिटेड’ कम्पनी खोले। बर्माबाट आएका केही नेपाली मिलेर थुप्रै बस किनेका थिए।

२०३६ सालसम्म आइपुग्दा उनको परिवारले काठमाडौंमा जग्गाजमिन किनेर व्यवसाय सुरु गरिसकेको थियो।

BishnuPrasad Neupane5

सरकारी जागिर
व्यापारमा जमिरहेका लीलाराम छोराहरुलाई राम्रो पढाउन चाहन्थे। बुबाको त्यही इच्छा पुरा गर्दै २०४६ सालमा विष्णुप्रसादले भारत उडिसाबाट छात्रवृत्तिमा सिभिल इन्जिनियरिङको अध्ययन पुरा गरे।

त्यो बेलामा इन्जिनियर जस्ता प्राविधिकहरुको ठूलो खाँचो थियो नेपालमा। कतिसम्म थियो भने लोकसेवाले ७८ जनाको आवेदन मागेको थियो, आवेदन दिने २५ जना मात्रै भए।

विष्णुप्रसादले सडक विभागमा काम काम सुरु गरे। सरकारी जागिर सुरु भएको झन्डै ९ महिनामा उनलाई दिपायल सरौटी गरियो।

यता परिवार भने व्यवसायमा स्थापित हुँदै थियो। उनका दाइ हरि पनि व्यवसायमा थिए। जसले अहिले अम्बे ग्रुपबाट अम्बे सिमेन्ट र अम्बे स्टिल उत्पादन गरिरहेका छन्।

विस्तारै विष्णुप्रसादलाई पनि व्यवसायले आकर्षित गर्न थाल्यो।

‘व्यवसायमै राम्रो गरौं भन्ने सल्लाह भयो,’ उनी भन्छन्।

‘दिपायल सरुवा भएपछि मैले सरकारी जागिर छोडिदिएँ,’ विष्णुप्रसाद भन्छन्, ‘जम्माजम्मी मैले एक वर्ष सरकारी जागिर गरे हुँला।’

सरकारी जागिरको महत्व आफ्नै ठाउँमा थियो।

‘मान्छेहरुले लोकसेवा पास गरेर खाएको जागिर छोडेको समेत भने। इन्जिनियर भनेपछि धेरै ठूलो कुरा हुन्थ्यो तर तलब धेरै कम थियो,’ उनी भन्छन्, ‘पहिलेदेखि व्यापार गरेको परिवारका लागि सरकारी तलबको आम्दानी धेरै कम भयो।’

त्यसमाथि दिपायल खटाएपछि उनले काठमाडौंमा सरुवा माग्न खोजेका थिए। तर, उनले भने जस्तो भएन।

अहिले विष्णुप्रसादका कतिपय साथीहरु सचिव, सहसचिव भइसकेका छन्।

BishnuPrasad Neupane9

विष्णुप्रसादको पहिलो कम्पनी सौरभ फोटो इन्टरनेसनल
सरकारी जागिर छोडेपछि विष्णुप्रसादले २०४६ सालमा पहिलो कम्पनी दर्ता गरे–सौरभ फोटो इन्टरनेसनल। जसले फोटोग्राफीसम्बन्धी सामग्री आयात गरेर होलसेल व्यापार सुरु गरेको थियो।

एसएलआर क्यामरा, फोटोग्राफिक पेपर, फोटोग्राफिक फिल्म, कोनिका फिल्मजस्ता सामान उनी आयात गर्थे।

‘पहिलो कम्पनी दर्ता गर्दा २ लाख रुपैयाँ लगानी गरेको थिएँ,’ उनी भन्छन्, ‘जसले २०५० सालमा ५० लाख चुक्तापुँजी पुर्‍याएको थियो। अहिले २ करोड छ।’

डिजिटल प्रविधि विकास भएपछि फोटोग्राफीको ट्रेन्ड नै परिवर्तन भयो। फोटो छाप्ने पेपर, रिलको व्यापार ठप्प भयो।

उनले पनि व्यापारको प्रकृति परिवर्तन गर्दै टेलिभिजन सेट आयात गर्न थाले। अहिले पनि कोन्का टेलिभिजन आयात गर्छन्।

दुरदृष्टि भएका विष्णुप्रसादले व्यवसाय विस्तारका लागि काठमाडौँका स्थानीय व्यापारीसँग साझेदारी गर्न थाले।

‘हामीले सुरु सुरुमा शंकर ग्रुप चलाइरहेका शंकर अग्रवालसँग पार्टनसिप गर्‍यौँ,’ उनी भन्छन्, ‘उनीसँग पार्टनसिप गर्न थालेपछि कम्प्युटर पार्टस्सहित अन्य सामान आयात गर्न थाल्यौँ।’

उनको व्यापार विस्तारसँगै मुलुकको राजनीतिक अवस्था पनि परिवर्तन भइरहेको थियो। २०४६ सालको परिवर्तनपछि सरकारले औद्योगिक क्षेत्रमा सुविधा दिन थाल्यो। दर्ता प्रक्रिया सहज भयो।

‘परिवर्तित माहौललाई समात्दै हामी उत्पादनमूलक उद्योगमा हात हाल्ने तयारीमा लाग्यौँ,’ विष्णुप्रसादले भने। आफू इन्जिनियर भएकाले पनि उनी सिमेन्ट उद्योगमा हात हाल्न चाहन्थे।

सिमेन्ट उद्योग खोल्ने सोचका साथ उनी २०५० सालमा भारतका सिमेन्ट उद्योगहरु हेर्न गए। कसरी सञ्चालन भइरहेका छन्, कस्ता मेसिन चाहिने रहेछ लगायतको जानकारी लिन उनी चाहन्थे।

भारतका उद्योगहरु हेरेपछि उनलाई लाग्यो, ‘नेपालमा ग्राइन्डिङ युनिट लगाउन ठिक हुन्छ।’

उद्योग दर्ता, खानीको जोहो लगायतका प्रक्रिया पुरा गर्दै २०५४ मा आफ्नो पहिलो ठूलो उद्योगका रुपमा जगदम्बा सिमेन्ट उत्पादन सुरु गरे। उनीहरुले भारतबाट क्लिंकर ल्याएर ग्राइन्डिङ गर्न थाले।

त्यो बेला निजी क्षेत्रको लगानीमा विश्वकर्मा, एभरेस्टजस्ता सिमेन्ट उद्योग थिए। त्यसबाहेक हेटौँडा, उदयपुर, हिमाल जस्ता सरकारी सिमेन्ट उद्योग पनि थिए।

जब उनले जगदम्बा सिमेन्ट सुरु गरे, त्यसपछि नेपालमा अन्य सिमेन्ट उद्योग थपिए। भएकाहरुसँग पनि प्रतिस्पर्धा बढ्यो।

‘जगदम्बा आएपछि प्रतिस्पर्धा धेरै हुनथाल्यो,’ उनी भन्छन्, ‘कतिले ६० भन्दा धेरै ग्राइन्डिङ उद्योग आए भन्छन्। जब प्रतिस्पर्धा हुन्छ, उपभोक्ताले सस्तो मूल्यमा पाउँछन्। म यसलाई सकारात्मक मान्छु।’

समय बित्दै जाँदा विष्णुप्रसादका भेन्चरहरु एकपछि अर्को थपिँदै गए।

दुई वर्षपछि सिमेन्टको बोरा उत्पादन गर्नुपर्छ भनेर जगदम्बा सिन्थेटिक सुरु गरे। त्यसको दुई वर्षपछि धागो उद्योग सुरु गरे। त्यो भन्दा अगाडि चिया उद्योगका रुपमा सौरभ टी स्टेट चिया गार्डेन सुरु गरिसकेका थिए।

‘सिमेन्ट किन्ने ग्राहकले स्टिल पनि चाहियो भन्न थाले,’ उनी भन्छन्, ‘एउटै ग्राहक र नेटवर्किङ एउटै हुने भएकाले लक्ष्मी स्टिल सुरु गर्न सजिलो भयो। लक्ष्मी स्टिल, जगदम्बा स्पिनिङ मिल्स, शुभश्री जगदम्बा बिल्डर्सलगायतका उद्योगहरु थपिँदै गए।’ 

मुलुकमा सिमेन्ट उद्योग थपिँदै जाँदा भारतरबाट क्लिंकर ल्याएर नेपालमा सिमेन्ट उत्पादन गर्न नपाइने भयो। बजार प्रतिस्पर्धासँग चल्न मुलुकभित्रै क्लिंकर उद्योग पनि चाहिने महसुस गरेपछि उनले सर्वोत्तम सिमेन्ट उद्योग सुरु गरे।

सुरुमा क्लिंकर बनाएर अन्य सिमेन्ट उद्योगलाई बेच्न थाले। सँगसँगै ब्रान्डिङ गर्न सकिने भन्दै २०१० मा सर्वोत्तम सिमेन्ट पनि उत्पादन सुरु गरे। यही सिमेन्टको अहिले आईपीओ जारी गर्न लागिएको हो।

सौरभ फोटो इन्टरनेसनलसँगै व्यवसाय सुरु गरेका विष्णुप्रसादले अहिले १२ वटा ठूला उद्योग सञ्चालन गरिरहेका छन्।

एकपछि अर्को व्यवसायमा पाएको सफलताको जस उनी आफ्ना बाबुलाई दिन्छन्।

‘तिमीहरुले व्यापार मात्र गरेर हुँदैन। त्यसलाई रोजगारी उपलब्ध गराउनेसम्म पुर्‍याउनु पर्छ,’ बुबाको अर्ती उनी सम्झिन्छन्, ‘उद्योग स्थापना गरेर रोजगारी दिने अवस्थासम्म पुर्‍याइयो भने त्यसले प्रतिफल दिन सक्छ।’

विष्णुप्रसादले सञ्चालन गरिरहेका एक दर्जन कम्पनीमा ३५ सयभन्दा धेरैलाई रोजगारी दिएका छन्।

उनी आफैँ पनि इन्जिनियर भएकाले कुनकुन उत्पादन सधैँ चल्छ भनेर अध्ययन गर्दै गए।

‘मलाई थाहा थियो उत्पादनमूलक उद्योग लामो समय टिक्छ,’ विष्णुप्रसाद भन्छन्, ‘विस्तारै हामीले ट्रेडिङ क्षेत्र छोड्दै गयौँ। उत्पादनमूलकमा जाऊँ र आफ्नै उद्योग बनाऊँ भन्ने कुराले ड्राइभ गर्‍यो।’

अर्को कुरा, २०४७ देखि २०५२ सालसम्मको अवधिमा थुप्रै बैंक, उद्योग आए। बैंकहरुले लगानी बढाउँदै गए। औद्योगिक लहर चल्यो। त्यसले उनीहरुले औद्योगिक क्षेत्रको बारेमा बुझ्न पाए।

उनको बुबा व्यवसायसँगै समाजसेवामा पनि सक्रिय थिए। रुपन्देहीमा लीलाराम न्यौपाने माध्यामिक विद्यालय स्थापना भएको ६० वर्ष भइसकेको छ। उनको नाममा अस्पताल पनि चलिरहेको विष्णुप्रसादले बताए।

BishnuPrasad Neupane6.g

नयाँ पुस्ताको प्रवेश
उद्योग व्यवसाय फैलिँदै जाँदा धेरै व्यावसायिक घरानामा नयाँ पुस्ता उदाउँदै छन्। जसले चलिरहेको व्यवसायलाई नयाँ रुपरङ दिने गर्छन्।

तर, नयाँ पुस्तालाई व्यवसायमा स्थापित गराउनु ठूलो चुनौती भएको विष्णुप्रसादको ठम्याइ छ। विदेश पढेर आएको नयाँ पुस्तालाई नेपालको व्यावसायिक अप्ठेरा झेल्न हम्मे पर्छ।

‘उद्योग स्थापना गर्न आइपर्ने झन्झन्ट हामीले फेस गर्छौं। बाँकी तिमीहरुले जसरी हुन्छ अगाडि बढाऊ भन्ने अवस्था छ,’ उनी भन्छन्।

उनका दुई छोराहरु अमेरिकामा पढेर फर्किसकेका छन्। ठूलो छोरा अंकुर सर्वोत्तम सिमेन्ट हेरिरहेका छन् भने कान्छो छोरा धागो कारखानामा सञ्चालक छन्।

उनीहरुलाई व्यवसायमा स्थापित गराएर कर्पोरेट कल्चर बनाउने उनको चाहना छ। 

परिवारमा सुरुदेखि नै व्यापार व्यवसाय गरिहरेकाले उनीहरुलाई खासै अप्ठेरो पर्ने छैन।

‘अहिले हाम्रो उद्देश्य छोराहरु आएर कर्पोरट सेक्ट हेरुन्, यहाँ बसून्, फर्केर अमेरिका नजाऊन् भन्ने नै हो,’ उनी भन्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .