कारोबार


महासंघ र बैंकर्स संघले गरे साना व्यवसायमा ऋण सहजीकरण गर्ने सम्झौता

महासंघ र बैंकर्स संघले गरे साना व्यवसायमा ऋण सहजीकरण गर्ने सम्झौता

नेपालखबर
फागुन १३, २०७७ बिहिबार १६:१३,

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघले लघु, घरेलु, साना तथा मझौला उद्यमहरूमा ऋण सहजीकरण गर्ने गरी सम्झौता गरेका छन् ।

लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमई)को प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बिहीबार एक कार्यक्रमबीच महासंघको सचिवालयमा हस्ताक्षर गरेका छन् ।

दुवै संस्थाबीच भएको समझदारीअनुसार वाणिज्य बैंकहरू र एसमएमईहरूबीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाइ समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यावसायिक वातावरण सृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रवद्र्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकताअनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुंगा हुने बताए । एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव रहेको उनको भनाइ थियो ।

बैकर्स संघका अध्यक्ष दाहालले एसएमईको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताए । दुवै संस्था समृद्धिका असल साझेदार भएको उनको भनाइ थियो । अध्यक्ष दाहालले यस सहकार्यलाई केन्द्रदेखि प्रदेशसम्मै लैजाने समेत जानकारी दिए ।

सात सय ४९ वटै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको भन्दै उनले महासंघसँगको सहकार्यपछि तल्लो तहसम्म गएर वास्तविक सहयोग खोजिरहेका एसएमईहरुलाई सघाउन थप सहयोग पुग्ने बताए । महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारीअनुसार छिट्टै दुवै संस्था र आईएलओ समेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिबद्धता जनाए ।

अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुँचको अभाव नै रहेको पाइएकोले एसएमईहरुलाई नै केन्द्रित यो समझदारीले अब त्यो समस्यालाई सम्बोधन गर्ने बताए ।

मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमईहरुकै भएकाले यो समझदारीले एसमएमईहरु फस्टाउन विशेष सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .