ad ad

म्यागेजिन


पत्रकार संगीता खड्काको युद्ध भोगाइ

पत्रकार संगीता खड्काको युद्ध भोगाइ

शैलज पौडेल
साउन १८, २०७६ शनिबार १३:४६,

माओवादी जनयुद्धलाई आधार बनाएर थुप्रै कविता, कथा, उपन्यास, गीत, संस्मरण लेखिएका छन्। युद्धमा हुने गरेका गतिविधि र संघर्ष त्याग र बलिदानीलाई प्रस्तुत गरिएका यस्ता कृतिहरुले बजारमा राम्रै चर्चा समेत पाएका थिए र छन्। पछिल्लो समय पत्रकार संगीता खड्काको जनयुद्धकालीन दिनहरुको संस्मरणात्मक पुस्तक ‘युद्धका ती दिनः एक पत्रकारको भोगाइ’ बजारमा आएको छ। पुस्तकलाई सांग्रिला प्रकाशनले प्रकाशन गरेको हो।

जनयुद्धको समय अझ विशेष गरेर संकटकालको घोषणापछि परिवर्तनका पक्षमा कलम चलाउने पत्रकारहरुले भोग्नु परेको पीडालाई पुस्तकमा प्रस्तुत गरिएको छ। संस्मरणात्मक पुस्तक भएका कारण यसको केन्द्रमा उनी आफैँ छन्। संकटकालको सुरुवातदेखि शान्ति प्रक्रियामा आउने बेला एक पत्रकारले भोगेको पीडा, यातना, समाचार सम्प्रेषणका लागि गरेको संघर्षलाई पुस्तकमा प्रस्तुत गरिएको छ।

काठमाडौँमै जन्मे हुर्केकी खड्काका उमेरका साथीहरु विदेश जाने डीभी र कन्सलटेन्सीमा लाइन लाग्दै गर्दा उनले भने पत्रकारिताको बाटो रोजिन्। पत्रकारितामा पनि मिसन पत्रकारिता। परिवर्तनका लागि भन्दै हतियारवद्ध संघर्षमा लागेको पार्टीको विचारलाई जनतासमक्ष पु¥याउने काम कम चुनौतीपूर्ण थिएन। उनले त्यही चुनौतीको बाटो रोजिन्। राजनीतिप्रति युवापुस्तामा वितृष्णा बढ्दै गरेको समयमा खड्काले राजनीतिले नै युवाको भविष्य निर्धारण गर्ने विषयमा कलम चलाउन थालिन्। उनले आफ्नो मात्रै मुक्ति नभई आफूजस्ता लाखौँ युवाको मुक्तिको बाटो रोजिन्। र, त्यो बाटोमा अविचलित रुपमा लागिरहिन्।

SangitaKhadka2
‘युद्धका ती दिन’ लिएर संगीता खड्का (तस्वीरः नेपाली टाइम्स)

उनी पत्रकारितामा लागेको केही समयमै माओवादीलाई हतियारकै बलमा सिध्याउने भन्दै देशमा संकटकाल लाग्यो। काठमाडौँमै जन्मे हुर्केकी उनी पार्टीको भन्दा बढी पत्रकारहरुकै संगतमा थिइन्। जनादेश पत्रिकामा उनले काम गर्थिन्। संकटकालसँगै सरकारले समचारमा समेत सेन्सरसिप लगायो। माओवादी युद्धलाई बल पुग्ने वा उनीहरुको पक्षपोषण हुने समाचार प्रकाशन र प्रशारणमा रोक लगायो भने परिवर्तनको पक्षमा बोल्ने लेख्नेहरुलाई पक्राउ गरियो। पक्राउमात्रै नभएर कतिलाई बेपत्ता पारियो, कतिको हत्या गरियो भने कतिलाई अंगभंग हुनेगरी कठोरभन्दा यातना दिइयो। संकटकाल सुरु भएसँगै उनी काठमाडौँमै भूमिगत अवस्थामा रहेर काम गरिन्। जेल परिन, कठोर यातना भोगिन्। तर, जतिसुकै यातना पाए पनि उनी आफ्नो लक्ष्यबाट विचलित भइनन्। लामो त्याग, संघर्षपछि उनी अहिलेको अवस्थामा आइपुगिन्।

जेलबाट छुटेपछि उनी फेरि सोही यात्रामा जोडिइन् र रेडियो प्रशारणको काममा लागिन्। यसपटक उनको यात्रा काठमाडौँबाट काभ्रे पुग्यो। काभ्रेका विकट गाउँबाट डोको रेडियो (रेडियो जनगणतन्त्र)को प्रशारणका लागि उनले अनेक कष्टपूर्ण यात्रा गरिन्। भोक निँद, दिन रात, वर्षा हिउँद, जंगल गाउँ केही नभनी उनी रेडियोको प्रशारणमा जुटिरहिन्। रेडियो प्रशारणपछि उनको यात्रा गण्डक क्षेत्रको रिपोटिङमा पुग्छ। त्यहाँ उनी बिरामी हुन्छिन्। अनेक हण्डर ठक्कर पाउँछिन्। तर, पनि उनी गल्दिनन्। यही यात्रामा रहँदै गर्दा युद्धरत माओवादी र सरकारबीच शान्ति सम्झौता हुन्छ। पुस्तक पनि यही आएर अन्त्य हुन्छ।

यो पुस्तक पत्रकारितामा लागेपछि संगीताले गरेको संघर्ष र भोगाइमा केन्द्रित छ। संकटकाल, जेल जीवन, भूमिगत रेडियो र गण्डक यात्रा गरेर पुस्तक चार खण्डमा विभाजित छ।

SangitaKhadka3 1

संकटकाल लागेसँगै पुस्तकको आरम्भ भएको छ। यसमा उनले संकटकालका नाममा सरकारले जनतामा त्रास र आतंक फैलाउने काम गरेको, अनावश्यक रुपमा सर्चका नाममा सेना प्रहरी जनताका घरमा छिरेर दुःख दिने, माओवादीलाई समर्थन गरेकै आधारमा पक्राउ गर्ने र बेपत्ता बनाउने, परिवारका सदस्यलाई अनावश्यक दुःख दिने र गिरफ्तार बनाउने जस्ता काम गरेको उल्लेख गरेकी छन्।

दोस्रो खण्डमा पार्टीकै साथीको अन्तर्घातका कारण पक्राउ परेको, यातना भोगेको, प्रहरी हिरासतभित्रै कृष्णसेन इच्छुकसँग भेट भएको, इच्छुकलाई कठोर यातना दिएर हत्या गरिएकोदेखि जेल चलानगरिएको आदि विषय समेटिएको छ। तेस्रो खण्डमा जेलमुक्त भएपछि पुनः सोही आन्दोलनमा समाहित भएकी छन्। यसपटक उनको यात्रा काभ्रेको विभिन्न विकट गाउँमा हुन्छ । उनी रेडियो जनगणतन्त्रको प्रशारणका लागि उनले गरेको संघर्ष, रेडियोले जनतामा पारेको प्रभाव, सेना र प्रहरीबाट रेडियोलाई जोगाउन गरेको संघर्ष, रेडियो प्रशारणलाई असफल बनाउन सेनाले गरेका अनेक हर्कतका बारेमा उल्लेख छ।

चौथो खण्डमा उनले माओवादीले गण्डक क्षेत्रमा चलाएको एकमहिने फौजी अभियान क्रममा पाएको पीडा, जनताले दिएको माया, जनादेशका लागि गरिएको रिपोटिङ हुँदै जनआन्दोलनको सुरुवातसम्मको विषय समेटेकी छन्।

खड्काले यो पुस्तकमा संकटकालको घोषणापछिका ६ वर्षको अवधिका आफू संलग्न भएका घटनाक्रमलाई प्रस्तुत गरेकी छन्। लामो समयका घटनाक्रमलाई डायरी शैलीमा प्रस्तुत गरिएको यो पुस्तकाको भाषाशैली उत्कृष्ट छ। यो पुस्तक जनयुद्धकालीन पत्रकारितालाई चिहाउने आँखीझ्याल हो। खड्काले पुस्तकमा आफ्नो मात्रै कथा लेखे पनि आफ्नो कथाबाटै उनले सयौँ पत्रकारको पीडा, संघर्ष, त्याग र बलिदानीलाई प्रस्तुत गरेकी छन्।

युद्धकालमा पनि सहकर्मी साथीहरुबाटै हुने गरेका अन्तर्घातदेखि हिरासतमा रहँदा सहयोग गर्ने प्रहरीसम्मलाई उनले चित्रण गर्न भ्याएकी छन्। यसको माध्यमबाट उनले युद्धमै रहेका भनिएकाहरु पनि सबै सही छैनन् र सेना प्रहरीभित्र पनि सबै गलत छैनन् भन्ने देखाउन खोजेकी छन्।

पुस्तक पढ्दै गर्दा कतै आङ सिरिङ्ङ  हुन्छ भने कतै आक्रोशले रगत नै उम्लन्छ त कतै आँखाबाट आसु नै बग्न थाल्दछ। उनले आफूले र इच्छुक लगायतका अन्य हिरासतमा रहेका पत्रले पाएको यातनालाई आङ नै सिरिङ्ङ  हुनेगरी प्रस्तुत गरेकी छन्। इच्छुकको हत्याका बारेमा उनले केही फरक तथ्य समेत पुस्तकमा प्रस्तुत गरेकी छन्। त्यस्तै पुस्तकमा उनी संक्षिप्तमा आफ्नो प्रेम प्रसंग र विवाहलाई समेत समेट्न भ्याएकी छन्।

समग्रमा यो एक महिला पत्रकाररले युद्धका बेला मिसन पत्रकारिताका लागि गरेको संघर्षको यथार्थ कथा हो। कथामा लेखक खड्काले आफू कत्तिको इमान्दार बनेर प्रस्तुत भएकी छन् त्यो त उनै जानून। तर, उनले गरेको संघर्ष, भोगेको पीडा र यातना आम श्रमजीवी पत्रकारका लागि प्रेरणादायी विषय हो।

पुस्तकमा केही कमजोरी पनि छन्। लामो कालखण्डलाई प्रस्तुत गर्ने माओवादी सम्बध लेखक पत्रकारजस्तै उनी पनि त्यो प्रवृत्तिबाट मुक्त हुन सकेकी छैनन्। सबै घटना र विषयलाई प्रस्तुत गर्न खोजेका कारण कतिपय प्रसंग अस्पष्ट रहने र कतै प्रसंग नै हराउने गरेका छन्। रेडिायो प्रशारणमा पार्टीको नीति, अन्य ठाउँबाट हुने गरेका प्रशारणबारे उनले सामान्य चर्चा गरे पनि विस्तृत रुपमा भने दिन सकेकी छैनन्। भाषा एकदमै सरल छ, बोधगम्य छ। कतै कतै भाषिक त्रुटिहरु भए पनि ती सामान्य प्रकारका छन्। समग्रमा जनयुद्धका लागि एक महिला पत्रकारको भूमिकादेखि भोगाइसम्म प्रस्तुत गर्न पुस्तक सफल छ। लेखक खड्कालाई थप यात्राका लागि शुभकामना।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .