ad ad

म्यागेजिन


‘त्यो दिन म गजलले नै अघाउँछु’

‘त्यो दिन म गजलले नै अघाउँछु’

कृष्ण आचार्य
साउन १६, २०७६ बिहिबार ९:४९,

तिमी भन्छौँ अञ्जुलीभित्रै सिंगो सागर चाहिन्छ
यार सपना पनि आफ्नो हैसियत बराबर चाहिन्छ
म मर्नकै लागि भनेर पशुपति आएको हुँ
एकचोटी आमालाई पनि पशुपति हेर्ने अवसर चाहिन्छ।
(गजल अंश)

७ महिना अघिको कुरा हो। ईश्वर दाहाल एकदिन पशुपतिनाथ गएका थिए। मन्दिर परिसरमा बृद्ध–बृद्धा देख्दा उनलाई घर (धनकुटा)मा रहेका बुबाआमाको याद आयो। काठमाडौं ल्याएर पशुपतिको दर्शन गराउन पाए कस्तो हुन्थ्यो भन्ने कुरा मनमा खेल्यो।

असम्भव! उनको पारिवारिक अवस्थाका कारण यो सम्भव थिएन। उनले अब काठमाडौं ल्याउने अर्को विकल्प सोच्न थाले।

‘मेरो काठमाडौं आसपास देहान्त भयो भने मात्र पशुपतिमा आउने सम्भावना रहेछ’ ईश्वरले निस्कर्ष निकाले। त्यसपछि घर गएर उनले आफ्नो मनको भावलाई गजलमा उतारे। जुन माथिको शेर हो।
अर्थात् उनका धेरैजसो गजलहरु अनुभवसिद्ध हुन्छन्। कतिपय कल्पित पनि।

उनी कल्पनाभन्दा वास्तविकतामै रमाउँछन्। ‘मैले खाना खाएको छैन र म अनुभवसिद्ध गजल लेख्दैछु भनेँ समय घर्केको चाल नै पाउँदिन’, उनी भन्छन्, ‘त्यसदिन म गजलले नै अघाउँछु।’

Ishore Dahal1गजलकार ईश्वर दाहाल। तस्विरः प्रविन कोइराला
धनकुटा बहुमुखी क्याम्पसमा उनी स्नातक पढ्दै थिए। दिदीघर गएका बेला एक दिन म्यागेजिनमा गजल शीर्षकमा केही पढे। बडो रमाइलो लाग्यो। कथा, कविता पढ्दाभन्दा फरक। ईश्वरले सोचे, ‘यस्तो लेख्न पाए त गज्जबै हुन्थ्यो यार।’

यो २०६९ सालतिरको कुरा हो। त्यसपछि त उनले त्यही म्यागेजिनमा भेटिएको गजलमा भएजस्तै शब्द कोर्न थाले। आफूले लेखेको सामग्री गजलजस्त लेखिसकेपछि उस्तै लाग्यो। त्यसपछि उनलाई म लेख्नसक्छु भन्ने भान भयो।

उनी जीवनमा भने आफू हाँस्यकलाकार बन्छु भन्ने थियो। थुप्रै स्टेज कार्यक्रममा प्रस्तुतिसमेत दिए। तर गजल लेख्न थालेपछि एकाएक उनी परिवर्तन भए। ‘गजल भनेको सिधै भावनासँग जोडिदोरहेछ। लेख्दा–लेख्दै म पनि भावुक हुन थालेँ’ ईश्वर भन्छन्, ‘त्यसपछि त हँसाउने काम नै छाडियो।’

उनले गजल रोज्नुको अर्को पनि कारण छ। २ वर्षे प्रेम सम्बन्धको अन्त्य। त्यसपछि त उनले विछोडको बेदना पनि गजलमा मिसाउन थाले। जसले गर्दा उनका गजलमा मधुरता आभास भयो। फूलबाट मगमग बासना आउने सुगन्धजस्तै। जुन सुगन्ध उनको गजलमा यसरी पोखिन्छः

घाइते बनाएर छाडेको पनि काम आयो
आज बैशाखी टेकेर साथी मलाम आयो।

रुपैयाँ कमाउन साँच्चै किस्मत चाहिनेरहेछ
गरिबको शहीद हुने पालैमा युद्धविराम आयो।

सबैभन्दा घातक रोग के हो कसैले सोध्यो
प्रश्न नटुङ्गीदै दिमागमा तिम्रो नाम आयो।
***
स्नातक तेस्रो वर्षमा पढ्दै गर्दा उनका गजलको फाट्टफुट्ट चर्चा सुरु हुन थालेको थियो। त्यहीबेला काठमाडौंबाट बरिष्ठ गजलकार बाबु त्रिपाठीले फोन गरे। यो २०७२ सालतिरको घटना हो। फोनमा ४० वटा गजल पठाउन उनले आग्रह गरे। ईश्वरले पठाए पनि।

तीमध्ये कैफियत–२ संग्रहमा उनका २० गजल छापिए। जुन उनको जीवनको टर्निङ प्वइन्ट भइदियो। उनी काठमाडौं आए। गजल छापिएको ठ्याक्कै २ वर्षपछि। त्यो पनि त्रिपाठी र कवि नवराज पराजुलीको विशेष आग्रहमा।

‘म धनकुटाभन्दा कतै नगएको मान्छे। उहाँहरुले अब तँ गजल नै लेखेर बाँच्नुपर्छ भनेर काठमाडौं बोलाउनुभयो। म आएँ’ ईश्वर भावुक हुन्छन्। काठमाडौं उनलाई डरलाग्दो सहर लाग्यो। भिडभाड। कोलाहल। ‘यो माहोलमा मैले अब कसरी गजल लेख्ने?’ उनको मनमा सबैभन्दा धेरैपटक खेलेको प्रश्न थियो त्यतिबेला।

Ishore Dahal2गजलकार ईश्वर दाहाल। तस्विरः प्रविन कोइराला 

‘काठमाडौं नआएको भए पनि हुँदोरहेछ’, उनलाई लाग्यो।

विस्तारै बानी पर्दै गए। गजल लेख्ने वातावरण खोज्दै कीर्तिपुर पसे। उनी मुस्कुराउँछन्, ‘कीर्तिपुर अली शान्त रहेछ।’

‘राजधानीले मलाई निकै राम्रो ठाउँ दिएको छ तर गजल लेख्नलाई भने गाउँ नै ठिक छ’, उनी भन्छन्।

***
गजलको भूत चढेपछि उनको पढाइको स्तर भने खस्कियो। किताबमा कोरिएका काला अक्षरलाई उनले गजलको काफिया र रदिक कसरी बनाउने भनेर तोडमोड गर्न थाले।

हाँस्य क्षेत्रमा लागेको भए मेरो पढाईमा असर पर्ने थिएन कि? कहिलेकाहीँ उनी यस्ता कुरा पनि सोच्छन्। अनि एकैछिनमा आफैसँग भालकुसारी गर्न थाल्छन्, ‘ह्या, मलाई गजलले सन्तुष्टि त दिएको छ जे होस्।’

त्यति मात्र होइन धनुकुटाभन्दा अर्को जिल्ला नटेकेका उनी ५० भन्दा धेरै जिल्ला घुमिसकेका छन्। ३० भन्दा धेरै जिल्लामा कार्यक्रमकै सिलसिलामा पुगेका हुन्। हजारौँ शुभचिन्तक कमाएका छन्।

जीवन, गजल र परिवर्तन। यी ३ कुरालाई कहिलेकाहीँ ईश्वर ककटेल बनाउँछन्। उनलाई लाग्छ, गजलकै कारण आज आफ्नो जीवन परिवर्तन भएको छ। सपना पुरा भएको छ।

गजलकारका लागि एउटा सपना हो, महफिल। जुन दुई–दुई महिनामा सर्वनाम थिएटरमा हुन्छ। उनले सो कार्यक्रममा पनि सहजै अवसर पाए। सयौँसामू आफ्ना गजल सुनाए।

विस्तारै उनका लागि गजल साँझ र साहित्यिक महोत्सवको ढोका खुले। उनलाई गजलको पुस्तक प्रकाशनका लागि पनि धेरैले सुझाव गरे। प्रकाशन गृहले समेत अनुरोध गरे। केही समय लगोस् तर उनी राम्रै गजल संग्रह निकाल्ने सोचमा छन्।

***
गजलमा पछिल्लो समय जुन बाढी आएको छ, उनलाई लाग्छ एकदिन गजलकारहरु पनि गजल लेखेरै आफ्नो जीविका चलाउन सक्छन्। त्यसो भए अहिले गजल लेखेर बाँच्न गाह्रो छ त?

‘बाँच्ने नै भन्ने कुरा चाहिँ गाह्रो नै छ’ ईश्वर भावुक हुन्छन्, ‘हिजो अस्तीका पुस्ता अतिथि बस्न पाएँ भन्दैमा मख्ख पर्थे। तर अहिले त्यो अवस्था हटेको छ।’

उनका अनुसार अहिले आफ्नै पैसा खर्च गरेर कार्यक्रमहरुमा जानु पर्दैन। आयोजकले आउने–जाने र खाने–बस्ने खर्च ब्यहोर्छन्। त्यतिमात्र होइन, केही पैसा हातमा पनि राखिदिन्छन्। युट्युब च्यानलले पनि रोयल्टी दिन्छन्।

गजल लेखेर एक्लो ज्यान पाल्न त सकिन्छ तर परिवार पाल्न भने गाह्रो छ। अहिले उनी त्यही विकल्पको खोजीमा छन्।

Ishore Dahal3गजलकार ईश्वर दाहाल। तस्विरः प्रविन कोइराला

अहिले मानिसहरुमा पनि गजलप्रतिको चेत बढिसकेको छ। स्रोताहरु निकै अभ्यस्त भइसकेका छन्, ढुंगा बनिदिन्छन्। चानचुने कुराहरुले उनीहरुलाई छुँदै छुँदैन।

ईश्वरलाई लाग्छ आफूले दिलबाट लेखेका गजलले अरुको पनि दिलसम्म छोओस्। सुन्ने मान्छेले कि मैले प्रहार गरिरहेको छु भन्ने सोचोस् कि आफूमाथि प्रहार भइरहेको छ भन्ने। उनको विशेषता पनि यही होः
आफ्नो दिल र एउटा भाला दुर छोडेर आएँ
कसैलाई खेल्ने सामग्री भरपुर छोडेर आएँ
पत्थरमा ठोकिएपछि तिमीलाई याद आउला
आफूले कुनकुन ठाउँमा कोहिनुर छोडेर आएँ।
***
कुनै समय थियो जतिबेला गजललाई प्रेमको परिधिमा राखेर हेरिन्थ्यो। गजल भनेकै प्रेमिल हुन्छन् भन्ने मानिसको बुझाई थियो। अहिले परिस्थिति फरक छ। गजलमा प्रेममात्र होइन द्वन्द्व पनि आउन थालेको छ।

यसलाई ईश्वर समयको माग भन्न रुचाउँछन्। ‘त्यतिबेला त महिलाले गजल लेख्नुहुन्न। गजल भनेको पुरुषले आफ्नी प्रेमिकाका लागि लेख्ने हो भन्ने हुन्थ्यो’ ईश्वर भन्छन्, ‘तर अहिले समयसँगै यसको दायरा पनि फराकिलो भएको छ।’

गजल समसामायिक घटना, सामाजिक विकृति–विसंगतिविरुद्ध पनि लेख्न थालिएको छ। कविताले जसरी चाहेअनुसार बोल्न पाउँछ, गजलले पनि पाउनुपर्छ भन्ने ईश्वरको भनाई छ। कविताको भन्दा छोटो इतिहास भएका कारण समयाक्रमसँगै यसका आयामहरुमा पनि परिवर्तन हुँदै जानेमा उनी विश्वस्त छन्।

गजल गायन हुँदै प्रस्तुतिसम्म आइपुग्नु यसको एक सकारात्मक पक्ष हो। प्रभावका हिसाबले पनि गायनभन्दा वाचन धेरै माथि देखिएको छ।

भिडियो:

उनकै भाषामा भन्ने हो भने ईश्वरका लागि गजल एउटा शेरभित्र सिंगो उपन्यास अटाउन सक्ने चोटिलो विद्या हो। उनलाई लाग्छ एकदिन गजल संग्रहले पनि मदन पुरस्कार पाउने अवस्था देशमा पक्कै आउनेछ।

जसरी हिजो ईश्वरले गजलकार बन्छु भन्दा सुन्नसमेत नचाहने उनको परिवार आज उनलाई प्रोत्साहन गर्दैछ।

भन्नेहरुले त भन्लान् गजलकार भएर यसले के गर्छ? उनलाई भन्नेहरुको मतलब छैन। उनी यसरी दुनियाँभन्दा फरक विचार राखेर हिँड्छन्ः

कुनै बेला दुनियाँभन्दा फरक विचार राखेर हिँड्छु
अरुले कुल्चिएको पत्थरमा निधार राखेर हिँड्छु

एक तिमी छौ दिलभित्रकै मान्छेको विश्वास नगर्ने
एक म शत्रुलाई पनि घरमा चौकिदार राखेर हिँड्छु

सोच्छु चुपचाप गएकी भए उपहार के राख्थेँ होला
धन्न छुरा धसेर गयौँ मुटुमा वारपार राखेर हिँड्छु

यी शहरका दिलहरु सधैँ तेजावले धुँदारहेछन्
म भने भाँडाभरी गंगाजल बेकार राखेर हिँड्छु ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .